‘खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’

प्रकाश पाक्साँवा संचारकर्मी
तेह्रथुम

नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दै गर्दा आफ्नो लगानी माटोमै खेर जान्छ वा राम्रो आम्दानी हुन्छ, त्यो कुनै भर छैन । तेह्रथुम लालीगुराँस नगरपालिका-९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किवी खेती सुरुवात गरेका थिए । उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन् । सुरुवाती दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भर नै थिएन । उनलाई आफूले सुरु गरेको खेतीबाट कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो । इलामबाट दुई सय किवीको नर्सरी ल्याएर खेतीयोग्य जमिनमा खेती गरेका थिए ।

पोखरेलले बगानमा लगाएको बिरुवाको हेरचाहमा राति अबेरसम्म बिताउँथेँ । परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेका उनलाई नगदे बाली आम्दानी लिन सकिन्छ भन्ने मनमा ढुक्क थिए । उनी भन्छन्, ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरूले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको ? मानसिकता नै गुमेछ पनि भने । हौसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर म निरन्तर रूपमा आफूले गरेको खेतीमा लागी रहेँ । जब आम्दानी दिन सुरु भयो अहिले मेरो खेती देखेर लोभ्याउँछन् ।’

२०७१ सालमा खेती सुरु गरेका पोखरेलले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । घरनजिकै बगानमा उनी बिहान बेलुकी र फुर्सदको समयमा किवी हेरचाहमै समय बिताउने गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनी आफ्नो खेतीबाट दङ्ग छन् । उनी थप्छन्, ‘मैले खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो, चार वर्षमा बजारमा पुर्‍याए । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहकको मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोचमा छु । मैले अन्नबाली लगाउँदा बढीमा आठ/दश हजारको उत्पादन हुन्थ्यो तर किवी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी लिँदै आएको छु ।’

उनी जिल्लाकै उत्कृष्ट किसानको रूपमा परिचित भइसकेका छन् । उनले देवी किवी फर्म दर्ता गरी व्यावसायिक रूपमा उत्पादन गर्दै आएका छन् । दुई हजार किलो वार्षिक किवी बगानबाट उत्पादन गर्दै आएका छन् । व्यावसायिक रूपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्सेनि कृषि ज्ञान केन्द्र धनकुटामा कार्यक्रम प्रस्तावना लगाए पनि कुनै पनि सहयोग नपाएको गुनासो पोख्छन् ।

पोखरेल किवी किसान मात्र नभई प्रशिक्षकको रूपमा स्थापित भइसकेका छन् । यति बेला गाउँ र विभिन्न जिल्लाबाट किवी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरू उनकहाँ आउने गरेका छन् । खेतीसँगै नर्सरीसमेत उत्पादन गरी विक्री गर्न सुरु गरेका छन् । उनले रेड र ग्रिन जातका किवी खेती गर्दै आएका छन् । उनका श्रीमती तिला पोख्रेल लालीगुराँस नगरपालिकाको उपप्रमुख हुन् । श्रीमानले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन् । नागरिकहरूको सेवामै व्यस्त बन्दै आएकी उनी फुर्सदको समय बगानमा श्रीमानलाई सघाउँदै आएकी छन् ।

पोखरेलले एक्लै सुरु गरेको किवी खेती यति बेला गाउँका धेरैजसो किसानले खेती गर्न थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किवी राजधानीलगायत पूर्वका विभिन्न जिल्लाहरूमा विक्री हुँदै आएको छ । यहाँ उत्पादन भएको किवी प्रतिकिलो एक सयदेखि तीन सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई मास्दै नगदे बालीतर्फ किसानहरू आकर्षित हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया