मेल भर्सनमा आयो ‘तिमी तारे भीर’

सैलुङअनलाइन संवाददाता
खोटाङ

३२ वर्षअघिको कुरा हो । काठमाडाै‌ रातोपुल छेउमा रहेको पुरानो घरको कोठामा सङ्गीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भीर’ बोलको गीतमा सङ्गीत भर्न व्यस्त थिए । रातको १ बजिसकेको थियो । रात छिप्पिँदै जाँदा पनि राईको देब्रे पाखुराले पुरानो हार्मोनियमको पङ्खा चलाउन छाडेको थिएन । मुकारुङको हात गिटारबाट हटेको थिएन । ‘तिमी तारे भीर’ गाइरहन्छन् उनीहरू, निथ्रुक्कै भिज्छन् दुईका आँखा तर गीत गाउने धित मर्दैनन् उनीहरूको ।

लगत्तै गायिका पवित्रा सुब्बालाई गाउन दिइयो । गीत श्रोताको मनमुटुमा बस्न सफल भयो । सधैँ गुनगुनाइरहने कालजयी गीत बन्यो । ३२ वर्षपछि उही गीतलाई मेल भर्सनमा गायक रेवत राईको स्वरमा सार्वजनिक गरिएको छ ।

मेल भर्सनमा आएको त्यही गीतले सङ्गीतकारलाई विगत तीन दशक अगाडि फर्काएको छ । ‘तिमी तारे भीर’को सङ्गीत भर्ने क्रममा रुवाएको गीत मेल भर्सनमा आएपछि आफूलाई पुन: रुवाएको सङ्गीतकार राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘हातमा गिटार बजाउँदै छ श्रवण । गल्दै जाने देब्रे पाखुराले पुरानो हार्मोनियमको कडा पङ्खा चलाउँदै हुन्छु म,’ राईले लेखेका छन्, ‘रातको १ बजे निथ्रुक्कै भिज्छ आँखा हाम्रो । र, पनि धितै नमर्ने गरी गाइरहेका हुन्छौँ । रातभरि गाएर नथाक्ने तिमीतारे भीर…। ठिक ३२ jवर्षपछि यही गीतले फेरि रुवायो ।’

कवि तथा गीतकार मुकारुङले लेखेको, गायक तथा सङ्गीतकार राईको सङ्गीत रहेको भिडियोसहितको मेल भर्सनमा देवेश राईले सङ्गीत संयोजन गरेका छन् । दर्जनौँ चर्चित गीतमा स्वर दिइसकेका खोटाङका गायक रेवतले गाएपछि पुनः ‘तिमी तारे भीर’ले चर्चा पाएको छ ।

किरण चाम्लिङ राईको निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित अभिनेता दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय छ । गीतको भिडियोमा माया, प्रेम र मानिसको जीवनमा हुने वियोगान्त क्षणलाई चित्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका