युवाहरूलाई उद्यमी बनाउँदै चाँगुनारायण नगरपालिका

सैलुङअनलाइन संवाददाता
भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवाहरूलाई उद्यमी बनाउन एक हप्ते जेनेरेट युअर बिजनेस र स्टारट युअर बिजनेसको तालिम सञ्चालन गरेको छ । नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत नगरभित्रका स्थानीय युवालाई उद्यमी बनाउन सो तालिम सञ्चालन गरेको हो ।

नौ वडा रहेको पालिकामा वडा नम्बर १ देखि ४ सम्मका स्थानीयलाई चाँगुनारायण माध्यमिक विद्यालयमा र वडा नम्बर ५ देखि ९ सम्मका स्थानीयलाई भत्केको पाटीस्थित रोम्बस स्कुलमा तालिम सञ्चालन गरेको छ । दुवै तालिम केन्द्रमा सहभागी भएका युवाहरूलाई उद्यम परामर्श तथा सहुलियतपूर्ण कर्जा सहजीकरणको लागि उद्यमशीलता र वित्तीय साक्षरतासम्बन्धी जेनेरेट युअर बिजनेस र स्टारट युअर बिजनेसको तालिम दिइएको पालिकाले जनाएको छ ।

नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरपालिकाले ल्याएको मेयर उद्यमशीलता कार्यक्रम मुलुकभरका स्थानीय तहका लागि उदाहरणीय भएको र बैङ्कले यसलाई चाँगुनारायण मोडल नामकरण गरी अरू स्थानीय तहमा पनि सुरु गरेको बताए । उनले नगरपालिकाले गत वर्षको आर्थिक वर्षमा उद्यमशीलता कार्यक्रममा ११ सयभन्दा बढीको आवेदन परेको र त्यसमध्ये एक हजार १२ जनाले अभिमुखीकरण तालिममा सहभागी भएको बताए ।

उनका अनुसार सो तालिमबाट ६ सय जना स्थानीयलाई छनोट गरी गत वर्ष तीन सय ९० जनालाई उद्यमी बन्न कर्जाको व्यवस्था गरिएको थियो । जसअनुसार हालसम्म ६५ जना स्थानीयले बैङ्कबाट कर्जा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रमका लागि पालिकाले राष्ट्रिय युवा परिषद् सानो ठिमी र नेपाल बैङ्क लिमिटेडसँग सहकार्य गरेको नगर प्रमुख मिश्रले बताए । उनले कार्यक्रममा सहभागी भएका युवालाई विना व्याज तीन लाख कर्जाको व्यवस्था गरिदिने र पाँच वर्षसम्म साँवा मात्र चुक्ता गर्नुपर्ने बताए ।

परिषद्का युवा अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख दिनेश ढुङ्गेलले नगरपालिकाले ल्याएको कार्यक्रमबाट वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने युवाहरूको कमी हुन सक्ने विश्वास व्यक्त गरे । उनले लगानीको कमी र रोजगारीको अभाव भएको भन्दै नेपाली युवा विदेश जाने गरेको बताए । जसमा १ प्रतिशत युवा तालिम लिएर दक्ष जनशक्तिको रूपमा काम गर्ने, ३५ प्रतिशत अर्धदक्ष र ६४ प्रतिशत अदक्ष जनशक्ति पलायन हुने गरेको बताए ।

ढुङ्गेलले नेपाल सरकारले वार्षिक आठ सय जनालाई मात्रै उद्यमी बन्ने तालिम दिने गरेको उल्लेख गर्दै नेपाली नागरिकले प्राविधिक सामग्री उत्पादन गर्न नसके पनि कृषि जन्य सामग्री उत्पादन गरी आम्दानी गर्न सकिने बताए ।

प्रशिक्षक अर्जुन भट्टराईले एक साताव्यापी तालिममा सहभागीलाई कसरी उद्यमी बन्ने भन्ने विषयमा विस्तृत जानकारी दिइने बताए । उनले एक हप्ते तालिममा प्रशिक्षार्थीलाई उद्यमी बनाउन आधारको विकास गर्ने बताए ।

तपाईको प्रतिक्रिया