‘लक्की साङ्गीतिक साँझ’ हुँदै

सैलुङअनलाइन संवाददाता
चितवन

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले यही आउँदो पुस १५ गते भरतपुरमा ‘लक्की साङ्गीतिक साँझ’ गर्ने भएको छ ।कोरोनाले धराशायी भएको कलाकारिता क्षेत्रलाई उकास्ने र प्रवर्द्धन गर्ने हेतुले हाउसले ‘लक्की साङ्गीतिक साँझ २०७८’ गर्न लागेको हो ।

मौलिक पर्वको रूपमा मानिँदै आएको पुसे १५ को अवसर पारेर साङ्गीतिक साँझ आयोजना गर्न लागिएको हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चर्चित कलाकार तथा गायक, गायिकाको साथमा साङ्गीतिक साँझ गर्न लागिएको छ । साङ्गीतिक साँझको लागि तयारी प्रक्रिया सुरु भइसकेको उनले बताए ।

नेपाली कला संस्कृतिलाई संरक्षण र जगेर्ना गर्ने उद्देश्यसहित भरतपुरमा साङ्गीतिक साँझ गर्न लागिएको हो । साङ्गीतिक साँझका साथै साङ्गीतिक अवार्ड कार्यक्रम समेत राखिएकोले यस क्षेत्रलाई थप हौसला र उत्साह थपिने मिडियाका हाउसका निर्देशक हेमन्त केसी “हरि”ले बताए ।

‘यो साँझलाई हामीले सां‌गितिक क्षेत्रको उत्सवको रूपमा लिएका छौँ, निर्देशक केसीले भने, यस्ता कार्यक्रमले कलाकारिता क्षेत्रमा केही टेवा मिल्नेछ भन्ने हाम्रो विश्वास छ ।’काठमाडौँको एक साङ्गीतिक संस्थासँग सहकार्य गर्दै अब छिट्टै नै सां‌गितिक अवार्ड गर्ने तयारीमा रहेको केसीको भनाई छ ।

स्थानीयदेखि राष्ट्रियस्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरूको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवर्द्धनका लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकारहरुको साथमा रेड कार्पेट प्रिमियर सो, प्रिमियर सो, विशेष सो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगीतिक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरू गर्दै आएको छ । मिडिया हाउसद्वारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका