आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले आदिवासी चलचित्रले आदिवासीको मौलिकपन बोकेको बताएका छन् । सोमबार २४ औं तामाङ चलचित्र प्रर्दशनी दिवसका अवसरमा बोल्दै अध्यक्ष सुनुवारले आदिवासी पहिचान बचाउन चलचित्रले महत्व भूमिका खेलेको बताए ।
संघका अध्यक्ष विकु थोकरले एक/दुई वटा चलचित्र हेरेर सिंगो तामाङ चलचित्रको समीक्षा गर्न नहुने बताउँदै कलाकारहरुको हकहित, चलचित्रको संख्यात्मक र गुणात्मक दुबै पाटोमा लाग्नुपर्ने आग्रह गरे । अध्यक्ष थोकरले भने, ‘विभिन्न चुनौती सामना गर्दै मेरो कार्यकालमा झोलाको अफिस कार्यालयमा परिणत गरी कलाकारहरुको क्षमता विकास, कार्यशाला गोष्ठीदेखि चलचित्र महोत्सवसम्म गरेको छ ।’
भक्तपुरमा सम्पन्न दिवसमा तेमालअनलाइनका कार्यकारी सम्पादक सुदिन दोङ, नायक रितुराज पाख्रिन, नायिका सुनिता लुङबा, निर्देशक बिनायक तामाङ, खलनायक बिकास स्याङतान, निर्माता दिपक तामाङ लामा, संगीतकार निमा लामा तामाङ, नृत्य निर्देशक अजय स्याङतान, सम्पादन रोशन फ्युवा तामाङ, चरित्र अभिनेता र अभिनेत्री प्रेम तामाङ र भुइसल लामा सम्मानित भएका हुन् ।
कार्यक्रममा पूर्वराज्यमन्त्री रेशम लामा, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बल लगायत शुभकामना दिएका थिए ।
दिवसमा विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन संघका सचिव जयनकुमार मोक्तानले गरेका थिए ।