शिक्षामा गुणस्तर के हो ?

काठमाडाैं

शिक्षामा गुणस्तरको कुरा गर्दा दुई तीनवटा कुराहरु आउँछन् । गुणस्तर भनेको के ? शिक्षकले के गर्न सकिन्छ ? र, भाषा कसरी जोड्ने ?

गुणस्तर भनेको शिक्षकले पढाएका केटाकेटीहरु काम लाग्यो भने त्यो गुणस्तर भयो, लागेन त्यो गुणस्तर भएन । शिक्षकले कुनै विद्यार्थीलाई दश कक्षासम्म पढायो, उसले राम्ररी पढ्न र लेख्ने जान्यो त्यो गुणस्तर भयो । शिक्षक गुणस्तरयुक्त भयो, विद्यार्थी पनि गुणस्तर भए । विद्यार्थीले राम्ररी पढ्न र लेख्न जानेन त्यो जतिको झुर शिक्षक कोही पनि होइन । शिक्षक गुणस्तरहीन भयो, विद्यार्थी पनि गुणस्तरहीन भए ।

गुणस्तरले खोजेको के रहेछ भन्दाखेरी विद्यार्थीलाई गरीखाना सक्ने बनाउने भन्ने रहेछ । त्यसैले पढ्न राम्रोसँग सक्यो, लेख्न राम्रोसँग सिक्यो र गरीखाना राम्रोसँग सक्यो भने त्यो गुणस्तर हो । अविभावकले खोजेको यति हो । शिक्षाको गुणस्तरलाई चारवटा बुँदाहरुमा हेर्दा र बुझ्दा राम्रो होला ।

पहिलो, शिक्षकले पढाएका विद्यार्थीका नम्बर ए प्लस आयो, त्यो गुणस्तर भयो । अब नम्बर कसरी बढाउने ? शिक्षकले नम्बर सोझौ थपिदिने ? होइन । विद्यार्थीले लेखेर ल्याउने ? हो । लेखेर ल्याउने हो भने विद्यार्थीलाई लेख्न सक्ने, पढ्न सक्ने त बनाउनु पर्यो । त्यो शिक्षकको काम हो ।

दोस्रो, विद्यार्थीले सिप जान्यो, त्यो गुणस्तर भयो जानेन गुणस्तर भएन । केटाकेटीहरुलाई सिप कसरी सिकाउने त ? सिप भनेको के ? सिकर्मी बन्ने ? कि डकर्मी बन्ने ? वा इन्जिनियरको सिप पो हो कि ? वा अरु नै केही टेक्निसियन ? वा बुद्धि बेचेर बाँच्ने ? वा अरु केही ?

हामीले मरी मरी टाउकोमा नाम्लो लाएर ढुङ्गा बोक्यौं । बुद्धि चलाउनेले डोजर बनाईदिए । ढुङ्गा त डोजरले बोक्दो रहेछ । नाम्लो लाएर टाउकामा ढुङ्गा बोक्ने विचरा हामी र डोजर बनाउने मान्छेको बुद्धि त फरक फरक हुँदोरहेछ । त्यसैले सिप भनेको पनि एउटै कुरा होइन रहेछ । कसैलाई बुद्धिको सिप चाँहिदो रहेछ, कसैलाई हातको सिप । कसैलाई अरु नै सिप चाहिएला । सिप पनि फरक फरक हुँदो रहेछ ।

अब विद्यालयले के सिप दिने ? कसरी दिने ? सबै विद्यार्थीलाई एउटै सिप सिकाउने कि फरक फरक भन्ने कुरा पनि आउँछ । कुनै विद्यार्थीलाई चित्रकलामा रुची होला, कुनैलाई कम्प्यूटरमा । अरुलाई अरु नै केहीमा झुकाव होला । सिप सिकाउँदा पनि कुन विद्यार्थीको कुन सिपप्रति झुकाव छ पहिले त्यो थाहा पाउनु पर्यो । अनि त्यसकै आधरमा उसलाई त्यो सिपसँग जोडि दिनु पर्यो । त्यो काम शिक्षकले गर्ने हो ।

अब सिप कसरी सिकाउने ? सिप सिकाउन स्रोत साधन (पैसा)को आवश्यकताको कुरा उठ्छ । त्यसका लागि पनि सजिलो उपाए छ । गाउँभरिका विभिन्न सिप जानेका मानिसहरुको सूची तयार गर्ने । उनीहरुबाट सिक्ने, सिकाउने । यो सहज र सजिलो उपाय हो । यसका लागि स्थानीय पाठ्यक्रम पनि तयार गर्न सकिन्छ ।

गुणस्तर भयो कि भएन भनेर थाहा पाउने तेस्रो बुँदा समय अनुसार विद्यार्थीले आर्जन गरेको शिक्षा काम लाग्यो कि लागेन भन्ने हो । काम लाग्यो त्यो गुणस्तर भयो, लागेन गुणस्तर भएन । गाउँले भाषामा भन्दा हाम्रा विद्यालयहरुबाट उत्पादित विद्यार्थीहरु ढोकामा पनि काम लाग्ने र डोकामा पनि काम लाग्ने हुनु पर्यो भनेको हो ।

हामी ग्रामीण परिवेशमा हुर्केका मान्छे, ढोकामा आग्लो लगाउँथ्यौं । पछि चुकुल आयो । अहिले त तालि बजाउँदा नै ढोका खुल्ने र बन्द हुने गर्छन् । पर्दा लाउन र उघार्न हातको सट्टा रिमोटको प्रयोग हुने थालेको छ ।

गुणस्तर हेर्ने चौथो बुँदा भनेको प्रविधिसँग जोड्ने कुरा हो । शिक्षालाई प्रविधिसँग जोड्न सकेन भने त्यसले काम गर्दोरहेनछ । त्यसले किन काम गर्दोरहेनछ भने हामीले पढाएको पाठ्यक्रम पचास वर्ष अघिको हो । त्यो केटाकेटीलाई पढाएर काम लाग्छ त ? लाग्दैन । अहिलेका केटाकेटीहरु प्रविधिसँगै जन्मन्छन्, हुर्कन्छन् । शिक्षकसँग व्यवहारीक ज्ञान छ । शिक्षकले त्यसलाई प्रविधिसँग लगेर जोड्नु पर्यो । अब शिक्षकले कम्प्यूटर जान्दिन भन्न पाइएन ।

यो शिक्षामा गुणस्तरका कुरा भए । शिक्षालाई गुणस्तरीय बनाउन कसरी पढाउने भन्ने कुरा दोस्रो हो । यससँगै भाषालाई कसरी जोड्ने भन्ने कुरा पनि आउँछ ।

भाषामा तीन चारवटा कुराहरु हुँदो रहेछ । मातृभाषा भनेको के ?, स्थानीय भाषा भनेको के ? र जातीय भाषा भनेको के ? भनेर बुझ्नु पर्दो रहेछ । आमाले बोल्ने भाषा मातृभाषा हो । जाति समुदायको अलग भाषा हुन्छ । त्यो जातीय भाषा हो । कुनै विद्यार्थी तामाङ हुँदैमा उसको मातृभाषा तामाङ नहुन सक्छ । स्थानीय भाषा भनेको निश्चित भूगोल वा स्थानमा जुन भाषाको बहुलता छ त्यो स्थानीय भाषा हो । एकजना तामाङ विद्यार्थी छ । उसको मातृभाषा नेपाली हो । उसलाई तिमी तामाङ हो तामाङ भाषामा पढ भन्यो भने उसले पढ्न सक्दैन । त्यो भन्दा गाह्रो अरु हुन सक्दैन ।

अब थाहा पाउनु पर्ने अर्को कुरा भनेको मातृभाषामा शिक्षा वा मातृभाषाको शिक्षा वा मातृभाषाको माध्यमबाट शिक्षा, के हो ? बुझ्नु आवश्यक छ । मातृभाषामा पढाउने भनेपछि त्यहाँ सम्भव छ जहाँ कुनै मातृभाषी समुदाय मात्र छ, शिक्षक पनि मातृभाषी नै छ । मातृभाषाको शिक्षा भाषा सिकाउने कुरा हो । मातृभाषाको माध्यममा शिक्षा भनेको भाषाको माध्यममा शिक्षा दिने भन्ने हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका