मोसुओ जाति : मातृसत्तात्मक समाज

काठमाडाैं

जुआ मा र ला त्सुओ जुम्ल्याहा दिदीबहिनी । तिब्बत र सिचुवाँसँग जोडिएको युन्नानको गाउँ काओहाइ । नजिकै लुगु ताल । त्यस भेगमा मोसुओ जातिका करिब ४० हजार चिनियाँ बस्छन् । जुआ मा र ला त्सुओको परिवार ठूलो छ । आह मी (बज्यै) परिवारकी हर्ताकर्ता हुन् । जुआ र त्सुओलाई आफ्नो बाबुको पत्तो छैन । बज्यै, आमा, सानीआमा, फुपूहरुको संरक्षणमा हुर्किएका उनीहरू तलसम्म लत्रिएको लुगा लगाउँथे । उनीहरु १३ वर्षको हुँदा परिवारका सबै सदस्य खुशी भए । सदस्यहरुबीच एउटा समारोहको आयोजना गरियो । जसमा जुआ र त्सुओले पहिलोपटक स्कर्ट पाए । स्कर्ट पाउनुको अर्थ अब उनीहरु वयस्क भए भन्ने हो । जुआले रातो र त्सुआले फिका नीलो रंगको स्कर्ट पाएका थिए भने भित्र लगाउन सेतो कट्टु ।

त्यसदिन सबैले मीठो-मीठो खानेकुरा खाए । नाचे, गाए, मनोरञ्जन गरे । उनीहरुले गाएको गीतको भाव यस्तो छ :

‘यहाँ धेरैभन्दा धेरै कुशल मानिस छन् तर
मेरी आमासित तुलना हुने कोही छैनन् ।
यहाँ ज्ञान र सीप भएका हजारौं छन्
यहाँ गाउन र नाच्न जान्ने हजारौं छन् तर
मेरी आमालाई जित्न सक्ने कोही छैनन् ।’

अर्को गीत,

‘पुरुष हामीभन्दा फरक भाषा बोल्छन्
हामी उनीहरुलाई मन पराउँछौं
हामीलाई उनीहरु चाहिन्छ पनि तर
हामी आफ्नो स्वतन्त्रतालाई अधिक महत्व दिन्छौं ।’

गीतले नै भन्छ, उनीहरुको समाज मातृसत्तात्मक हो । यौनसम्बन्ध र परिवार त चाहन्छन् तर आफ्नो अस्तित्व गुमाउन चाहँदैनन् । परिवारका सदस्य, इष्टमित्र, गाउँले, प्रेमी तथा लोग्नेलाई भन्दा आमालाई सर्वश्रेष्ठ मान्छन् । चलनअनुसार १३ वर्ष पुगेपछि युवतीहरुले रंगीचंगी स्कर्ट र युवकहरुले पाइन्ट लगाउन थाल्छन् । यसपछि बल्ल युवतीहरुले पुरुष साथी बनाउन र उनीहरुसँग खेल्न पाउँछन् । जुआ र त्सुओ पनि पुरुष साथी बनाउन पाइने भएपछि दंग भए । नभन्दै एकदिन दिउँसो पुरुष साथीको खोजीमा हिँडे । बजार चहार्दै गर्दा जुआले सुओ ह्वालाई र त्सुओले हे सियाडोनलाई मन पराए । र, घर आउन निमन्त्रणा दिए । स्मरणीय छ, सुओ र हे पनि दाजुभाइ नै थिए ।

मुसोओ जातिको प्रचलनअनुसार युवतीको निमन्त्रणा पाएको केटो सिधै घरको ढोकाबाट पस्न पाउँदैन । यसर्थ राति परिवारका सदस्यहरु ठूलो (सामुहिक) कोठामा सुत्न गए । जुआ र त्सुओले भने त्यसदिन मात्र अलग्ग शयनकक्ष पाएका थिए । उनीहरु आ-आफ्नो कोठामा त्यस दिन मात्र साथी बनेका केटाको प्रतिक्षामा बसिरहे । सुओ र हे राति जुआ र त्सुओको घर पुगे । घरको छतमा चढे । छतबाट कोठामा छिर्नलाई लहरो झुन्ड्याइएको थियो । सुओ र हे त्यसको सहयोगले जुओ र त्सुओको कोठामा ओर्लिए । जुआले सुओसँग र त्सुओले हेसँग पूरै रात बिताए र बिहान झिसमिसेमै फर्किए । परिवारमा १३ जना सदस्य भए तापनि जुओ र त्सुओले कोसित शारीरिक सम्बन्ध राखे, कसैले पत्तो पाएनन् ।
मुसोओ जातिको रिवाज नै यस्तो छ कि आफूलाई मन परेको खण्डमा युवतीले सम्पर्क राखिसकेको पुरुषलाई जुनसुकै बखत घरमा बोलाएर यौन प्यास मेट्न सक्छन् । युवकले चाहँदैमा युवतीको घरमा जान सक्दैन । यसरी राखिने शारीरिक सम्बन्धबाट युवती गर्भवती भइन् भने पनि न युवक दोषी ठहरिन्छन् न उनले गर्भवती युवतीलाई पाल्नुपर्ने अभिभारा नै हुन्छ । गर्भवतीको रेखदेख, हेरचाहको सम्पूर्ण जिम्मेवारी परिवारको हुन्छ । प्रायः संयुक्त परिवारमा बस्ने यिनीहरुको घरको कमाण्ड सबैभन्दा ज्येष्ठ महिला सदस्यले गर्छिन् । उनैले गर्भवती छोरी, नातिनीको सम्पूर्ण जिम्मेवारी उठाउँछिन् र जन्मेका सन्तानको नामकरण गर्छिन् । यसमा बाबुको नाउँ र थरको कुनै स्थान हुँदैन । नामकरण पनि आमाकै नाउँबाट गरिन्छ ।
यो जातिमा बिहे गर्ने चलन छैन । चिनियाँले समेत ‘स्त्री राज्य’ मान्ने यो समाजमा परिवार पाल्ने, खेतीपातीलगायत सबै काम महिलाले नै गर्छन् । महिलाले चाहेमा एउटै पुरुषलाई ‘लोग्ने’ बनाइराख्न सक्छन्, नचाहेमा जुनसुकै बेला पार्टनर फेर्न सक्छन् । त्यसैले त्यहाँ एउटै लोग्ने हुने महिलाको संख्या छँदै छैन भन्दा पनि हुन्छ । धेरैका धेरै ‘लोग्ने’ छन् । यो जातिमा पुरुषको कुनै जिम्मेवारी र भूमिका हुँदैन, महिलालाई खेतीपातीको काममा सघाउने र शिकार खेल्नेबाहेक । तर, राजनीति भने पुरुषले नै गरेका हुन्छन् । राजनीतिमा महिलाको संख्या नगण्य छ ।

तिब्बतनजिकको युन्नान र सिचुवाँमा बस्ने यिनीहरुको जनसंख्या ४७ हजारभन्दा बढी छैन । खुलेर यौनसम्बन्ध राख्ने र विवाहेत्तर सम्बन्धको झमेला नभएकाले होला, त्यहाँ अपराधका घटना एकदम न्यून छ । बलात्कार त झन् शून्य । यिनको बसोबास ८ हजार फुटभन्दा बढी उचाइको क्षेत्रमा छ । तिब्बती जस्तै देखिन्छन् । अत्यन्त दुर्गम स्थान भएका कारण लुगु ताल क्षेत्र सन् १९५६ मा मात्र कम्युनिष्ट सत्ताको नियन्त्रणमा गएको हो । मुसोओहरु तिब्बती बौद्ध धर्म (बोन) मान्छन् । यिनीहरु लुगु तालमा प्रेमकी देवीको बास छ भन्ने विश्वास गर्छन् । पहाड र पानीको पूजा गर्छन् । मृत्युपछि मानिस प्रेत बन्छ भन्छन् । यो ब्रह्माण्डमा ८ सय देवी–देवता र ३ हजार दानव भएको विश्वास गर्छन् । देवी र देवताका थानमा बोका बलि दिने चलन छ । काठे घरमा बस्छन् । मकै, आलु, जौ उत्पादन गर्छन् । सुँगुर, खसी-बोका र कुखुरा पाल्छन् । यहाँ माछा खान प्रतिबन्ध छ । ग्रिन टी र जाँड पिउँछन् । यिनीहरु मांसाहारी हुन् । अन्य चिनियाँको तुलनामा गरिब छन् । खानेपानी र बिजुली सुविधा भर्खर भर्खर पुगेको छ ।

मुसोओ चीनको ५५ अल्पसंख्यक जातिमध्ये पर्छ । चीनमा हान जातिको प्रतिशत ९१.५१ छ भने बाँकी ८.४९ प्रतिशतमा ५५ वटा जाति छन् । माओत्सेतुङको नेतृत्वमा सांस्कृतिक क्रान्ति हुँदा उग्रवादी कम्युनिष्टहरुले मुसोओ जातिलाई ‘पशु’ र उनीहरुको संस्कृति, चलन, रीतिथितिलाई ‘अवनति’ को लाञ्छनासमेत लगाए । उनीहरुबीच जबर्जस्ती बिहे गराउने, धर्म त्यागी चिनियाँ मूल भाषा जबर्जस्ती बोल्न लगाउनेसमेत काम भयो । जसले सरकारको आज्ञाको उल्लंघन गरे, उनीहरु खाद्यान्नबाट वञ्चित भए । त्यसबेला धेरैले डराएर बिहे गरे । बिहेको प्रमाणपत्र लिए तर ती देखाउनका लागि मात्र थिए, उनीहरुले भित्रभित्रै आफ्नै प्रथा चलाएर । सन् १९७६ मा साँस्कृतिक क्रान्तिको अवसानपछि उनीहरुले पुनः खुला रुपमा आफ्नो जातीय संस्कार अंगीकार गरे । त्यसो त यतिखेर उनीहरु शिक्षित बनिसकेका छन्, धेरैले परम्परा त्यागिसकेका छन् । अन्य चिनियाँसरह बिहे गर्न थालेका छन् तर आफ्नो जातीय परम्परा मान्ने नै धेरै छन्, तसर्थ त्यो क्षेत्र पर्यटकीय नगर बनिसकेको छ । चिनियाँ सरकारले होमस्टे खोल्न र पर्यटकहरुलाई मुसोओ महिलाहरुसँग जिस्किन छुटसमेत दिएको छ ।

मुसोआ प्रायः ३ या ४ पुस्ता एउटै छतमुनि बसेका हुन्छन् । बज्यै, आमा, नातिनी सबै हुन्छन् तर त्यहाँ कसैको लोग्ने वा बाबु हुँदैनन् । पुरुष सदस्य त हुन्छन् तर कसैको दाजुभाइ, छोरा, भतिजहरु हुन्छन् । यौन स्वच्छन्दता भए पनि हाडनाता सम्बन्ध राख्दैनन् । यस्तो सम्बन्धलाई धर्मविरोधी मान्छन् । प्रायः यिनीहरुको घरको बीचमा खुला चोक हुन्छ । भुइँतला वस्तुभाउ, पहिलो तला भान्छा घर र खाने कोठा, दोस्रो तला बैठक, स्टोर र वयस्क युवतीका लागि गोप्य कोठा । अन्य सबै एउटै कोठामा सुत्छन् । वयस्कहरुको क्लब हुन्छ । जहाँ युवकयुवती नाचगान गर्छन् । युवतीलाई रिझाउन युवकले सुन, चाँदीका सामान उपहार दिन्छन् भने युवतीले मन पराएको केटालाई काठ र छालाबाट बनेका वस्तु दिन्छन् ।
बूढापाकाले पनि नवयौवनालाई नुनिलो मासु, ग्रिन टी, उखु र रक्सी दिन सक्छन् । पुरुष पहिलोपटक युवतीको घर जाँदा सुपारी र ह्याट (टोपी) लिएर जाने चलन छ । सुपारी युवतीको घरमा पालेको कुकुरलाई खुवाउँछन् भने टोपी युवतीलाई दिएर ‘प्रेम’ दर्शाउँछन् । महिलाले एकै समय एकभन्दा बढीलाई यौनसाथी राख्न सक्छन् । राख्ने-नराख्ने र यौनसाथी फेर्ने महिलाकै इच्छामा भर पर्छ ।
(साभार : जनआस्था साप्ताहिक)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका