दावाफिन्जो : गोठाले जीवन अनुभूति

काठमाडौं

चौँरीगोठमा जन्मनुभएको दावाफिन्जोले गोठमा नै पहिलो पटक आफ्ना जन्मदाताका माया र स्नेह पाउनुभएको हो । ती स्नेही र मायालु सुमसुम्याइमा गोठाले सुवास थियो । चौँरीका दूध अनि घिउको बासना थियो । सबैभन्दा पहिले केही आफन्त र तिनका आवाजभन्दा बढी त चौँरीका आवाज सुन्नुभयो । मान्छेसँगै चौँरीलाई देख्नु र चिन्नुभयो । जन्मले नै चौँरी गोठालो हुनुभयो ।

उहाँको दिमागले गोठ र गोठाले अनुभूतिबाटै सङ्ग्रह कार्य थालनी गरेको हो । जहाँ हीनता थिएन । बरू प्राकृतिक जीवन थियो । कृतिमताको लेससम्म थिएन । त्यसैले गर्व गर्न लायक अनुभूतिको शुरुवात थियो । हिँड्न सक्ने हुनुभएपछि भेडा धपाउन सिक्नुभयो । हजूरबुवासँगै भेडीगोठ र खर्कहरु धाउनुभयो । हजूरबुवाको पछि-पछि लाग्नुभयो । हजूरबुवाको कपडाको फेर समातेर भेडालाई आवाज दिनुभयो । तोतेबोलीमा हजूरबुवासँग अनेक जिज्ञासा राख्नुभयो । भेडाको बथानसँगै हुर्कँदै आउनुभयो ।

हजूरबुवाको देहवसानपछि केही समयसम्म भेडीगोठ नै गोठालोको भरमा पुगेको थियो । हजूरबुवाले एउटा बोकालाई बोकाएर लगेको पैसा चाहिँ गोठमै एउटा डेलीमा राख्नुभएको थियो । त्यहाँ कति पैसाको थियो भन्ने याद पनि भएन । त्यो कुरा पछि मात्रै बुवाआमालाई याद आएछ । खोज्न पुग्दा पैसा भेटिएन । गोठालाले गायब पारिसकेछ । त्यसपछि ऊन काट्ने क्रममा बुवाले भेडा गन्न अह्राउनुभयो । दश वटा भेँडा पनि रहेनछन् । बुवाले ती गोठालालाई बेइमान भनेर निकालेर अर्को गोठाला राख्नुभयो ।

अन्ततः बुवा आफैँले भेडीगोठ सम्हाल्ने प्रयास गर्नु भयो तर भेडालाई चिन्न सक्नु भएन । सानै भएपनि बरू दावाफिन्जोले भेडालाई चिन्नु हुन्थ्यो । भेडाले पनि उहाँलाई चिन्थे । केही सीप नचलेपछि बुवाले उहाँलाई नै भेडीगोठमा राख्नुभयो । फेरि पनि भेडाको बथानसँगै पुग्नुभयो । गोठाले अनुभूतिका पानाहरु अरु थप्दै अघि बढ्नुभयो ।

त्यसबेला जुत्ता चप्पल भन्ने नै थिएन । तुषारो वा हिँउमा पनि खाली गोडा नै हिँड्नु पर्थ्याे । राती बिछ्यौना पनि खासै राम्रो हुँदैनथ्यो । गाउँभन्दा तल पुगेको बेला डुङल्हप्ते (अलैँचीको बोटजस्तो हुनेको पात) वा सुख्खा पत्कर बिछ्याएर निदाउनु पथ्र्यो । अलिक माथि जङ्गलमा पुगेपछि भने कल्ता (एक प्रजातिको रूख)को पात बिछ्याउनु पथ्र्यो । अझैमाथि पुगेपछि धुपीको सेउलामाथि चौँरी, गाई गोरू वा भेडाका छालामा निदाउन सक्नु पर्थ्याे ।

बाल्यकालमा दावाफिञ्जाले मासु र दही दूध साह्रै मन पराउनु हुन्थ्यो । मासु पनि झारल घोरल अनि डाँफेका सबैभन्दा मिठो लाग्यो । घोरलको मासु खाएर अर्काको निमेख (काम, अर्मपर्म)मा नजानु भन्थे किनकी घोरलको मासु खाएको दिन बल पनि धेरै आउँछ भन्ने विश्वास थियो । घरमा खानको लागि अन्नपानीको कमि थिएन तर गोठमा रहेको बेला चाहिँ कहिले कहीँ समयमा पिठो पुर्‍याउन नसक्नु सामान्य हुन्थ्यो ।

त्यस्तो अवस्थामा एक दुई छाकसम्म पनि दूध दहीले छाक टार्नु पर्थ्याे । दहीमा सेर (दर्प अर्थात् मोही पकाएको) मिसाएर खाँदा चाहिँ अलिक दर बस्थ्यो । दूध मात्रै पिउँदा चाहिँ खासै खाना खाएको जस्तो हुँदैनथ्यो । उहाँ सानो छँदासम्म पनि रसुवाका तामाङले दूध बेच्दैनथे । उनीहरु दूधलाई महादेवको फूल मान्थे । यदि कसैले बेचेछन् भने पाप लाग्छ भन्थे । बरू कसैले मागेछन् भने सित्तैमा दिन्थे ।

दावाफिन्जोको भेडासँगै गाई गोरू र चौंरीका गरी पाँच गोठ थिए । भेडा र चौँरीलाई फरक-फरक राख्नु पर्थ्याे । चौँरीले भेट्दा भेँडालाई हानेर मार्न पनि सक्थे । कहिले-कहिले चौँरी र भेडा सँगै नहुने पनि होइन । नौ वर्षको हुँदा नै हजूरबुवाको देहावसानपछि भेडा गोठालो बन्नुभएको दावाफिन्जो किशोरावस्थासँगै चौँरी गोठालोमा परिणत हुनुभएको हो । भेडा गोठबाट हजूरआमाले चौँरी गोठमा प्रवेश गराउनुभएको थियो । उहाँले नै चौँरीको दूध दुहुन सिकाउनुभएको थियो ।

चौँरी गोठमा बस्न थाल्नुको अर्थ भेँडापालन छोडेकै चाहिँ थिएन । वि.सं. २०६५ साल असार १ गतेसम्म पनि उहाँलाई लाङटाङ राष्ट्रिय निकुञ्जले असारदेखि भदौसम्म गरी जम्मा तीन महिनासम्म लाङशिसास्थित खर्कमा भेडा राख्न स्वीकृ दिएको पत्र छन् । अहिले भेडा र चौँरी दुवै पाल्न छोडिसक्नुभएको छ । नछोडेर पनि के गर्नु ? यो उमेर भैसकेको छ । जीवनसङ्गिनी उहाँभन्दा अझै बढी कमजोर हुनुभएको छ । छोरीहरु विवाह गरेर पराइघरमा पुगिसकेका छन् । छोराहरु आ-आफ्ना पेशामा छन् । नाति, नातिनाहरुलाई भेँडा तथा चौँरीपालन पेशामा आवद्ध गराइराख्न सकिने परिस्थिति पनि छैन । उहाँ आफैँ भने जिल्ला पञ्चायतको सभापति हुँदासम्म पनि गोठाले नै हुनुहुन्थ्यो । अलिकति समय मिल्नासाथ गोठमा नपुगी धरै पाउनु हुन्नथ्यो । उहाँले किशोरावस्थामा सङ्गाल्नुभएको गोठाले जीवनका केही पाटाहरु यसप्रकार देखिन्छ ।
त्यसबखत मौसम राम्रो हुँदा घाँस पनि प्रशस्तै पाइन्थे । नयाँ खर्क मा सरेको बेला साह्रै आनन्द हुन्थ्यो । पानी वा हिउँ पर्दाखेरि भने गाह्रो पर्थ्याे । चैत र बैशाखमा चाहिँ खूब दुःख हुन्थ्यो । त्यतिखेर बारीतिर पनि घाँस सकिन्थ्यो । माथिसम्म जाँदा पनि नयाँ घाँस पलाएका हुँदैनथे । डालेघाँस झार्नु पर्थ्याे । डालेघाँसमा बेना (खर्सु), बेफ्कर (बाँच), सुल्सिङ र ततुक्पा (एक प्रजातिको काँडादार घाँस) लगायत पाइन्थे । गोठ पनि सारिरहनुपर्थ्याे । तैपनि, गोठको विकल्प थिएन । उहाँको गोठ ठूलो थियो । त्यसैले गाउँका धनीमा गनिनुभएको थियो । त्यही भएर किशोरावस्थामा प्रवेशसँगै अन्यले भन्दा बढी नै दायित्वबोध गर्नु परेको थियो । तिनै समयमा सङ्गालिएका वकेही घटनाहरु यसप्रकार छन् ।
थप–स्योपले निम्त्याएको बितण्डा

गोसाईंवकु क्षेत्र, बेर्गस्हङसिङ (लौरीबिना) र च्योलङपाटीका खर्कतिर ‘थप-स्ह्योप’ गर्नु वा पार्नु हुन्न भन्ने मान्यता रहेको छ । भेडा बाख्राका भुत्ला र हड्डी आदि जलाउँदा वा पोल्दा आइपर्ने खराब असरलाई यहाँको भाषामा ‘थप-स्योप’ भनेका हुन् । दावाफिन्जो सुनाउनुहुन्छ, एकपटक बाख्रा मरेछ । शेर्पा केटा र एकजना बुढासँग मिलेर त्यो बाख्रा भुत्ल्याउनुभयो । बुढोमान्छेले त जलाउनु वा पोल्नु हुँदैन भनेर सचेत गराउँदै थियो । ‘‘हुन्छ’’ भनेर पानी तताएर खुइल्याएका पनि हुन् । सिङको फेद र खुरको चेपका भुत्ला गएन । त्यतिखेर भने धूप बालेर पोलेका थिए । मासु पकाएर पनि खाएपछि करिब दश पन्ध्र मिनेटभित्रै भयङ्कर आँधीहुरी आयो । गोठको छाना भकारीको थियो । त्यस्तो आँधीहुरी थेग्ने कुरै थिएन । छाना त उडाएर कता पो पुर्‍याइदियो ।

छाना नै उडाएपछि ज्यान जोगाउनकै निमित्त ओत खोज्न विवश हुनुभयो । धन्न छेउमा एउटा ओडार थियो । बाख्राहरु पनि ओडारमै पुगे । दुई रात बाख्रासँगै त्यही ओडारमा सुत्नुभयो । गोसाईंकुण्ड क्षेत्रलाई अति पवित्र मान्छन् । त्यहाँ जथाभावी गर्नु हुँदैन । सानो गल्तीकैकारण पनि ‘थप–स्योप’ हुन सक्छ । एकपटक भैरवकुण्ड छेउमा गोठ पुर्‍याएका थिए । त्यहाँ पनि अर्को साथीले बाख्राका खुट्टा पोलेछन् । त्यतिखेर पनि खेप्नसम्म सास्ती खेप्नुभएको सुनाउनुहुन्छ । अहिलेका मान्छेहरु यस्ता कुरामा विश्वास गर्दैनन् । तथापि उहाँको लागि भने आफैँले भोग्नुभएको यथार्थ हो ।

चकमकको युग

उहाँ किशोरावस्थाको हुँदासम्म पनि अहिलेको जस्तो सलाई वा लाइटर भन्ने थिएन । दर्सनढुङ्गामा चकमक घोटेर आगो निकाल्नु पथ्र्यो । त्यसरी निकालिएका झिल्कालाई प्रबा(एक प्रकारको झूलाे)मा सल्काएपछि बल्ल आगो बाल्न सकिन्थ्यो । आगो पार्ने त्यो भन्दा बाहेक अरु उपाय थिएन । कहिले त आगो पार्न निकै हैरानी खेप्नु पथ्र्यो । त्यसबेला मट्टितेल पनि थिएन । धेरैपछि मात्रै मट्टितेल आएको हो । त्यो किन्न पनि त्रिशुलीबजारसम्म पुग्नु पर्थ्याे । मट्टितेल आउनुभन्दा अघिसम्म सिठा र दियालो बाल्ने चलन थियो ।

त्यो जमानाको अर्को पेशा भनेको शिकार पनि थियो । हिउँदभरि शिकारमा जुटेका हुन्थे । अहिलेको जस्तो कुनै कानूनी बन्देज पनि थिएन । जाल, तीर तथा बन्दुक लिएर शिकारमा निस्कन्थे । डाँफे र मुनाल समातेर काठमाडौंसम्म पुर्‍याउँथे । युवावस्थामा प्रवेश गरेसँगै दावाफिन्जोले पनि शिकार गर्न सिक्नुभयो । त्यसक्रममा जस्तै भीर पनि उहाँको लागि सामान्य ठहरिन्थे । भीरका अग्ला रूख पनि सहजै चढ्नु हुन्थ्यो । यतिखेर भने उहिले आफैँ कुदेको भीरमा पुग्दा डराउनुहुन्छ । अरुलाई पनि छेउमा नजाऊ भन्नुहुन्छ ।

उहिले हामीले यो र त्यो भीरमा शिकार गरेको भनेर सुनाउनुहुन्छ । नयाँपुस्ताले भने विश्वास गर्दैनन् । तात्कालिक कुरा पत्याउन र आपसमा गफिन त्यही जमानाका साथीसङ्गी चाहिने रहेछन् । अब त साथीसङ्गीहरु पनि अति थोरै छन् । धन्न छिमेकमा एकजना भतिजो छ । माथि एकजना अर्को दौँतरी पनि छ । बस तीनजनाको कुरा मिल्छ तर नयाँपुस्ता भने उहाँहरुका कुरा सुनेर मुखामुख हेर्छन् । होइन होला मात्रै भन्छन् । उहाँ यस्तै सुनाउनुहुन्छ । युवावस्थाको कुरा अहिले पनि आँखाअघि देख्न खोज्नुहुन्छ ।

भेडा र चौँरीका मूल्य

उहाँ किशोर हुँदासम्म भेडाको मूल्य २०, २५ रूपैयाँसम्म मात्रै थियो । हजूरआमाले चौँरी त १३० रूपैयाँसम्ममा बिक्री गर्नु भएको सम्झनुहुन्छ । अहिले त भाले (कुखुरा)कै ३५ सय ४ हजार पर्छ । चौँरीको त ५० देखि ८० हजारसम्म पर्छ । पहिले त चौँरी र गाईको छाला पनि तिब्बतमा बिक्री हुन्थ्यो । कतिले नूनसँग साट्थे । एउटा चौँरीको छाला बराबर नेपाली छ पाथी नून आउँथ्यो । तिब्बती पाथी चाहिँ नेपालीभन्दा ठूलो हुन्थ्यो । त्यहाँ १० मानाको एक पाथी हुन्थ्यो । यता आठ माना भएपछि पाथी मान्थे ।

पछिल्लो समयमा छालासमेत मासुसँगै खान थाले । त्यसैले छालाको उत्पादनमा कमि आएको छ । त्यतिखेर तिब्बत व्यापारमा जान आउन सात दिन लाग्थ्यो । अब त जग्गाजमीनको किनबेच पनि एक किसिमले बन्द जस्तै भएको छ । प्रायः जग्गा जमीनहरु बाँझै परेका छन् । धुङरी (स्याफ्रुबेशी) र सेदङ (टिमुरे)तिर चाहिँ जग्गा किनबेच ठप्प भइसकेका छन् । सडकछेउका प्रायः जग्गाहरु विस्तारको क्रममा अतिक्रमित हुने छन् । त्यसैले ३०-३० मीटरभित्रका जग्गाहरु किनबेच गर्न रोक लगाइसकेका छन् ।

हुन त रसुवामा रोड पुर्‍याउने काम उहाँ आफैँले थाल्नुभएको हो । अनेक समस्यासँगै लडेर राजनीतिमा स्थापित पनि हुनुभयो । यद्यपि, अहिले पनि गोठाले जीवनका ती भोगाइहरु सम्झनाको गर्भबाट छालसरि उर्लिरहन्छन् । कुनै दिनको गोठालो नै जिल्ला पञ्चायतको सभापति हुनुभएको हो । सभापति हुँदा पनि थोरै फुर्सद मिल्नासाथ गोठमा पुग्नुपर्ने विवशता थियो । राजनीतिमा रसुवाबाट उहाँभन्दा अघिल्लो व्यक्तिको रुपमा लयुल तामाङ परिचित भएको देखिन्छ । उहाँ लयुलभन्दा अघि जानुपर्ने थियो तर आमाले नै ‘गोठालो बस्ने मान्छे हुँदैन’ भनेर रोक्नुभएको बताउनुहुन्छ । बाध्यतावश लयुल तामाङलाई अघि बढाउनुभयो ।

(ताम्सालिङ नलेज सेन्टरद्वारा प्रकाशित साथै पुस ७ गते शनिबार विमोचित ‘दावाफिन्जो तामाङ भेँडीगोठालोदेखि राष्ट्रिय पञ्चायतसम्म’बाट)

तपाईको प्रतिक्रिया