शैलुङ : सय अग्ला होचा डाँडाहरुको सामूहिक नाम

काठमाडौं

विषय प्रवेश

ऐतिहासिक, राजनीतिक, धार्मिक, सांस्कृतिक कुरामा मात्र होइन प्राकृतिक एवं भौगोलिक बनावट र सभ्यतामा पनि दोलखा जिल्लाको आफ्नै स्थान छ । नेपाल अधिराज्यको साविक मध्यामञ्चल विकास क्षेत्र र हाल बागमती प्रदेश अन्र्तगत दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट दक्षिण पश्चिममा अवस्थित ३,१४६ मिटर अग्लो प्रसिद्ध लेक हो- शैलुङ ।

नामाकरण

सयवटा अग्ला-होचा डाँडाहरुको सामूहिक नाम हो, शैलुङ । तामाङ भाषाको सय र तामाङ भाषाको डाँडालाई लुङ (ताम्बा काइतेन व्हाइ रीमठीम) भनिन्छ । सय लुङ भन्दा भन्दै क्रमश अपभ्रंस हुँदै गएर यस लेकको नाम शैलुङ भएको भनिन्छ । स्थानीय तामाङ भाषीहरुले सेल् युङ्बा अर्थात् दर्र्शन ढुङ्गाहरुको पहाड भएकोले यस डाँडाको नाम सेलु युङ्बा नेपाली भाषीहरुले भन्दा अपभ्रंश भएर शैलुङ भएको भन्ने गर्दछन् । जे जसरी यस लेकको नाम शैलुङ भएपनि यहाँ तामाङ जातिहरुको प्राचीनता रहेको कुरा त्यहाँको बस्तिहरुबाट पुष्टि हुन्छ ।

अवस्थिति

शैलुङ डाँडा समुन्द्र सतहबाट करीब १२०० फीटको उचाईमा रहेको छ । यहाँबाट हिउँदको समयमा उत्तरी भेगमा अवस्थित सगरमाथा, रोलवालिङ, धौलागिरी, गौरीशंकर, गणेश, अन्नपूर्ण, माछापुच्छ्रे जस्ता हिमशिखरहरुको लामो फेरो दृश्यावलोकन गर्न सकिन्छ । शैलुङ लेकको टुप्पामा हिउँदमा ३ महिनासम्म हिउँ जमिरहने दृश्यले यसलाई जापानको फूजी माउन्टेन (पर्वत) को सम्झना गराउँदछ ।

भाषा/संस्कृति

शैलुङलाई तामाङ जातिहरुको सङ्गमस्थलको रुपमा पनि लिइन्छ । तामाङ भाषा र संस्कृतिको अध्ययन/अनुसन्धान गर्ने स्वदेशी एवं विदेशी विद्वानहरुको निम्ति यस भेग अत्यन्त उपयोगी मानिएको छ । तामाङ विद्वानहरुका अनुसार तामाङ भाषा र संस्कृतिको अध्ययन/अनुसन्धान गर्नेहरु पूर्वतिर लाग्ने हो भने तिमाल र शैलुङ क्षेत्र पुग्नै पर्छ भन्दछन् ।

किम्वदन्तीहरु

एउटा हिन्दू धार्मिक किम्वदन्ती अनुसार शैलुङका १०० (डाँडा) थुम्काहरुमा सय जना तपस्वीहरु तप गर्दथे । कलीयुगको प्रारम्भ हुने बखत ती तपस्वीहरु यस युगको अनुहार नहेर्ने भनी तीनै १०० थुम्काहरुमा बिलिन भई शीला अर्थात् सेल् युङ्बा (दर्शन ढुंगा) भए भन्ने विश्वास गर्दछन् । त्यसैगरी सानो शैलुङमा पनि ८ तपस्वीहरुले शीला भएको पनि विश्वास गर्दछन् । त्यस्तै अर्को किम्वदन्ती अनुसार लामा बौद्धधर्म/डिङ्मापा सम्प्रदायका प्रवर्तक गुरु रेम्पोर्छे (पद्यसंभव)ले तिब्बतमा बोन धर्मलाई परास्त गरी बौद्ध धर्मलाई राजधर्मको रुपमा पुनःस्थापित गरी त्यहाँको धर्मचक्र राजाकी छोरीसँग विवाह गरी बस्दा मधेशका आ-फ्ना जजमानहरु अप्ठ्यारो परेको महशुस गरे । त्यसपछि उनले बौद्ध संस्कारहरु सम्पन्न गर्दा प्रयोग गर्ने साधनहरु तन्त्रमन्त्र गरी आकाश मार्गद्वारा १०८ वटा पठाउँदा माने खोर्लो (बौद्ध स्तुपहरुमा राखिने ओम मणि पद्मे हुँ भनेर लेखिएको गोलो धुमाउने चक्र) शैलुङ श्रृङ्खलामा १०० वटा बसेको विश्वास पनि गर्दछन् । सोही १०० माने खोर्लो नै थुम्कोको रुपमा परिणत भएको हो भनेर बौद्ध धर्मावलम्बी तामाङहरु विश्वास गर्दछन् । त्यसैगरी बोन (झाँक्री) धर्मावलम्बीहरु पनि आफ्ना महागुरु महादेव मधेस छोडी हिमाल पर्वततिर स्थायी बसोबासका लागि आउँदा यस पर्वतमा पाइला एक टेकेको विश्वास गर्दछन् । यसरी किम्वदन्तीहरु हेर्दा पनि प्राकृत बोन, हिन्दु एवं बौद्ध गरी तीनै थरीका लागि शैलुङ श्रृङ्खलाको महत्व रहेको पाइन्छ ।

बसोवास/सम्भावना

शैलुङ क्षेत्रमा बाहुन, क्षेत्री, नेवार, शेर्पा, कामीलगायत तामाङहरुको बाक्लो बस्ति छ । अत्याधिक चिसो हावा चल्ने हुँदा गर्मी याममा पनि यहाँ गर्मीको महशुस हुँदैन । घना जंगल, चरण र खर्कहरु रहेकोले यस क्षेत्रमा भोटे कुकुर, घोडा, चौरी, जडिबुटी, चिज व्यवसाय र लोक्ताको कारण नेपाली कागज उत्पादनको लागि यो क्षेत्र प्रसिद्ध छ । यसै कारणले पनि यहाँ गल्फ कोर्श, छोटा पदयात्रा, ट्रेकिङ, संस्कृति र धार्मिक यात्राका साथै केवुलकार सञ्चालन गर्न सकिए यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न सक्ने प्रशस्त सम्भावनाहरु छन् ।

खानीहरु

त्यस्तै एकातिर भूगर्वविद्हरु पनि शैलुङ क्षेत्रमा १०० प्रकारका खानीहरु छन् भन्दछन् । फलाम अनि मट्टितेलका साथै नूनका खानीहरु पाइएबाट पनि यस कुराको पुष्टि हुन्छ भने अर्कोतिर धेरै वर्षअघि यस क्षेत्रमा रहेको खनिज सम्पदाको अन्वेशषणका लागि विदेशीहरु पुगेपछि उनीहरुले लगेको यन्त्रहरु मात्र नबिग्री बिरामी परेको कुराहरु बताउँछन् । त्यसैगरी बौद्ध धर्मावलम्बी तामाङद्वारा शैलुङमा भ्यूटावर र प्राचीन माने स्तुपहरु रहेको स्थानसँगै एउटा विशाल वोधिचैत्य (ज्याङछ्युप छ्योर्तेन) निर्माण सम्पन्न हुने चरणमा छ । जसको निर्माणको क्रममा समेत कामदारहरु अचानक बिरामी परिरहेने गरेको बताउँदछन् । त्यसैले क्षमापूजाहरु गर्दै स्तुप निर्माण कार्य अघिबढिरहेको छ । यसबाट पनि जोकोही यहाँ दैवी ईश्वरीय शक्तिहरु विद्यमान रहेको विश्वास गर्दछन् ।

धर्म/संस्कृति

शैलुङको शैलुङ्गश्वरी महादेव स्थानमा हरेक वर्ष जनै (श्रावण) पूर्णिमाको दिन र बालाचर्तुदशीको दिन भब्य मेला लाग्दछ । यहाँ दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकदेखिका तामाङ जातिका अतिरिक्त अन्य जातिका श्रद्धालु भक्तजनहरु मेला भर्न पुग्दछन् । मेलामा झाँक्रीहरुको ढ्याङ्ग्रोसहित सामगान, लामाहरुको बाजागाजासहित वेद मन्त्रोउच्चारण र ब्राम्हण पुरोहितहरुको पूजाआजा हेर्न लायक हुन्छन् । यहाँका दुईवटा गुफा मध्ये एउटा ओडारमा रहेको धर्मद्वार निकै प्रसिद्ध छ । भनिन्छ यस द्वारमा पापीहरु सानो जीऊका भएपनि छिर्न सक्दैनन् र धर्मात्माहरु ठुलै जीऊ भएपनि छिर्न सक्दछन् भन्ने विश्वास छ । जात्रा मेला भर्न आउनेहरु धर्म द्वारपुगी पापी र धर्मात्मा छुट्याउन भिड लाग्दछन् । प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी मेला पनि शैलुङ क्षेत्रको उल्लेखनीय मेला हो । यस मेलामा गोदावरी फूलहरु ढकमक्क फूल्ने गर्दछन् । शैलुङ्गेश्वरी महादेवको गुफाभित्रका अर्का ओडारमा चट्टानहरुमा जताततै दुध निस्किरहने गर्दछ । जो गोदावरी मेलाको विशेषता हो भनिन्छ ।

गुम्बा र यसका वास्तुकला

१९ औं शताब्दीपछि दोलखाको उत्तरी क्षेत्रमा बौद्धमार्गीहरुको चहलपहल बढेपछि प्राचीनकालदेखि हालसम्म शैलुङ क्षेत्रका वरपर बनेका नयाँ र पुराना घ्याङ/गुम्बाहरु बनेका छन् । तिनै गुम्बाभित्रका मूर्ति एवं कलात्मक रेखाचित्रहरु, प्राचीन गन्थ्रहरुका साथै बौद्ध वाङमयको अध्ययन/अध्यापन गर्ने थलोको रुपमा पनि शैलुङ क्षेत्रलाई लिन सकिन्छ । साथै २०७२ सालको भूकम्प पछि हालै निर्माण सम्पन्न हुन टाशी नाम्गेल छेलिङ भुटानी गुम्बा र शैलुङ वरिपरिको शान्तिपूर्ण वातावरणले बौद्ध धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीहरुका लागि ध्यान र अनन्द दिलाउँदछ ।

अन्य सम्पदाहरु

यसका अतिरिक्त शैलुङको १०० थुम्के डाँडा मध्येको सबभन्दा अग्लो डाँडामा दुईवटा चट्टानहरु बाघका आकृतिमा रहेका छन् । जसलाई बाघढुङ्गा भनिन्छ । यसै बाघढुङ्गा सामुन्ने एउटा गाईको आकृतिको ढुङ्गा पनि रहेको छ । जसलाई गाई ढुङ्गा भनिन्छ । बाघढुङ्गे डाँडाको बिचमा पृथ्वीको नाइटो भनिने एउटा ढुङ्गा पनि रहेको छ । यसको नजिकै हिन्दु धर्मावलम्बीहरुले महादेवको, बौद्ध धर्मावलम्बीहरुले गुरु रेम्पोर्छे (पद्मसम्भव)को र बोन झाँक्री धर्मावलम्बीहरुले गुरु शेरबले टेकेको विश्वास गर्ने एउटा पाइला रहेको छ । साथै यसै डाँडामा झाँक्रीहरुको प्राचीन मन्दिरको छेवौमा एउटा ढुङ्गा रहेको छ जसलाई स्थानीयहरु पृथ्वीको नाइटो पनि भन्ने गर्दछन् । साथमा यही अग्लो डाँडामा बौद्ध धर्माबलम्बीहरुले अजङ्गको स्तूपा निर्माण सम्पन्न हुने चरणमा छ भने भ्यूटावर बनिसकेको छ ।

रोचक तथ्यहरु

भनिन्छ पहिले पहिले दोलखाको कालीञ्चोक माई पीठबाट उडेको डाँफे चरी शैलुङको बाघ ढुङ्गामा पुगी बसेको देखिन्थ्यो । त्यस्तै वि.सं. १९९० सालको महाभूकम्प पूर्व शैलुङको बाघढुङ्गे डाँडाबाट काठमाडौंको भीमसेन स्तम्भ (९ तले धरहरा) पनि स्पष्ट देखिन्थ्यो रे पनि भन्दछन् । मौसम सामान्य भए पनि कालिञ्चोक पर्वतका साथै रोलवालिङ हिमश्रृङ्खलाका गौरीशंकर पर्वत र यसका दायाँबायाँका अन्य हिमालहरु एकातिर देख्न सकिन्छ । मौसम राम्ररी नै खुलेमा यस थुम्कोबाट दोलखाको उत्तरी भेगमा रहेको कालिञ्चोक, चरिकोट बजार र भीमसेन मन्दिर, पश्चिममा रहेको काभ्रेको तिमाल, नमोबुद्ध र धुलिखेल, पूर्वको रामेछाप, जिरीका साथै दक्षिण भेगमा तराईका फाँटहरुसम्मका दृश्यहरु देख्न सकिन्छ ।

अन्तमा

चर्चाको शिखर रहेको शैलुङका सय थुम्का रहेको क्षेत्रमा पर्यटकीय पूर्वाधारहरु अपर्याप्त रहेको छ नै । तैपनि आफ्नै वा भाडाका साना सवारी साधनबाट रामेछापको गाल्पा भञ्ज्याङ वा दोलखाको मुडेबाट शैलुङ क्षेत्रमा पुग्ने पर्यटकहरुको लर्को हाल देख्न सकिन्छ । भौगोलिक, धार्मिक, संस्कृतिका साथै पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको शैलुङमा हिउँद वा वर्षा बेलामा पुग्दाको बेग्लै बेग्लै अनुभूति हुन्छन् । लालीगुराँस, धुपीसल्लाका वन जङ्गलका हरियालीमाथि रहेका शैलुङका सय थुम्कामा रहेका सम्पदाहरु र तिनै थुम्काबाट चारैतिर नियाल्दा देखिने हिमाल र पर्वत श्रृङखलाहरुका साथै सूर्योदय र सूर्यास्थका दृश्यहरुबाट प्राप्त आत्मानन्द करोडौं रकमले पनि खरिद गरेर पाइँदैन् । विश्वभर फैलिएको कोभिड–१९ को महामारीको कारणले शैलङ पर्यटन सुस्त भएकोमा हाल भ्याक्सिनको उपलब्धताले विस्तार विस्तार गतिशिल हुन थालेको छ । अतः दोलखा र रामेछापको सीमामा पर्ने शैलुङका सय थुम्कामा भ्रमण गर्न स्वदेशी र विदेशी पाहुनाहरुलाई निमन्त्रणा गर्दा यहाँका नागरिक र पर्यटन व्यवसायीहरुले नेपाल सरकारले लागू गरेको कोभिड-१९ को मापदण्डहरुको पालना गरेर स्वस्थ रहेर मात्र पर्यटन गरौं भनी सन्देश दिनु जरुरी देखिएको छ ।

(भीमेश्वर नगरपालिक-१०, चोथाङ, दोलखा । हालः बानेश्वर, काठमाडौं ।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका