स्विडेनकी यी पहिलो महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घण्टापछि दिइन् राजीनामा

एजेन्सी एजेन्सी
स्टकहोम

स्विडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घण्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् ।

‘गठबन्धनमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् ।

स्विडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधवार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसदहरूले खुसी मनाएका थिए ।

संसद्का ३४९ सांसदमध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए ।

बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलो पटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौँ,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने ।

स्विडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदै छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका