लामटाङ राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुको वासस्थान  हो : प्रमुख संरक्षण अधिकृत भट्टराई

सैलुङअनलाइन संवाददाता
रसुवा

(प्रमोद भट्टराई लामटाङ राष्ट्रिय निकुञ्जमा २०७८ साल कार्तिक २५ गतेदेखि प्रमुख संरक्षण अधिकृतको कार्यरत हुनुहुन्छ । तनहुँमा जन्मिएका भट्टराई वन विज्ञान अध्ययन संस्थान पोखराबाट बिएस्सि फरेष्टि, नेपाल इन्जिनियरिङ कलेजबाट प्राकृतिक स्रोत व्यवस्थापन मा स्नातकोत्तर र त्रिभुवन विश्व विद्यालयबाट वि एड तथा समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । निकुञ्जको संरक्षण एवं सम्बर्द्वनमा सम्बन्धित सबै सरोकारवाला निकायको सहयोग र सहकार्यको बढी भूमिका रहने भट्टराई बताउनुहुन्छ । संरक्षणको लागि सम्बन्धित सरोकारवालाहरूको समन्वय अपरिहार्य छ । प्रस्तुत छ यसै विषयमा भट्टराईसँग  सैलुङअनलाइनका रसुवा सम्वाददाता सरस्वती न्यौपानेले गर्नुभएको कुराकानी:)

सरकारी सेवामा कहिले प्रवेश गर्नुभयो ?

२०६७ साल कार्तिक ८ गते बाट सरकारी सेवामा प्रवेश गरेको हो ।

निकुञ्ज क्षेत्रमा सुरुदेखि हो कि अन्य निकायबाट आउनु भयो ?

मैले सेवा प्रवेश गर्दा सहायक वन अधिकृत भएँ । त्यसपछि वन विभाग अन्तरगत करिब सात वर्ष सेवा गरे । त्यसरी पछि निकुञ्ज क्षेत्रमा २०७४ साल साउनदेखि प्रवेश गरेको हुँ ।

सरकारी कामको सिलसिलामा कहाँ कहाँ बस्नु भयो ?

जिल्ला वन कार्यालय सिन्धुपाल्चोक, जिल्ला वन कार्यालय नवलपरासी, वन विभाग काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज  सोलुखुम्बु‚ बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरण मन्त्रालय हुँदै हाल लामटाङ राष्ट्रिय निकुञ्जमा काम गरे ।

संरक्षणको पाटोमा तपाईँको राय सुझाव के रहेको छ ?

संरक्षण सहकार्य सह अस्तित्वको सिद्धान्तमा आधारित छ । वनमा रहेको जनावर, पशुपन्छी, बोटबिरुवा, सबैको यस धर्तीमा उतिकै महत्त्व र बाँच्न पाउने अधिकार छ । यो पृथ्वी सबैको साझा घर हो ।यस्तै हामीले संरक्षण कार्य हाम्रो लागि मात्रै नभई हाम्रो भावी पुस्ताका लागि पनि गर्नुपर्छ । निकुञ्ज संरक्षणमा प्रशासनले मात्रै गरेर सम्भावना छैन यसमा सम्बन्धित सबै सरोकारवाला निकायको सहयोग र सहकार्यको आवश्यकता पर्छ । यसमा अझ बढी भूमिका नेपाल सरकारको नीति बमोजिम स्थानीय जनसमुदाय, निकुञ्ज प्रशासन र नेपाली सेनाबिच समन्वय र संयुक्त प्रयासको आवश्यकता पर्दछ । हाल नेपालमा भएको संरक्षणको मोडल नै सफल मोडल साबित भएको छ । त्यसैले संरक्षणको लागि सम्बन्धित सरोकारवालाहरूको समन्वय अपरिहार्य छ ।

त्यसो भए संरक्षण सम्बन्धी समस्या चुनौतीहरू आइपर्छ कि पर्दैन ?

प्राकृतिक सम्पदा र मानवको लागि आवश्यक बस्तुको स्रोत समेत भएकाले यसको संरक्षण सम्बन्धमा विभिन्न खालका समस्याहरू तथा चुनौतीहरूमा वन्यजन्तुको वासस्थान व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, चोरी सिकार नियन्त्रण, वन डढेलो व्यवस्थापन तथा नियन्त्रण,मिचाहा प्रजातिको व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने असरको न्यूनीकरण गर्ने आदि रहेको छ । पछिल्लो समय भएको विकासको चाप निकुञ्ज क्षेत्रमा परेको सडक विस्तार, निकुञ्ज क्षेत्रमा भएको जलविद्युत आयोजना  लगायतबाट पर्ने असर प्रमुख समस्या बन्दै
गएको छ ।

निकुञ्जमा आन्तरिक  तथा बाध्य पर्यटकहरू आउने गर्छन् । उनीहरूबाट शुल्क पक्कै उठ्छ त्यस शुल्कबाट के कस्ता ठाउँमा उपयोग हुन्छ ?

निकुञ्जमा आउने पर्यटकहरूबाट उठेका शुल्क निकुञ्जको आम्दानी स्रोत हो । यो नेपाल सरकारको कोषमा जम्मा हुन्छ । सो रकममध्ये ५० प्रतिशत रकम मध्यवर्ति क्षेत्रका कार्यक्रम मार्फत यहाँको स्थानीय विकास जीविकोपार्जन जनचेतना संरक्षण शिक्षामा उपयोग हुन्छ ।

आम मानिसको गुनासो लामटाङ राष्ट्रिय निकुञ्ज नभई लाङटाङ हो भन्छन् यस विषयलाई अलि प्रस्ट पारिदिनुस् ?

यो राष्ट्रिय निकुञ्ज लाङटाङ हिमालको नाम अनुसार नै नामकरण गरिएको हो । तर राजपत्रमा सूचना प्रकाशित हुँदा लामटाङ भएको देखिन्छ । मैले पनि यस कार्यालयमा आएपश्चात् यो गुनासो सुने । सच्याउनको लागि पुनः राजपत्रमा नै प्रकाशित गरेर मात्र नाम सच्याउन सकिन्छ । यसको लागि यहाँको जनसमुदाय र बुद्धिजीवी वर्गको साथ सहयोग रहेमा मैले लाङटाङ नाम सच्याउन प्रयास गर्नेछु ।

अरू ठाउँ भन्दा यस निकुञ्जमा के फरक पाउनु भयो ?

यो राष्ट्रिय निकुञ्ज नेपालको राजधानी काठमाडौँबाट छोटो दुरीमा पर्छ । यो अत्यन्तै रमणीय एवं धार्मिक क्षेत्र भएकोले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि अध्ययनको पाटो पनि बन्छ ।

कस्तुरी‚ मृग‚ हाब्रे, हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तुको वासस्थान क्षेत्र भएकाले यसको पर्यटकीय महत्त्वको साथै संरक्षणको लागि अत्यन्तै महत्त्वपूर्ण क्षेत्र रहेको मैले पाएको छु । त्यस्तै यहाँका स्थानीय समुदाय र सांस्कृतिक हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको देखिन्छ ।

यहाँका वस्तिहरू निकुञ्ज क्षेत्रभित्रै रहेको हुँदा जनताको चाहाना बमोजिम विकास निर्माणको कार्य गर्दा संरक्षणलाई प्राथमिकता दिएर गरिएमा यो निकुञ्जले पर्याप्त मात्रामा पर्यापर्यटन प्रबर्द्वनमार्फत स्थानीयको जिविकोपार्जनमा टेवा पुग्ने देखिन्छ सामाजिक र आर्थिक विकासको प्रशस्त सम्भावना भएको निकुञ्जको रूपमा अन्य निकुञ्ज भन्दा फरक देखिन्छ ।

अन्तमा

अत्यन्तै रमणीय जिल्ला मा आउँदा खुसी नै छु ।

तपाईको प्रतिक्रिया