सामुदायिक विद्यालय शैक्षिक सुधारमा दोष होइन खोज आवश्यक

पाँचथर

म पेशाले शिक्षक हुँ । मलाई मेरा हजुरबाले घरमै धुलौटोमा कपुरी क लेख्न सिकाउनु भयो । विद्यालय भर्ना भएकै दिन शिक्षकलाई हतार हतार क लेखेर देखाउँदा स्याबासीको चकलेट पाउँदाको खुसीको क्षण अझै मलाई याद छ । विद्यार्थी जीवनभरि मेरा लागि शिक्षक आदरणीय पात्र हुनुहुन्थ्यो, महान् हुनुहुन्थ्यो । त्यसैले होला शिक्षाको हरेक तह पार गर्दै गएँ र शिक्षण पेशा मेरो पनि लक्ष्य बन्यो । शिक्षा सेवा आयोग पास गरेँ । आज म शिक्षण पेशामा आवद्ध छु ।

शिक्षा सेवा आयोगको परिक्षा पास गरेको दिन म निक्कै खुसी थिएँ । शिक्षण जस्तो मर्यादित पेशामा प्रवेश पाएकोमा मेरो छाती गर्वले फुलेको थियो । म हर्षले प्रफुल्लित थिएँ । तर, आज म त्यति नै दुःखी छु र विचलित पनि, चिन्तित छु र एक्लो पनि । कारण यो पेशामा प्रवेश गर्नु अघि मैले पढेको र बुझेको कुरा विपरित पाउँदा । शिक्षण पेशामा प्रवेश गर्नु भन्दा पहिले मैले बुझेको र पढेको शिक्षक प्रत्यक्ष राजनीतिबाट टाढा हुनु पर्छ भन्ने थियो । शिक्षा ऐन, नियम र कानुनले त्यही भनेको छ । मैले त्यही पढेँ, त्यही बुझेँ, त्यही सिकेँ ।

अर्को कुरा शिक्षक आदर तथा सम्मानयोग्य पात्र हुन् । अग्रजहरुबाट त्यही सिकेँ मैले । आफ्नो मर्यादालाई ख्यालमा राखेँ र त्यही अनुसार कार्य सम्पादनलाई अघि बढाएँ । कुनै राजनीतिक दलमा लागिन । नेताहरुको पछि पनि लागिन ।

शिक्षा सेवा ऐनमा कार्यसम्पादनको आधारमा शिक्षकको सरुवा, बढुवा हुने व्यवस्था छ । कार्यरत सेवा क्षेत्रको ऐन, नियमले व्यवस्था गरेको सेवा, सुविधा प्राप्तिको चाहना स्वभाविक रुपले सबैमा हुन्छन् नै । मेरो पनि त्यो चाहना अश्वभाविक थिएन ।

मैले सम्बन्धित निकायमा सरुवा जान्छु भन्ने मागसहित प्रक्रिया अघि बढाए । सरुवा प्रक्रिया अघि बढेपछि थाहा पाएँ कि आफूलाई ठाउँमा सरुवा पाउनका लागि कुनै पार्टीको कार्यकर्ता हुनुपर्दो रहेछ, पार्टीको नेतालाई चिन्नुुपर्दो रहेछ । कार्यसम्पादनको आधारमा सरुवा, बढुवा हुने ऐन, नियमको व्यवस्था यहाँ लागु नहुँदो रहेछ ।

त्यसैले म यत्तिबेला विचलित छु, दुःखी छु र दोधार पनि छु कि म अब कस्को पछि लागौँ ? विद्यार्थीको पछि नलागौँ तिनको भविष्य निर्माणको कुरा छ । उनीहरुकोे भविष्यप्रति चिन्ता लाग्छ । नेताको पछि नलागौँ घर परिवारभन्दा टाढा बस्नु पर्दा एक्लो छु । मेरा बुढा बाआमा छिमेकीलाई सुनाउँनु हुन्छ– ‘बुढेसकालको सहारा सम्झेको सन्तान टाढा भइदियो ।’ म जस्तै मेरा सहयात्रीहरू विचलित हुँदा देशको भविश्य प्रतिभाका खानी अवोध बालबालिकाहरूको भविष्य बिग्रिएर गएको छ ।

हो, मलाई थाहा छ शिक्षक शिक्षा विकासका आधार हुन् । म आदर्श, गुणवान र विषय विज्ञका साथै कर्तव्यपरायण हुनुपर्छ । म सङ्गीतमा विज्ञ छु, मैले विद्यार्थीलाई सङ्गीत सिकाउनु छ । म गणितमा विज्ञ छु, मैले गणित विषयमा दक्षता हासिल गराउनु छ । यो मेरो कर्तव्य हो । तर, परिस्थितिले शिक्षकहरुलाई राजनीतिक समर्थनमा लाग्न बाध्य पारिरहेको छ । म जस्ता कयौं शिक्षक शिक्षिकाहरु कुनै कुनै पार्टीको झन्डा बोकोर हिँडिरहेका छन् ता कि अप्ठ्यारा परिस्थितिमा पार्टीले सघाउनेछन्, राजनीतिक पार्टीको बोली बिक्नेछ, नेताले साथ दिनेछ । यसरी नै मौनतामै किन नहोस् एकजना शिक्षक कुनै राजनैतिक पार्टीको कार्यकर्तामा भर्ति हुने क्रम जारी छ ।

वास्तवमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनु र विद्यालयबाट दिनदिनै विद्यार्थीहरु पलायन गराउन प्रत्यक्ष वा परोक्ष रूपमा सरकार दोषी छ, राजनैतिक पार्टीहरु दोषी छन् । हुन त सरकारले सामुदायिक विद्यालयको भौतिक संरचनादेखि शिक्षक दरबन्दी, शिक्षकको तलब भत्ता, पुस्तकालय, निःशुल्क पाठ्यपुस्तक, शतप्रतिशत छात्राहरूका लागि सेनेटरी प्याड र दिवा खाजालगायतका कुरा उठाएका छन् । तर, अर्को उही सरकारले च्याउ सरी निजी बोर्डिङ खोल्नका लागि स्वीकृति दिइरहेका छन् । सरकारको यो दोहोरो मापदण्डले नेपालको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुगेकोमात्र होइन कतिपय सरकारी विद्यालयमा विद्यार्थी नहुँदा शिक्षकहरु काम विहिन हुन पुगेका छन् । त्यसैगरी कतिपय सरकारी विद्यालयहरुमा विद्यालयहरूमा विद्यार्थी अनुपातका आधारमा विषयगत शिक्षकको दरबन्दी व्यवस्था नहुँदा पठनपाठनमा गम्भीर प्रभाव परेको पाइन्छ ।

आजभोलि सामुदायिक विद्यालय राजनीतिक दलहरुको खेलमैदानको आभाष हुन थालेको छ । विद्यालय व्यवस्थापन समितिमा दलहरु हावी हुँदै गएको छ । समितिको छनौट प्रक्रिया राजनीतिक दलको चुनावभन्दा सकस लाग्दो देखिन्छन् । धेरैजसो विद्यालयहरूमा शिक्षक शिक्षकको रूपमा भन्दा राजनीतिक दलका कार्यकर्ताको रूपमा बढी चिनिन्छन् । सामाजिक र राजनीति द्वन्द्वका कारण हजारौँ सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरलाई उकास्न सकेका छैनन् ।

यी सम्पूर्ण कुराहरुको निगरानी र नियन्त्रणको जिम्मेवारी सरकारकै हो । यसलाई नियन्त्रण गरी सामुदायिक विद्यालयमा स्वच्छ र स्वस्थ्य शैक्षिक वातावरणको सिर्जना गर्न आवश्यक छ ।

साँच्चै संविधानमा लेखिए जस्तै राज्यले शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने नीतिलाई अक्षरशः कार्यान्वयनमा ल्याउने हो भने शिक्षकलाई राजनीतिका भागीदार बनाउनै हुन्न, राजनीतिक विवाद र द्वन्द्वको चपेटामा पार्नै हुन्न । शिक्षकलाई राज्य र राजनीतिक दल बिचको दुई ढुङ्गे तरुल बन्न दिनु हुँदै हुन्न ।

शिक्षालाई जीवनसँग जोड्न, व्यवहारिक बनाउन, रोजगारमूलक बनाउन शिक्षकको एकाग्रतालाई विचलित बनाउन हुन्न । शिक्षकलाई स्वस्थ्य शिक्षण गर्न सक्ने मानसिकता तयार गर्न दिनुपर्छ । समय समयमा शिक्षकलाई पेशागत वृत्ति विकासका लागि अनुसन्धानात्मक छलफल गर्ने वातावरण सिर्जना गर्ने साथै वर्तमान विज्ञान र प्रविधिको युगलाई छिचोल्न सक्ने प्रविधिमैत्री बनाउन आवश्यक छ । शिक्षाको गुणात्मक सुधार गर्नु छ भने बुढा र पुराना जो प्रविधिमैत्री बन्न चाहँदैनन्, उनीहरूलाई विशेष सुविधा प्रदान गरी बाहिरीने प्रवन्ध गर्नु जरुरी छ र रिक्त दरबन्दीमा प्राविधिक ज्ञानसहितको शिक्षकको परिपूर्ति गर्नु युगको माग अनि देशको उन्नतिको आधार हुने देखिन्छ ।

त्यसैगरी सम्बन्धित विषयमा विज्ञ, दक्ष र प्राविधिक शिक्षकले पेशाप्रति अनुशासित र मर्यादित भई लागेमा देश र समाजको अपेक्षा अनुरूप शैक्षिक जनशक्ति उत्पादन हुने आशा गर्न सकिन्छ ।

अर्को कुरा शिक्षकको निकटतम सम्बन्ध भनेको विद्यार्थीसँग रहन्छ । विद्यार्थीको सफलता र असफलताले नै शैक्षिक गुणस्तर मापन गर्दछ । काँचो माटो जस्तै विद्यार्थीहरू वंशज गुण र सामाजिक वातावरणबाट शिक्षा प्राप्त गर्नमा प्रभावित हुन्छन् । यसर्थ विद्यार्थीका लागि शिक्षक र अभिभावक दुवै पक्षको सही मार्गदर्शन आवश्यक पर्छ ।

वर्तमानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जानु एक पक्ष मात्र दोषी नभई त्रिपक्षीय दोष देखिन्छ । शिक्षक भन्छ विद्यालयमा काम गर्ने वातावरण भएन, अभिभावक भन्छन् शिक्षकले राम्रो पढाएन, विद्यार्थी अनुशासनमा छैनन्, शिक्षाको महत्त्वलाई बुझ्न सकेका छैनन् । यसरी शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई, समाजले सरकारलाई दोषारोपण नभई सबै पक्षले सकारात्मक र समन्वयकारी भूमिका निर्वाह गर्न सके आज देशमा देखिएको चिन्ता, चासोको समस्यालाई हल गर्न सकिने देखिन्छ ।

तपाईको प्रतिक्रिया