एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

सैलुङअनलाइन संवाददाता
चितवन

एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिने गरी तयारी गरेको प्रतिक्रिया दिए ।

एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् ।

‘यस पटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उनले भने ।

एमालेले यस पटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने सङ्कल्प गरेको उनले बताए । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका