दोरम्बा गाउँपालिकाको नवनिर्मित भवन प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उदघान गरेका छन् ।
गाउँपालिका केन्द्र टोकरपुरको थामचौरमा निर्मित प्रिफ्याक भवनको आज मन्त्री ढुंगेलले उदघाटन गरेका हुन् ।
नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री ढुंगेलले जिल्लामा विकास निर्माणको कामले गति लिएको बताए । उनले विकास निर्माणको काममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री ढुंगुलले भने, ‘अब मन्थली-गाल्वा-चौरीखोला जोडने सडक कालोपत्रे हुन्छ, यस वर्ष चार करोड रुपैयाँ अतिरिक्त बजेट विनियोजन गरेका छौं ।’
कार्यक्रममा उनले डडुवा-गाल्वा सडकलाई पनि कालोपत्रे गर्ने योजनाभित्र समावेश गरेको घोषणा गरे ।
१ करोड ७८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सभाहलसहितको प्रिफ्याक भवन एकीकृत सेवा प्रवाह गर्ने गरी निर्माण गरिएको पालिका अध्यक्ष कमानसिंह मोक्तानले बताए ।
भवन उद्घाटन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, सुनापती गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, नेकपाका नेताहरु आनन्द श्रेष्ठ, तुला प्रसाद कडेल, लव श्रेष्ठ, प्रकाश कुमार कार्की, नेकपा दोरम्बा गाउँपालिकाका प्रस्तावित अध्यक्ष हिरा श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ र वडा अध्यक्षहरुले मन्त्री ढुंगेलसहित अथितिहरुलाई स्वागत गरेका थिए ।