रसुवाको चार गाउँपालिकामा मतदाता नामावली संकलन सुरु

सैलुङअनलाइन संवाददाता
रसुवा
तस्बिर: फाइल

रसुवाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले दर्ता कर्मचारी खटाई (आज) शुक्रबारदेखि मतदाता नामावली संकलनको कार्य सुरु गरेको हो ।

जिल्लाको नौ कुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मतदाता नामावली संकलनको कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी विनीता भट्टराईले जानकारी दिइन् । यी दुई गाउँपालिकामा अबको १० दिनसम्म मतदाता नामावली संकलन गरिने भएको छ ।

त्यसैगरी जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा भने २९ मंसिरदेखि मतदाता नामावली संकलनको कार्य सुरु हुने उनले बताइन् । मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक र सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगी खटाइएको उनले बताइन् । दर्ता कर्मचारीलाई तालिम दिएर खटाइएको बताइएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाईंकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरूप अघि नबढाइने भएको छ । निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य हुने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पनि सकिँदैछ । रसुवामा ४ चैत २०७७ प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार आठ सय ५१ जना मतदाता छन् ।

तपाईको प्रतिक्रिया