साउदीमा ९ महिनादेखि तलब नपाएका ७० भन्दा धेरै नेपाली अलपत्र

नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

साउदी अरेबियामा ७० भन्दा धेरै नेपाली अलपत्र परेको छ । जुबेलस्थित साश इन्टरनेशनल कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको झापाका लक्ष्मी पौडेलले बताए । पौडेलका अनुसार उनीहरू काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरबाट साउदी गएका हुन् । साँढे २ वर्षअघि साउदी आइपुगेका अलपत्र उनीहरू ९ महिनादेखि समस्या परेको हो ।

` हामीले विगत ९ महिनादेखिको तलब पनि पाएका छैनौँ ।’यो मेरो मात्र हैन, यहाँ रहेका ७०/८० जना नेपालीको समस्या हो,’ अलपत्र परेका पौडेलले भने, `चार महिनादेखि भने काम नभएर क्याम्पमा बसेका छौं ।´

कम्पनीले अकामा (आप्रवासी अनुमतिपत्र) नवीकरण नगरेको र बहिर्गमन भिसा पनि नदिँदा अहिले अलपत्र परेको उनीहरूको भनाइ छ । आफूहरुको समस्या मेनपावरलाई राख्दा एजेन्ट सुरेन्द्र खनाल र साश कम्पनी मिलेर उल्टै दबाव दिने गरेको पीडितहरुको आरोप छ ।

समस्याबारे ४ महिनाअघि नै नेपाली दूतावासलाई जानकारी गराएको पीडित नेपालीहरुले बताए । गैरआवासीय संघ (एनआरएनए) साउदीलाई समेत जानकारी गरेपनि सुनवाइ नभएको पीडितहरुको भनाइ छ । अहिले फोन गर्ने पैसा पनि नभएको र कम्पनीको अवस्था झन् बिग्रिएको भन्दै उनीहरुले सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

यहा अलपत्र परेका धनबहादुर तामाङ, श्याम निरौला, मनोज राई, लक्ष्मी पौडेल, प्रेम प्रकाश अधिकारी, विवेक परियार, शिव मन्जरी घिमिरे, रविन्द्र मल्ल, राजेन्द्र विश्वकर्मा, राजकुमार बस्नेत र नोल बहादुर सिञ्जालीलगायत ७० देखि ८० जनासम्म रहेका छन् ।

तपाईको प्रतिक्रिया