चामलसँग किन काेदाे साटिरहेका छन् चाैरपाटी गाउँपालिकाका अध्यक्ष ?

कल्पना बोहरा संचारकर्मी
अछाम

चौरपाटी गाउँपालिकामा सञ्चालित ‘कुटेको चामल, फलेको कोदो’ अभियानअन्तर्गत २२ क्विन्टल कोदो सङ्कलन भएको छ। वडा नम्बर १ सुउडीस्थित गैरीलेख सहकारी भवनमा पाँच सय ९३ किलो र महिला सहकारी भवन चौखुट्टेमा १६ सय चार किलो गरी करिब २२ क्विन्टल कोदो सङ्कलन भएको गाउँपालिका कृर्षि शाखा प्रमुख झप्पर भुलले जानकारी दिएका छन् ।

२६ मङ्सिरदेखि कोदो सङ्कलन अभियान सुरु भएको हो । गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उद्देश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । उत्पादन वृद्धि तथा जग्गा बाँझो नरहोस् भनेर गत वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ अभियान नीति तथा कार्यक्रममै समावेश गरेको उनले जानकारी दिए । वैदेशिक रोजगारी र तीव्र सहरीकरणका कारण कोदोको उत्पादन घटेको र जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उनको भनाई छ । फलेको कोदो बराबर चामल पाएपछि गाउँपालिकाका किसान खुसी भएको अध्यक्ष साउदले बताए ।

किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेको अध्यक्ष साउदले जानकारी दिए । अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोदो महँगोमा किनेर खान थालेका छन् । यहाँ उत्पादन भएको कोदो धनगढी, नेपालगन्जमा निर्यात हुने गरेको अध्यक्ष साउदले बताए । आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा खुसी लागेको स्थानीय लालबहादुर थापाले बताए ।

भात खान पाँच घण्टा हिँडेर चौखुट्टेबाट चामल बोकेर ल्याउने यहाँका किसानले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा अझै मेहनत गर्ने जाँगर पलाएको बताएका छन् । कोदो विश्वको प्रमुख अन्न बाली हो । तर, पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि यसको महत्त्व थाहा पाएका सहरवासीहरू भने महँगोमा किनेर खान थालेका छन् ।

तपाईको प्रतिक्रिया