‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिरो घटना दोहोरिन सक्छ’

सैलुङअनलाइन

मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालको सङ्ख्या बढ्ने गरेको देखाएको छ ।

गत असारमा पनि हिमाली क्षेत्रमा ठुलो पानी पर्‍यो, जबकि हिमालपारि ठुलो वर्षा नभई हिमपात हुनुपर्ने हो । हिउँमा पानी पर्दा विपद्का घटना अझ बढ्दै जाने आँकलन वैज्ञानिकले गरेका छन् । नेपालमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे जानकार जलवायु परिवर्तन न्यूनीकरण विज्ञ मन्जित ढकालसँग गरेको छ । प्रस्तुत छ संवादको सम्पादित अंश

हिमाली क्षेत्रमा हिमपहिरोसहित विपद्का घटना किन बढ्दै छन् रु जलवायु परिवर्तनकै असर हो कि ?

घटनाको प्रकृतिको अध्ययन नगरी ठ्याक्कै भन्न अप्ठेरो छ । वास्तविकता बुझ्नु पर्छ । एउटा कुरा के प्रस्ट छ भने, पृथ्वीको तापक्रम विगत एक सय वर्षमा १।१ डिग्री बढिसक्यो । यसको मुख्य कारण कार्बन उत्सर्जन नै हो ।

तापक्रम बढेको कारण यस्ता नसोचेका घटनामा वृद्धि हुन्छ र पुनरावृत्ति पनि छिटो छिटो हुन्छ । हिमताल नै विस्फोट हुने सम्भावना हुन्छ । केही वर्ष अघि सेती नदीमा बाढी आएको घटना पनि जलवायु परिवर्तनका कारणले हो ।

बेमौसमी वर्षा र पहिरोका घटना बढिरहेका छन् । वर्षाको मौसम सकिएपछि पनि अनौठो खालको वर्षा हुने थालेको छ जसको उदाहरण असोज अन्तिम साताको भीषण वर्षा हो । यी घटनालाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ ।

गण्डकीका धेरै जिल्ला हिमालसँग जोडिएका छन् । त्यहाँको अवस्था कस्तो छ ?

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार नेपालमा तापक्रम वृद्धिदर वार्षिक औसतमा ०.०५६ डिग्री सेल्सियस छ । तर, मुस्ताङको चाहिँ वर्षमै ०.१६ डिग्री छ । प्रत्येक १० वर्षमा १ डिग्री बढेको देखिन्छ । १ डिग्री सामान्य हो भन्ने पनि बुझाइ छ । तर, 0 डिग्रीमा हिउँ पर्छ, १ डिग्री हुँदा हिउँ पग्लिन्छ । यो ठुलो अन्तर हो । त्यसमा पनि गण्डकी प्रदेशमै त्यस्तो देखिएको र हिमाली भेगमा तापक्रम वृद्धि अधिक छ । यस्तो असर अहिले पनि छ, भविष्यमा झन् बढ्छ ।

टुकुचे हिमालबाट हिमपहिरो खस्यो । गण्डकीमा हिमताल फुट्न सक्ने सम्भावना कति छ ?

नेपालमा रहेका हिमतालमध्ये ४७ वटा जोखिममा छन् । खतराको उच्च विन्दुमा छन् । पूर्वतिर अलि बढी छन् । गण्डकीका तीन वटा हिमताल यस्ता छन्, जो फुट्न सक्छन् ।

मनाङको ठूलागी ताल झन् जोखिममा छ । हिमाली क्षेत्रको जोखिमबारे प्रदेश सरकारलाई पनि जानकारी गराएको छु । अन्तर्राष्ट्रिय अध्ययनले पनि यस्ता घटनाको पुनरावृत्ति छिटो हुने देखाएको छ । पहिले १० वर्षमा हुन्थ्यो भने अब ३ वर्षकै अन्तरालमा पुनरावृत्ति हुने देखाएको छ । गण्डकीमा वर्षाको चरित्रमा ठुलो फेरबदल भएको छ । लगातार पानी नपर्ने दिन बढ्छन् र थोरै दिनमै धेरै पानी पर्ने अवस्था छ ।

त्यसो भए सरकारले पनि पूर्व तयारी गर्नुपर्ने भयो ?

पूर्व तयारीको भूमिका धेरै ठुलो छ । जोखिम पहिचान गर्नुपर्छ । जोखिम क्षेत्रमा बस्ती बसाउन हुँदैन । पूर्व तयारी र विपद्सँग जुध्न तीन वटै सरकारबिच समन्वय हुनुपर्छ ।

मुस्ताङ र मनाङका भूगोल कति जोखिममा छ ?

मुस्ताङमा जोखिम छ, अरू ठाउँ छैन भन्न खोजेको होइन । नेपालका अरू जिल्लासँग तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम वृद्धिदर बढी छ । सुक्खा, खडेरी पनि यहाँ धेरै छ ।

खडेरी पनि बढ्नु, तापक्रम बढेपछि पार्ने असर झन् फरक हुनु भनेको राम्रो होइन । निराशाजनक कुरा गरेको भन्नुहोला, तर सकारात्मक देखिँदैन । यसको नियन्त्रणका लागि कार्बन उत्सर्जन घटाउने हो । ग्लास्गोमा भएको कोप-२६ ले यसलाई सहयोग पुग्छ । आइतबारको हिम पहिलो एक्स्ट्रिम इभेन्ट हो । अर्को स्लो इभेन्ट पनि छ ।

लामो समयसम्म सुक्खा खडेरी बढ्दै जान्छ । मेरा विद्यार्थीले मुस्ताङ अध्ययन गरेका छन् । याकको चरन क्षेत्र घटेकाले धेरैले पेसा छाडेका छन् । अरू काममा लागेका छन् ।‍

तस्बिर : ढकालको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका