सिन्धुपाल्चोक पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका ८८ हजार २ सय ७३ घरधुरीहरु सबैमा शौचालयहरु निर्माण भई प्रयोगमा आएपछि शुक्रबार एक कार्यक्रम गरी खुला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको घोषणा सभामा बोल्दै खानेपानी मन्त्री बिना मगरले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने तयारी भैरहेको बताइन् ।
सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणा भएका जिल्लाहरुमध्ये ६८ औं स्थानमा परेको छ ।
सिन्धुपाल्चोक जिल्लालाई खुला दिसामुक्त जस्तै खानेपानी समस्यामुक्त जिल्ला बनाउनुपर्ने संघीय सासद एवं पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले माग गरे ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा १४ हजार १ घरधुरी, बाह्रबिसे नगरपालिकामा ७ हजार ९ सय ९६, मेलम्ची नगरपालिकामा १३ हजार ४ सय २१ घरधुरी रहेका छन् ।
यसैगरी बलेफीमा ६ हजार ५४, पाँचपोखरीथाङपालमा ७ हजार ३ सय ५९, त्रिपुरासुन्दरीमा ५ हजार ३ सय ७६, इन्द्रावतीमा ८ हजार ९, लिसंखुपाखरमा ५ हजार ३ सय ७६, भोटेकोशीमा ४ हजार २ सय २६, सुनकोशीमा ५ हजार ७ सय ४९, जुगलमा ५ हजार ६ सय ६६ र हेलम्बु गाउँपालिकामा ५ हजार ४ सय २२ घरधुरीहरु रहेका छन् ।