सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका निजि चिकित्सकले बताएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गरी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयुएच (नेसनल युनिभर्सिटी हस्पिटल) मा पुरा भएको बताएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित एनयुएचमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’ को सातौँ चरण पूरा गरी उनी स्वदेश फर्केका हुन् ।