केही वर्ष अगाडि नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई हङकङ हुँदै चीनको विभिन्न क्षेत्रको भ्रमणको तरखरमा थिए । उनलाई हङकङ विमानस्थलमा रोकेर जाँचबुँचमा राखियो । दुई घण्टा जति सोधपुछ पछि बल्ल उनलाई जान दिइयो । भ्रमण सकेर फर्केपछि उनले आफ्नो चीन भ्रमण बारे प्रष्ट्याउँने क्रममा आफ्नो राहदानीलाई विदेशमा त्यति महत्व नदिएको बताए । थप उनले यो पनि बताए कि पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिलाई समेत त्यस्तो व्यवहार गर्दा रहेछन् । सोही क्रममा उनले देशलाई नचिन्ने र देशको महत्वबारे प्रकाश पार्दै व्यक्ति जति नै धनी र सफल भएपनि देश धनी र सफल नभएसम्म विदेशमा त्यो देशका नागरिकको सम्मान नहुने अनुभव व्यक्त गरे । प्रधानमन्त्री भएको व्यक्तिलाई यस्तो गर्दो रहेछ, अन्तर्राष्ट्रिय विमानस्थलमा भने सर्वसाधारणको त के कुरा ! यदि अमेरिका, चीन र भारत, सिगांपुर, कतारजस्ता मुलुकका प्रधानमन्त्री भए यस्तो घट्ना हुन्थे होला ? पक्कै हुँदैन थिए ।
यो प्रसङ्गलाई नेपालका तामाङ जातिसित तुलना गर्न सकिन्छ । नेपालमा यस जातिका थुप्रै मानिसहरु सफल भए, माथिल्लो ओहोदामा पनि पुगेका छन् । थुप्रै अरबपति तामाङहरु अहिले पनि छन् । राजनीतिमा निर्मल लामा, भीमबहादुर तामाङ, सङ्गीतमा गोपाल योन्जन, अरुणा लामा, साहित्यमा पारिजात, प्रहरीमा पहलसिंह लामा, डिबी लामा, श्यामकुमार तामाङ, विकास, कूटनीति र प्राज्ञिक क्षेत्रमा महेन्द्र पी. लामा, कुलमान घिसिङ, डा.प्रह्लाद योन्जन, जापानका लागि नेपालको पूर्व राजदूत डा. गणेश योन्जन र डा. मुक्तसिंह लामा, प्रथम तामाङ सचिव धनबहादुर तामाङजस्ता व्यक्तिहरु आफ्ना व्यक्तिगत अनि पेशागत तथा व्यवसायिक जीवनमा सफल व्यक्तिहरु हुन् । यी व्यक्ति व्यक्तित्वहरु जो जो आफ्ना वैयक्तिक र सार्वजनिक जीवनमा सफल भएपनि तामाङ जातिलाई अझै पनि नेपाली राज्यले अपहेलित र हेय दृष्टिकोणले नै हेर्ने गरेको पाइन्छ । सामूहिक अस्तित्व वा पहिचान र सम्मानका सन्दर्भमा यस जातिलाई नेपालभित्रै हेला र भेदभाव गरिदै आएको छ । बाबुराम भट्टराईका अनुभव र अनुभूति यस जातिको हकमा देशभित्र मेल खान्छ । त्यसैले सामूहिक उन्नति, सामूहिक विकास, सामूहिक सम्पति र गौरव निर्माण नभएसम्म यस जातिलाई यहाँ सम्मानजनक आँखाले हेरिदैन र व्यवहार गरिदैन । व्यक्ति जति नै शक्तिशाली, धनी र बलियो भएपनि सामूहिक विकास नहुँदासम्म हामीलाई अरु शासक जाति र राज्यले हेर्ने नजरिया परिवर्तन हुने वाला छैन । त्यसैले तामाङ जातिका सामूहिक गौरव र विकास कसरी गर्नु पर्छ ? के के गरिनु पर्दछ ? यस्ता विषयहरुमा विमर्श हुन आवश्यक छ ।
तामाङ पुस्तकालय
पुस्तकालय ज्ञानको केन्द्र हो । अहिलेको जमानामा ज्ञानविना केही गर्न न त देशले, जातिले र व्यक्तिले गर्न सक्छन् । पुस्तकालय ज्ञानको संग्रह गर्ने स्थल हो । आफ्नो पुर्खौली र आदिवासी ज्ञानलाई संरक्षण गर्न पुस्तकालय आवश्यक छ । पुस्तकालय ज्ञानको संग्रह र संरक्षण गर्ने मात्रै नभएर ज्ञान उत्पादन थलोको रुपमा विकास हुन जरुरी छ । बल्ल अहिलेको समयको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न सक्ने छ । अहिले बौद्धमा केही तामाङ संघसंख्थाहरु र विद्धत अगुवाहरुले विश्वकै प्रथम तामाङ पुस्तकालय स्थापना गरेको छ । गत मंसिर २४ गत मात्रै यसको विधिवत उद्घाटन भएको हो । अब यसरी नै गाउँ गाउँमा यस्ता पुस्तकालयहरु निर्माण हुन आवश्यक छ । विश्वका जुनसुकै कुनामा बसेका तामाङहरुले आफ्नो ठाउँमा यस्ता कार्य गर्न जरुरी छ ।
तामाङ संग्रहालय
अहिलेसम्म नेपाल र अन्य कतै पनि तामाङ संग्रहालय बनेको छैन । आफ्नो जातिको सबै महत्वपूर्ण संस्कृति, सामग्रीहरु र अन्य वस्तुहरु संग्रहालयमा राख्नु पर्छ । संग्रहालयले इतिहास र वर्तमान बारे गहन ज्ञान दिन्छ । सँगैसँगै भविष्यको लागि मार्गदर्शन पनि गर्न सक्छ । त्यसैले तामाङ संग्रहालय बनाउन अत्यन्त जरुरी छ । यसतर्फ ठोस कदम चाल्नु पर्ने ऐतिहासिक दायित्व छ । संग्रहालय देशभित्र र बाहिरका तामाङ, गैरतामाङ र विदेशीका लागि राम्रो गन्तव्य बन्न सक्छ ।
विश्वविद्यालयमा तामाङ अध्ययन
नेपाललगायत विश्वका कुनै विश्वविद्यालयमा तामाङ अध्ययनको उच्चशिक्षाको कार्यक्रम सञ्चालन हुन जरुरी छ । विश्वविद्यालयमा हुने यस्ता अध्ययनले स्वजातीय गरिमा र महत्वलाई स्थापित गरिदिन्छ । ज्ञानको अध्ययन र उत्पादनमा यसले ठोस योगदान गर्नेछ । विश्वभरिका अध्येता, अनुसन्धाता र यसबारे चासो हुनेलाई यसले आकर्षण गर्नेछ । यसले भविष्यको लागि वौद्धिक सम्पति र ज्ञानमार्ग तयार गर्नेछ ।
सरकारी कामकाजमा भाषा
भर्खरै भाषा आयोगले नेपाल सरकारलाई सात प्रदेशका लागि ११ वटा भाषाहरु सरकारी कामकाजको लागि सिफारिस गरेको छ । बागमति प्रदेशमा तामाङ भाषा अग्रस्थानमा सिफारिस भएको छ । यसले समग्रमा यो भाषाको गौरव र सम्मानको आधार तयार गरिने छ । हिजोका दिनमा ‘गाईखाने’ भाषा भन्दै अपमानित गरेको यो भाषाको माङ्गेना हुनेछ । भाषा आयोगले स्थानीय निकायमा सरकारी कामकाजको भाषाको लागि दशवटा मापदण्डहरु तय गरेको छ । जहाँ जहाँ ती मापदण्डहरु परिपूर्ति हुनछन् । त्यहाँ सरकारी कामकाजको भाषा बनाउन तामाङ अगुवाहरुले भूमिका खेल्न आवश्यक छ ।
शिक्षामा प्रगति
शिक्षा नै यस्तो कसी हो जसले माथिका सबै क्षेत्रहरुलाई नेतृत्व गर्न दृष्टिकोण र सक्षमता प्रदान गर्छ । जीवनका सबै प्रकारका उन्नति र प्रगतिलाई शिक्षाले निर्धारण गर्दछ । त्यसैले तामाङ जातिले शिक्षामा लगानी गर्न आवश्यक छ । उत्कृष्ट जनशक्ति उत्पादन गरेर देशभित्र र बाहिर विभिन्न क्षेत्रमा आपूर्ति गर्न जरुरी छ । धन हुनेले पढ्न चाहनेहरुलाई आर्थिक सहयोग र छात्रवृत्ति उपलब्ध गराउनु पर्छ तब मात्र समाजको सामूहिक ऐक्यबद्धता निर्माण गर्न मदत पुग्छ । त्यसका लागि शैक्षिक कोषहरु स्थापना गरेर आफ्ना समाजको प्रतिभावान बालबालिका र युवाहरुलाई योग्य व्यक्ति बनाउन पर्छ ।
राजनीतिमा हस्तक्षेपकारी भूमिका
राजनीति सबै नीतिहरुलाई नेतृत्व गर्ने नीति भएकोले यसमा अनिवार्य सहभागिता र उपस्थिति हुन जरुरी छ । सीमान्कृत मुद्दाहरुलाई उठान गरेर राजनीतिमा स्थापित गराउन हस्तक्षेपकारी भूमिका जरुरी हुन्छ । त्यसका लागि राजनीतिक नेतृत्व र जनशक्ति उत्पादन गर्नु पर्छ । नेतृत्वदायी भूमिका निभाउन सक्नेलाई सबैले आ-आफ्नो कोणबाट सहयोग गर्न जरुरी छ । राजनीतिमा प्रतिभाशाली युवाहरुलाई दृष्टिकोणसहित प्रवेश गराउनु पर्छ ।
प्रशासनमा प्रवेश
राजनीतिलगायत अन्य क्षेत्रमा मात्रै उपस्थिति र भूमिकाले पर्याप्त काम गर्दैन । त्यसको लागि ठूलो संख्यामा निजामति कर्मचारी र प्रशासनमा युवाहरुलाई सशक्त बनाएर प्रवेश गराउन आवश्यक छ । लोकसेवा आयोगका तयारीका तालिमहरु प्रदान गरेर नयाँ पुस्तालाई त्यहाँ छिर्न प्रोत्साहन गर्ने नीति बनाएर अगाडि बढ्न जरुरी छ । प्रशसानमा राम्रो उपस्थिति भयो भने त्यसले दीर्घकालसम्म काम गर्नेछ ।
व्यापार व्यवसायमा पकड
एकथरि मानिसहरु देशभित्र र बाहिर व्यापार र व्यवसाय गर्न आवश्यक छ । त्यसको लागि पुँजी व्यवस्थापनमा सामूहिक प्रयत्न गर्ने र व्यापारका नयाँ नयाँ सम्भावित क्षेत्रहरुमा लगानी गरेर कम्पनीहरु सञ्चालन गर्न पर्दछ । त्यसका लागि स्वदेशी र विदेशी पुँजी जुटाएर काम गर्न सकिन्छ । यसमा नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषदजस्ता संस्थाहरुले सञ्जाल निर्माण गर्न सकिन्छ । तिनलाई आपसमा जोडेर ठूला ठूला परियोजना र कम्पनीहरु चलाउन सकिन्छ । व्यापार व्यवसाय अर्थतन्त्रका मेरुदण्ड भएकोले यसमा प्रवेश नगरी केही गर्न सकिदैन ।
पत्रकारिता र सञ्चारमा प्रवेश
वर्तमान विश्वमा आमसञ्चारको भूमिका विना केही गर्नै सक्दैन । एक हुल युवा जमात यतातिर अग्रसर हुन जरुरी छ । पत्रकारिता र आमसञ्चारले विचार र नीति निर्माणमा महत्वपूर्ण हस्तक्षेपकारी भूमिका निर्वाह आवश्यक हुन्छ । मुलुक सञ्चालन, शासन र प्रशासन, राजनीतिमा यसको भूमिका प्रत्यक्ष हुने भएकोले यो क्षेत्रमा पनि प्रतिभाशाली व्यक्तिहरु प्रवेश गर्न आवश्यक छ ।
अन्य क्षेत्रहरु
थुप्रै नवीन सम्भावना बोकेका क्षेत्रहरुमा तामाङहरुले कुशल काम गर्न आवश्यक छ । समाज र राज्यका सबै क्षेत्रहरुमा आफ्नो जबरजस्त उपस्थिति र भूमिका वृद्धि गरेर मात्रै यस जातिले आफ्नो गौरवको निर्माण गर्न सकिन्छ । त्यस्ता सम्भावना बोकेका क्षेत्रहरुमा नव युवाहरुलाई अग्रसर बनाउनै पर्छ । तिनीहरुलाई त्यस क्षेत्रमा जान प्रोत्साहन र हौसला बढाउन सके ऐतिहासिक कार्य हुनेछ । विभिन्न ढङ्गले तिनलाई सहयोग जरुरी हुन्छ ।
चुरो कुरा
माथि उल्लेख गरेका विभिन्न तामाङ गौरव निर्माणका क्षेत्रहरुमा धिमाधिमा गतिमा भए पनि कामहरु हुँदैछन् । तर जति संस्थागत, योजनाबद्ध र सामूहिक तवरले हुनु पथ्र्यो, त्यो अझै हुन सकेको छैन । यो समाजलाई अगाडि बढाउन राजनीतिकर्मी-वौद्धिक तप्का-प्रशासक-व्यवसायी/उद्योगपतिबीचमा बलियो एकता र सहकार्य चाहिन्छ । त्यसका लागि प्रभावकारी पहलकदमी गर्ने समूह र संस्था चाहिन्छ । हामीसित विद्यमान संस्थाहरुले यसको लागि काम गरेको देखिदैन । ती संस्थाहरु निम्छरो भूमिकामा छन् । व्यक्ति र संस्थाहरुका क्षमतामा वृद्धि गराउनु पर्ने देखिन्छ । व्यक्ति मात्रै धनी, सफल, शक्तिशाली भएर मात्रै समूहको प्रतिष्ठा कायम नहुँदो रहेछ भन्ने पाठ बाबुराम भट्टराईका भोगाइले पुष्टि गरिसक्यो । त्यसैले आउनुहोस् सामूहिक पुँजी, प्रगति र प्रतिष्ठा हासिल गर्न आजैदेखि काम गरौँ । अन्यथा, हेपिनु र चेपिनुको विकल्प छैन ।