चलचित्र ‘जीवन काँडा कि फूलू को अमेरिकामा च्यारिटी शो हुने

हरी कार्की संचारकर्मी
काठमाडौं

साहित्यकार झमक कुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्रको अमेरिकामा च्यारिटी शो हुने भएको छ । हामी नेपाली ग्लोबल अमेरिकाको आयोजनामा अमेरिकाको विभिन्न सहरहरूमा च्यारिटी शो हुन लागको हो ।

गरिब बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्य सहित अमेरिकामा पहिलो च्यारिटी शो नोभेम्बर २४ तारिकमा हुने हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष अमृत लामा बताएका छन् । साहित्यकार घिमिरेको जीवनमा आधारित पुस्तकलाई चलचित्रमा विनोद विष्टले निर्माण तथा निर्देशन गरेका छन् । यो कृतिले घिमिरेलाई मदन पुरस्कार पनि प्राप्त गराएको छ । चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठुला हुँदाको भूमिका काठमाडौँकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् ।

त्यस्तै झमकको बहिनीको भूमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठुलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मिना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।

शिव ढकालको छायाङ्कन, तारा थापा ‘किम्भे’ को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह-निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन् । विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’, ‘सङ्ग्राम’ र ‘म कसरी भनूँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका