प्रजाति संज्ञानमा ‘परम्परागत आदिवासी ज्ञान’

काठमाडौं

पृष्ठभूमि

मानव सभ्यताको विकाससँगै भिन्न पर्यावरणमा भिन्न समयमा मानिसले बाँच्नका लागि सघर्ष गर्दै आए । तिनै संघर्षहरु कालन्तरमा जीवन जीउने आधारको रुपमा स्थापित भए । त्यसैलाई संस्कृतिको रुपमा मानिसले अघि बढाउँदै गए जुन भौतिक र अभौतिक दुवै स्वरुपमा अद्यपि पाउन सकिन्छ । तिनै संस्कृति मौलिक ज्ञानको भरपर्दाे स्रोत पनि हो । यसलाई परम्परागत ज्ञानको रुपमा बुझन सकिन्छ । त्यही ज्ञानको आधारलाई निश्चित समुदायले पर्यावरण र जीविकोपार्जनसँग पुस्तौंदेखि आजपर्यन्त सन्तुलन मिलाएर विकास र परिमार्जन गर्दै आएका छन् जो आदिवासी ज्ञान हुन् । यस्ता ज्ञानहरु विश्वभरि ३७ करोडभन्दा बढी जनसंख्यामा रहेका आदिवासीहरुसँग सम्बन्धित विभिन्न प्रथा र परम्पराका रुपमा अद्यपि अभ्यासमा रहेका छन् । यसैको फेरोमा नेपालमा रहेका आदिवासीहरुको परम्परागत ज्ञानको विषयलाई लिएर लेखक कुमार यात्रुले ‘परम्परागत आदिवासी ज्ञान’ नामक पुस्तक बजारमा ल्याएको छ । पुस्तक इन्डिजिनियस फाउण्डेशन नेपालले प्रकाशनमा ल्याएको हो ।

पुस्तकसार

पुस्तकमा जम्मा नौवटा अध्याय रहेका छन् । जसमध्ये अध्याय एकमा परम्परागत आदिवासी ज्ञान अभिलेखिकरण र परामर्स तथा सहभागिता मूल शीर्षकभित्र परम्परागत आदिवासी ज्ञानको महत्व, आदिवासी ज्ञान र अन्तराष्ट्रिय कानुन, विश्व बौद्धिक सम्पति संगठन, अन्तराष्ट्रिय श्रम संगठन महासन्धिको १६९ ले संरक्षण गरेका आदिवासीसम्बन्धी विविध प्रकारका अधिकारहरु (जो महासन्धिको विषयलाई कार्यान्वयनका लागि नेपालमा भएगरेका कानुनको मस्यौदाको विषय)लाई अघि सारेको छ । त्यस बाहेक भिन्न समयमा अन्तराष्ट्रिय सन्धि, अभिसन्धिमा उल्लेख भएका प्रथा, परम्परा र अभ्यासको विषयलाई पनि यस अध्यायमा समेटिएको छ । यसले आदिवासी ज्ञानको सन्र्दभमा नेपाललगायत विश्वमा भए गरेका कानुनी अधिकार र त्यसको संरक्षण र कानुनले प्रत्याभूत गरेका विषयलाई बुझन सकिन्छ ।

जैविक विविधता संरक्षण र वातावरणमैत्री आदिवासी ज्ञानलाई पुस्तकको दोस्रो अध्यायमा सम्बन्धित विविध जातिको परम्परा, प्रथा, सामुहिक प्रणालीको सन्दर्भमा राखेर चर्चा गरेका छन् । जस्तै शेर्पाको सिङ्गी नावा परम्परा, तमुहरुको क्रव परम्परा, मगर आदिवासीको सामुहिक प्रणाली भेजा, वन सम्पदामा निर्भर चेपाङका प्रचलन साथै तराई मधेशको जैविक विविधता संरक्षण गर्ने परम्परा आदि । सरुवा प्रणालीको पशुपालन र चरण क्षेत्र, आदिवासीको पानीजन्य अभ्यास, परम्परागत अर्थतन्त्र, स्वास्थ्य उपचारमा आदिवासी प्रचलन आदि जुन पुस्तौंदेखि अभ्यासमा आइरहेका छन् । यस प्रकारका परम्परागत आदिवासी ज्ञानलाई क्रमसः तीन, चार, पाँच र छ अध्यायमा विभिन्न आदिवासी जातिको सन्दर्भमा राखेर सविस्तार चर्चा र व्याख्या गरेका छन् । यस्ता परम्परागत आदिवासी ज्ञानले पर्यावरणीय सन्तुलन कायम राखि गुजरामुखी अर्थतन्त्र भएको आदिवासीहरुले कसरी प्राकृतिक स्रोतसँगको पहुँच र त्यसको उचित प्रयोग गरिरहेको छ ? त्यस बारे बुझन सघाएको छ । अध्याय सातमा संकट विरुद्ध तामाङ परम्परा र ज्ञान मुल शीर्षकमा रहेर तामाङ आदिवासीले जलवायु परिवर्तनको असर न्युनिकरण र अनुकूलनका लागि गरेको अभ्यास, तीनचेली बाली, घुम्ती बाली प्रणाली, आकासे पानी संकलन गर्ने जुक्ति, पानीको मुहान संरक्षण, वन तथा बनस्पतीको प्रयोग र यसको संरक्षण, परम्परागत उपचार र औषधिय ज्ञानको विषयलाई व्याख्या गरेका छन् ।

अध्याय आठमा परम्परागत कृषि प्रणाली र भूमिसम्बन्धी आदिवासी ज्ञान र अभ्यासलाई व्याख्या र विश्लेषण गरिएको छ । कृषि मानव जीवनको बाँच्ने आधार हो । कृषिको आधार भूमिसँग रहेको हुँदा कृषि र भूमि बिचको सम्बन्ध अन्योन्याश्रित रहन्छ । यद्यपि बढ्दो शहरीकरण, औधोगीकरण र विश्वव्यापीकरणले भूमिमाथिको स्वामीत्व आदिवासीबाट गुम्दै गएको छ । जसले गर्दा आफनो थाँतथलोबाट आदिवासीहरु पलायन हुने क्रम पनि बढ्दो छ । यसले आदिवासीहरुको परम्परागत भूमि माथिको आध्याात्मिक विश्वास त्यससँग जोडिएको मौलिक ज्ञानहरु हराउँदै गएका छन् । भएकाहरु पनि जोखिममा छन् । यद्यपि भूमि अधिकारसम्बन्धी अन्तराष्ट्रिय प्रदत्त कानुनले आदिवासी अधिकारको सुनिश्तिता गरेको छ । तर यसप्रति आदिवासी स्वयं बेखबर छन् । आधुनिक राज्यप्रणालीले विकास र संरक्षणको नाममा आदिवासीहरुको मूलथलो माथि अतिक्रमण तीव्र गरेको कारण आदिवासीहरु भूमिहीन हुन बाध्य मात्र छैनन् सँगसँगै परम्परागत मौलिक आदिवासी ज्ञान समेत धरापमा परेका छन् । यस विषयमा नेपालमा भए गरेका कामकारवाहीलाई उदाहरणसहित पुस्तकमा अघि सारिएको छ । यसले नेपालको आदिवासीहरु आदिवासीबाट कसरी आदिवासी जनजातिमा रुपान्तरण भएका छन् त्यसको दृष्टान्तलाई पुस्तकमा प्रस्तुत गरिएको छ । यसलाई लेखकीय पक्षबाट महत्वपूर्ण मान्न सकिन्छ । त्यसैगरी पुस्तकको अन्तिम नवौं अध्यायमा जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा आदिवासी ज्ञानको सन्दर्भलाई हेलम्बुको ह्युलठिम, शेर्पाहरुको नावा प्रथा, तामाङहरुको चोहो प्रणाली, नेवारहरुको गुथी परम्परा, चेपाङहरुको प्रकृतिमैत्री जीवनशैली तथा आदिवासीहरुको साझा ज्ञानसँग राखेर गरेको अध्ययनलाई अघि सारिएको छ । जसअनुसार माथि उल्लेखित आदिवासीहरुको परम्परागत ज्ञानले जलवायु परिवर्तन न्युनिकरण गर्न खेलेको भूमिकालाई सविस्तार चर्चा गरेका छन् ।

टिप्पणी/मूल्याङ्कन

नेपाल बहुसांस्कृतिक मुलुक हो । बहुसंस्कृतिभित्र थुप्रै आदिवासीको परम्परागत ज्ञानहरु पुस्तौंदेखि हस्तान्तरण हुँदै हालसम्म अभ्यासमा आइरहेको पाइन्छ । तिनै ज्ञानहरुको माध्यमबाट मानिसले पर्यावरणसँग समानजस्यता मिलाएर जीवनलाई अघि बढाउँदै आएका छन् । त्यसभित्र प्रथा, प्रथाजनित व्यवहार, परम्परा, भेषभूषा, भाषा, साहित्य, कला, सामाजिक मूल्य र मान्यता आदि सबै विषयहरु पर्दछन् । यी पक्षहरु कुनै न कुनै स्वरुपमा ज्ञानसँग सम्बन्धित रहेका हुन्छन् । त्यति मात्र होइन तिनै पक्षहरुले आदिवासीलाई अरु भन्दा भिन्न मौलिक ज्ञान र पहिचानको रुपमा स्थापित पनि गराएका छन् । यसै सन्दर्भमा नेपालमा रहेका थुप्रै आदिवासीसँग सम्बन्धित परम्परागत ज्ञान त्यसको उपयोगिता र प्रयोगलाई लिएर लेखक कुमार यात्रुले यो पुस्तकमा उतार्ने प्रयास गरेका छन् जुन निकै सह्रनीय छ किनभने समय अन्तरालमा यस्ता ज्ञानहरुलाई अभिलेखिकरण नगर्ने हो भने ती परम्परागत ज्ञानहरु आधुनिक ज्ञानको चेपमा यसै बिलाएर जाने संभावना रहन्छ । कतिपया ज्ञानहरु बसाइँसराइ, विवाह आदिवासीको किपटथलो माथि आधुनिक विकासको नाममा गरेको भूमि अतिक्रमण, प्रतिस्पर्धा, सांस्कृतिक अन्तरघुलन आदि कारणले लोप भइसकेका छन् भने कतिपया लोपन्मुख छन् । यसलाई समयमै अभिलेखिकरण गर्ने लेखकको यो प्रयास निकै प्रशंशनीय मान्न सकिन्छ ।

आदिवासी परम्परागत ज्ञान मूलतः जीवन गुजरामुखीसँग सम्बन्धित हुने गर्दछ । यसले कहिल्यै पनि आवश्यकभन्दा बढी उत्पादन तथा प्रयोगलाई जोड दिँदैन । यसले गर्ने उत्पादन सदैव पर्यावरण तथा वातावरणमैत्री हुने गर्दछ । यसरी उत्पादन गर्दा प्राकृतिक स्रोत र साधनमा निर्भर रहेपनि त्यसको सन्तुलन र त्यसलाई पर्न सक्ने प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने हरदम प्रयास गरेको हुन्छ ।

आदिवासी परम्परागत ज्ञान मूलतः जीवन गुजरामुखीसँग सम्बन्धित हुने गर्दछ । यसले कहिल्यै पनि आवश्यकभन्दा बढी उत्पादन तथा प्रयोगलाई जोड दिँदैन । यसले गर्ने उत्पादन सदैव पर्यावरण तथा वातावरणमैत्री हुने गर्दछ । यसरी उत्पादन गर्दा प्राकृतिक स्रोत र साधनमा निर्भर रहेपनि त्यसको सन्तुलन र त्यसलाई पर्न सक्ने प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने हरदम प्रयास गरेको हुन्छ । यो अर्थबाट परम्परागत आदिवासी ज्ञान सदैव वातावरणमैत्रीबाट निर्देशित रहन्छ । आदिवासीसँग सम्बन्धित सबैप्रकारको ज्ञानहरुको त्वातिक सम्बन्ध पर्यावरणसँग रहेको हुन्छ जुन आदिवासी ज्ञानको विशेषता पनि हो । तर, आधुनिकरणसँगै विश्वव्यापीकरणले प्रतिस्पर्धात्मक उत्पादनप्रणालीलाई जोड दिँदा प्राकृतिक स्रोत र साधनको एकतर्फी दोहनले जलवायु परिवर्तनमा देखिएको प्रतिकुल अवस्था विश्व समुदायको लागि चिन्ताको विषय बनेको छ । यस्तोमा परम्परागत आदिवासी ज्ञानको पर्यावरणसँगको मैत्रीवत ज्ञान महत्वपूर्ण हुने कुरालाई पुस्तकले उठाउन खोजिएको छ जुन निकै सामयिक छ । त्यसैगरी पुस्तकले आदिवासी परम्परागत ज्ञानको मात्र चर्चा गरेका छैनन् तत् सम्बन्धि सन्दर्भित अन्तराष्ट्रिय श्रम संगठन १६९ ले संरक्षित गरिएको विभिन्न प्रकारको सन्धि, अभिसन्धिका साथै त्यसको कार्यान्वयनको लागि नियम, विविनयम, घोषणापत्रलाई समेत पुस्तकको परिशिष्टमा उल्लेख गरिएकाले पुस्तक निकै जानकारीमुलक बनेको छ ।

पुस्तकको समष्टिगत पक्षलाई हेर्दा लेखकले मानवशास्त्रको मानव पर्यावरणीय दृष्टिकोणमा आधारित रहेर विश्लेषण गर्न खोजिएको देखिन्छ । जसअनुसार मानव पर्यावरण र सांस्कृतिक पर्यावरणका आयामहरुलाई पुस्तकमा सम्बन्धित आदिवासीको परम्परागत संज्ञानसँग जोडेर अघि सारिएको छ । जसले गर्दा नेपालमा रहेका निश्चीत आदिबासीको विविध प्रकारको परम्परागत ज्ञानलाई बुझन यो पुस्तक सहायक हुनेछ । अर्काे महत्वपूर्ण कुरा पुस्तक रिर्पोटिङमा क्रममा गरिएको अध्ययनमा आधारित रहकेकोले आदिवासी परम्परागत अभ्यासमा रहेका ज्ञानका बारेमा प्रशस्त जानकारी लिन सकिन्छ । यति हुँदाहुँदै पनि पुस्तकमा अटाएको आदिवासी परम्परागत ज्ञानहरुलाई मानवशास्त्रीय सैद्धान्तिक उपागमनको सन्दर्भमा राखेर विश्लेषण गर्न सकिएको छैन जसले गर्दा पुस्तक परम्परागत ज्ञानहरुको संकलनको स्वरुपमा मात्र अघि आएको छ । यदि आदिवासी परम्परागत ज्ञानलाई मानवशास्त्रको सैद्धान्तिक संरचनामा रहेर विश्लेषण गरिएको भए पुस्तकको ओजन अझ बढ्ने थियो किनभने पुस्तकमा उल्लेख भएका आदिवासी परम्परागत ज्ञानहरु सबै मानवशास्त्रीय पर्यावरणीय उपागमन तथा संज्ञानात्मक मानवशास्त्रसँग सम्बन्धित छन् जसले भाषा, संस्कृति र संज्ञान बिचको अन्तरसम्बन्धलाई विशेष जोड दिने गर्दछ । अर्को कुरा विषयहरु वर्णनका क्रममा दोहोरिएका पनि छन् । त्यसैगरी पुस्तकको अर्काे प्रकाशनमा भाषिक शुद्धताको साथै अनुसन्धानत्मक भाषा लेखनमा सुधार गर्ने मौका सुरक्षित देखिन्छ ।

निष्कर्ष

पुर्खाको परम्परागत ज्ञान र शीप आदिवासीको विरासत हो । तर, आधुनिक विश्वमा त्यस प्रकारको ज्ञानलाई जसरी ग्रहण गरी प्रयोग गर्नु पर्ने हो त्यसरी गर्न सकिरहेको छैन परिणामस्वरुप विविध प्रकारको वातावरणीय समस्याहरु बढिरहेका छन् । यस अर्थमा आदिवासी ज्ञानलाई सुक्ष्म रुपमा विश्लेषण गरी सुझबुझ तरिकाले आधुनिक विज्ञानसँग जोडेर प्रयोगमा ल्याउन सके समग्र विश्वमा दीगो विकासको आयामलाई फराकिलो पार्न सकिन्छ । यसको लागि प्रस्तुत पुस्तक सहायक हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

तपाईको प्रतिक्रिया