जनयुद्धका पीडित भन्छन्, ‘नेता सत्तामा पुग्ने भर्‍याङ मात्रै भइयो’

विनोद ढुङ्गाना संचारकर्मी
तनहुँ

९ माघ २०५८ को बिहान झिसमिसेमै पोखराको फूलबारी ब्यारेकबाट सेनाको टोली आएर घर घेराऊ गरे । कास्कीको पोखरा महानगरपालिका–३२ खुदीखोलाको सुकुम्वासी टोलमा रहेको घरमा सुतिरहेका टङ्कप्रसाद शर्मालाई सेनाको टोलीले पक्रियो । फूलबारी ब्यारेकबाट क्याप्टेन उत्तम थापा क्षेत्री नेतृत्वमा आएको टोलीले टङ्कप्रसाद सहित सुकुम्वासी बस्तीबाट नौ जनालाई हातखुट्टा बाँधेर आँखामा कालोपट्टी लगाएर कुट्दै लगे ।

पक्राउ परेको केही दिनअगाडि गगनगौँडामा रहेको प्रहरी बिटमा तत्कालीन विद्रोही माओवादीले आक्रमण गरेको थियो । आक्रमणमा संलग्न भएको आंशकामा सुकुम्बासी बस्ती छिरेर सोधपुछका लागि नौ जनालाई सेनाले पक्रिएको थियो । पक्राउ परेका अरू आठ जनालाई सेनाले छाडिदियो, घर फर्किए । सोधपुछ गरेर पठाइदिन्छौ भनेर सेनाको टोलीले लगेको टङ्कप्रसादलाई २० वर्षदेखि फिर्ता गरेको छैन । उनी अझै बेपत्ता छन् । न उनको लास भेटिएको छ न त सास नै ।

‘फूलबारी ब्यारेकमा लगेछ भन्ने थाहा भएपछि दिनदिनै जसो ब्यारेकको गेटमा पुगेर उहाँको अवस्था के छ भनेर सोधपुछ गर्थे । यहाँ ल्याएको छैन भनेर जवाफ दिन्थे,’ टङ्कप्रसादकी पत्नी आरती शर्मा सम्झन्छिन् । आरतीले १० बर्से सशस्त्र जनयुद्धका बेला बेपत्ता पारिएका श्रीमान् खोज्दा खोज्दै २० वर्ष बिताएकी छन् । पुग्नुपर्ने ठाउँ पुगिन्, भेट्नुपर्ने मान्छे भेटिन उनले । तर अझै पनि श्रीमानको केही पत्तो पाएकी छैनन् । टङ्कलाई पक्रेर लग्ने सुरक्षाकर्मीविरुद्ध आरतीले पटक पटक जाहेरी दिन खोज्छिन् । प्रहरीले इन्कार गर्छ । न्याय माग्दै अदालतको ढोका ढकढक्याउँदा पनि उनको चित्कार सुनिँदैन ।

जति बेला टङ्कप्रसाद पक्राउ परेका थिए त्यति बेला नेकपा माओवादी सशस्त्र द्वन्द्वमा होमिरहेको थियो । ५ मङ्सिर २०६३ मा विस्तृत शान्ति सम्झौता गरी १० बर्से द्वन्द्वकालको समापन गर्दै माओवादीले हतियार बिसाएको थियो । हतियारको राजनीति छाडेर माओवादीले शान्ति सम्झौता रोजेको आइतबार १५ वर्ष पुगेको छ ।

यो अवधीमा माओवादी केन्द्रले पटक–पटक सत्ताको स्वाद चाख्यो । जुन पार्टीमा लागेको आशङ्कामा टङ्कप्रसाद बेपत्ता भए त्यही पार्टी सत्ताको भर्‍याङ चढ्दा अपेक्षा गरेजस्तो आफ्नो घाउमा मल्हम लगाउने काम नगरेको आरती बताउँछिन् । बेपत्ताको स्थिति सार्वजनिक गर्नलाई पहल नभएको उनको गुनासो छ । २०औँ वर्षसम्म बेपत्ताको स्थिति सार्वजनिक नहुँदा चर्किरहने आलो घाउ बनेर बिझाइरहेको छ । घाउलाई निको पार्ने मल्हम लगाउने भूमिका राज्य र पार्टी दुवैले नखेलेको उनको भनाइ छ । ‘हामीले गर्दा नै नेता सत्तामा पुगे । हामी नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ मात्र भइयो । सबै पार्टीका नेता मिलेर बेपत्ताको खोजी गर्ने हो भने समय लाग्दैन । बेपत्ताको स्थिति पत्ता लगाउन सकिहाल्छन् नि,’ उनले भनिन् ।

बेपत्ता छानबिन आयोगले केही गर्ला भनेर आशा पलाएको थियो रे उनलाई । तर आयोगले पनि गर्न केही सकेन सोधपुछबाहेक । ‘आयोग बने पनि पनि काम गर्दा गदै समय सकिन्छ, थप हुँदैन । आयोगसँग आस लागेको थियो हामीले चाहेको होला भनेर । त्यत्तिकै भयो,’ आँखाबाट आँसु खसाल्दै उनी भन्छिन्, ‘कम्तीमा भए सास, नभए लास मात्रै दिए पनि ढुक्क हुन्थ्यो । काजक्रिया गर्न त पाइन्थ्यो ।’

आरती आफ्ना श्रीमान् एक दिन अवश्य फर्किआउने आशा बोकेर बाँचिरहेकी छन्, खोजिरहेकी छन् । श्रीमानलाई सेनाले पक्रेर लगेको खुदीखोलाको सुकुम्बासी बस्तीबाट आरती हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बसाई सरेकी छन् । सरकारले बेपत्ता परिवारलाई दिएको १० लाख रुपैयाँ राहतमा थपथाप गरेर पृथ्वी राजमार्गको छेउैमा घर बनाएकी छन् । गुजारा चलाउनलाई घरमै किराना पसल चलाउँछिन् । दिनभरजसो उनी पसलमै भेटिन्छन् । जति बेला पनि उनको नजर घर अगाडिको पृथ्वी राजमार्गमा हुइँकिएका सवारीतिर परिरहन्छ । ‘कुनै दिन यहीँ बाटो गुडिरहेको गाडीबाट झरेर आरती म आए भन्दै टङ्क आउनेछन्,’ उनीसँग यही आशाको त्यान्द्रो सहारा बनेको छ ।

शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका श्रीराम घिमिरे पनि २२ वर्षदेखि बेपत्ता छन् । माओवादीको जनयुद्धमा होमिएका उनलाई १ वैशाख २०५६ मा दंगा प्रहरीले तनहुँको वरभञ्जयाङ नागनागिनीबाट नियन्त्रणमा लिएर बेपत्ता बनाएको हो । बेपत्ता भएको २२ वर्षसम्म श्रीमती सर्वदा खनाल श्रीमानको अवस्था सार्वजनिक गर्न माग गर्दै नपुगेको निकाय सायदै होला ।

सर्वोच्च अदालतको शरणमा पनि पुगिछन् एकपटक । सर्वोच्चले उनलाई लाजमर्दो जवाफ दिएछ, ‘आफ्नो मान्छे आफैँ खोज्नुहोला’ । ‘त्यति बेलाको सरकारले नबोलेपछि सधैँ भरी घाउ आलो भइरहेको छ । सास रहुन्जेल आस हुन्छ भनेझैँ भइरहेको छ । बेपत्ताको अवस्था सार्वजनिक गर्न पार्टीले पनि राम्रो भूमिका खेलेन् । सरकारमा गएपछि एउटा पोल खुल्दा अर्को पोल पनि खुल्छ भनेर हो कि रु’ उनको आशङ्का छ ।

श्रीमान् कहाँ होलान् रु अवस्था के होला रु उनलाई सधैँ भरी छट्पटि भइरहन्छ । अवस्था सार्वजनिक गरेर पीडितलाई राहत र पीडकलाई कारबाही नभएसम्म सन्तोष नमिल्ने उनको भनाइ छ । ‘कसले गिरफ्तार गर्‍यो रु कहाँ लगियो सबै प्रमाण दिएका पनि छौँ । बेपत्ता छानबिन आयोगले पनि काम गर्न सकेन । सत्य तथ्य बाहिर आएन । कहाँनेर के अड्कियो बुझ्न सकेका छैनौँ,’ उनले भनिन् ।

१० बर्से सशस्त्र जनयुद्धमा तनहुँका ६६ जना शहीद बने । १७ जना विद्रोही र राज्य पक्षबाट बेपत्ता भएका छन् । चार जना जिल्ला बाहिरका तनहुँबाट बेपत्ता भएको तथ्याङ्क छ । विद्रोही पार्टी नेकपा माओवादी र नेपाल सरकारबिच ५ मङ्सिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौता भएर विद्रोही पार्टीले सत्तारोहण गर्दा शहीद, बेपत्ता र द्वन्द्व पीडित परिवारमा आशा पलाएको थियो बेपत्ताको खोजविन र अवस्था सार्वजनिक होला भनेर । आशा अहिले निराशामा बद्लिएको छ ।

शहीद, बेपत्ता नागरिक, पूर्व लडाकु, द्वन्द्वमा घाइते भएकाको समस्या जस्ताको तस्तै छ अझै पनि । केवल उनीहरू नेता सत्तारोहणको भर्‍याङ मात्र साबित भएका छन् । राज्यले बेपत्ता नागरिकको लागि काम गर्नै नसकेको बताउँछन् बेपत्ता परिवारका सदस्य भानु नगरपालिका–१ भन्सारका रामचन्द्र मिश्र । ‘बेपत्ता परिवारको अपेक्षाअनुसार काम भएन । राहत दिने काम भयो । खोजविन गर्ने काम धिमा गतिमा भएको छ । यो १५ वर्षमा त अवस्था के छ पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने थियो । यदि राज्यले चाहेको भए यो काम गर्न सक्थ्यो पनि । पार्टीले पनि राज्यलाई झकझकाई रहनुपर्ने । त्यसो हुन सकेन’, मिश्रले भने ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका