सोवा रिग्पा–बौद्ध चिकित्सा पद्धतिबारे

काठमाडौं
तस्बिर : गुगलबाट

परिचय

सोवा रिग्पा एक प्राचीन प्राकृतिक चिकित्सा प्रद्घति हो । हजारौं वर्षदेखि निरन्तर उपयोग र अभ्यासमा रहँदै आएको यस चिकित्सा विज्ञानले असङ्ख्य सत्वप्राणीहरुको स्वास्थ्यमा टेवा पुर्‍याउँदै आएको छ । शारिरीक तथा मानासिक स्वास्थ्यमा विशेष जोड दिइने यस चिकित्सा पद्धति साइन्स अफ हिलिङ (Science of Healing) नामले पनि परिचित हुँदै आएको छ ।

सोवा रिग्पा चिकित्सा विज्ञान र बौद्धसँगको अन्तरसम्बन्ध अदभूत मानिएको छ । बौद्ध शिक्षा आफैँमा एक अथाह विज्ञान हो जसमा सबै सुक्ष्म विषयवस्तुको असाधारण वर्णन र ब्याख्या पाइन्छ । जति पूर्ण र विशाल छ त्यति नै यस भित्रको प्रज्ञा अतुलनीय रुपमा प्रगाढ छ । बुद्धका महापञ्च विद्यास्थानमा आध्यात्मा विद्या (नाङ् दोन रिग्पा), हेतु विद्या (छेमा रिग्पा), शब्द विद्या (डा रिग्पा), शिल्प विद्या (स्हो रिग्पा) र चिकित्सा विद्या (सोवा रिग्पा) पर्दछन् । सोवा रिग्पामा प्राकृतिक परम्परागत उपचार विधिका बारेमा वैज्ञानिक तरिकाबाट गहन अध्ययन र व्याख्या गरिएको छ । गौतम बुद्ध स्वयं बैषज्य गुरुमा अभिव्यक्त भई विभिन्न भिक्षु, भिक्षुणी, देव, ऋषि, महाराजा, आस्तिक, नास्तिक र अन्य सत्वप्राणीहरुमा यस चिकित्सा विद्या (पद्धति) को धर्म देशना गर्नुभएको बौद्ध ग्रन्थहरुमा उल्लेख गरिएका पाइन्छन् । बुद्ध पछि भने विभिन्न शताब्दीमा विभिन्न बौद्ध महासिद्धिहरु (गुरु पद्म सम्भव, नार्गजुना, बैरोचना, युथोक योन्तेन गोन्पोलगायत)ले उक्त ज्ञान पद्धतिलाई सङ्कलन तथा विकसित गर्दै प्रचलनमा ल्याएका हुन् ।

बौद्धसँगको अन्तर सम्बन्ध

बौद्ध चार तन्त्र (घ्युद्स्यि) सोवा रिग्पा अध्ययनका आधिकारीक ग्रन्थ हुन् । परम्परागत प्रणाली अथवा हालका आधुनिक विश्वविद्यालयस्तरमा समेत उक्त ग्रन्थहरुलाई पाठ्यक्रममा समावेश गरिएका छन् । विशेष गरी शारीरिक एवं मानसिक असन्तुलनलाई सुधारद्वारा उपचार गरिने यस वैज्ञानिक उपचार विधिको सिद्धान्त, दर्शन र पद्धति सबै बौद्ध दर्शनमा आधारित रहेको छ  । चार तन्त्रमा स्वयं वैषज्य गुरु ध्यानको मुद्रामा आसन भई हृदयचक्रबाट ऋषि रिग्पे हिशे (དྲང་སྲོང་ཡིད་ལས་སྐྱེས་) र वाकचक्रबाट ऋषि यिलेके (དྲང་སྲོང་རིག་པའི་ཡེ་ཤེས་) उत्पन्न भई प्रश्नउत्तरमा व्याख्या गर्नु भएको जसमा बैषज्य गुरुले हृदयबाट चाघ्यु (རྩ་རྒྱུད།), शरीरबाट शेघ्यू (བཤད་རྒྱུད།), प्रज्ञाबाट मेन्ङाक्घ्यु (མན་ངག་རྒྱུད།) र सद्गुण कर्मबाट छेमाघ्यु (ཕྱི་མ་རྒྱུད།)को उपदेशना गर्नुभएको भनिएको छ । यस चिकित्सिा पद्धतिको मूल ग्रन्थ मात्र नभई चिकित्सा पद्धतिको पृष्ठभूमि नै बौद्ध सिद्धान्तमा अन्तरनिहित भनिएको छ । यस चिकित्सा पद्धतिलाई वैकल्पिक स्वास्थ्य उपचारमा वर्गीकरण गरिएता पनि यसको प्रमुख सिद्धान्त र दर्शन नै स्वास्थ्यको बहुआयाममा स्वस्थ जीवनका लागि रोगको उपचार भन्दा रोकथाम र प्रवद्र्धन गर्नु मुख्य रहेको छ ।

शरीर, रोगका हेतु, पञ्चतत्वको अन्तरसम्बन्ध, प्रतीत्यसमुत्पादको अवधारणा, रोगको निवारण, कर्म हेतु फल, उपचार पद्धति, औषधी, शाल्यक्रिया विज्ञान, चिकित्सकको नैतिक दर्शन र अभ्यासलगायत सबै बौद्ध शिक्षामा आधारित रहेका छन् । सम्र्पूण सत्वप्राणी सदैब आफू सुखी, निरोगी र स्वस्थ हुन चाहन्छन् । कोही पनि आफू दुःखी र रोगी हुन चाहँदैनन् । तर, सुखको खोजीमा आफ्नो आत्मग्राह भने कमैले त्यागेका हुन्छन् । भगवान बुद्धले सारनाथमा प्रवद्र्धन गर्नु भएको प्रथम धर्मचक्रका चार आर्यसत्यको सिद्धान्तलाई यस चिकित्सा पद्धतिमा सधैँ रोगको निदानमा उपयोग गर्दै आएको छ । अद्भूत चार आर्य सत्यमा सबैभन्दा पहिलो दुःख, त्यसपछि समुदय, त्यसपछि निरोध र अन्तमा मार्ग सत्य रहेका छन् । पहिलो रोगले पैदा गर्ने दुःख सत्य, त्यसपछि समुदयमा रोगको कारण सत्य, त्यसको निरोध र अन्तत रोगबाट मुतm हुन मार्ग अर्थात विभिन्न उपचार विधि अपनाई रोगको निवारण गरिन्छ ।

जन्म पछि जो कोही रोगबाट अछुतो बस्न सक्दैन । जन्मसँगै क्रमसः वयस्क हुँदै वृद्धअवस्था अनि मृत्युको दुःख र भयले सबैलाई पिरोली रहेको हुन्छ । जन्म, रोग, वृद्धअवस्था र मृत्यु यी चार कारक जसले बुद्धलाई सत्यको बोध गराउन झकझकायो । भगवान बुद्धले सत्यको मार्ग खोज्दै जाँदा सबै दुःखको कारण हेतु, राग, द्वेष, मोहको क्लेश रहेको र यी सबै आत्मरुपी अविद्याबाट उत्पन्न भएको पत्ता लगाए । जसरी हरेक दुःखको कारण आत्मरुपी अविद्याबाट सिर्जित तीन विष (राग, द्वेष र मोह) बताए झैँ चार तन्त्रमा पनि रोगको विशेष कारण अविद्याबाट उत्पन्न भएका तीन विष हुन् भन्ने उल्लेख गरिएको छ ।

वास्तविक सत्यलाई बुझन नसक्नु नै अविद्या हो । जसरी आकाशको चरा जतिनै माथि उड्न सके पनि त्यसको छाँया जमिनबाट कहिल्यै अछुत हुन नसके झैँ, यो आत्मरुपी अविद्याको कारण कोही पनि दुःख र रोगबाट स्वतन्त्र हुन सक्दैन । रोगको असङ्ख्य कारणहरु मध्ये प्रमुख अविद्याले पैदा गर्ने तीन विषले क्रमसः वायु (लुङ), पित्त (ठ्रिपा) र  कफ (बेकेन) रोगको उत्पन्न गराउँछ । यीनै तीन विष जसको सन्तुलन र असन्तुलनको आधारमा हाम्रो शरीर स्वस्थ्य या रोगी निर्धारण गरिन्छ ।

‘सबै कुरा अनित्य हुन्’ । त्यसैगरी यो अमुल्य मानव शरीर र यसमा आउने रोग पनि अनित्य छन् । बुद्धको महान सिद्धान्त अनित्य, अनात्मा र दुःख सत्यलाई सदैव आत्मसात गरी सोवा रिग्पा चिकित्सकहरु बिरामीको रोगको निवारणमा लागि पर्दछन् । शरीर, रोग, निवारण, औषधी उपचार विधि सबै पञ्च तत्व (वायु, पानी, आगो, पृथ्वी र आकाश तत्व)मा आधारित रहेका हुन्छन् । पञ्च तत्वबाट निर्माण भएको यो मानव शरीरमा जब यीनै तत्वहरुको असन्तुलन घटी–बढी हुन्छ तब शरीरले विभिन्न रोग सिर्जना गर्ने गर्दछ । रोगको प्रकृति पनि यी तत्वमा निर्भर हुने गर्दछ । साथै रोगको निवारणका निम्ति पनि पञ्च तत्व रुपी प्रकृतिजन्य जडीबुटीहरु औषधीको रुपमा प्रयोग गर्दछन् ।

विशेषगरी सोवा रिग्पा चिकित्सकहरु रोग निदानमा नाडी र पिसाबको परिक्षणलाई प्राथमिकता दिन्छन् । नाडी परिक्षणको सहायताले बिरामीमा भएको पञ्च तत्वको असन्तुलन पत्ता लगाइन्छ र यसै अनुरुप उपचार विधि अपनाउने गरिन्छ । अति शुक्ष्म वस्तुदेखि ब्रम्हाण्ड यिनै पञ्च तत्वसँग निर्भर भएको हुन्छ । ‘संसारका हरेक वस्तु एक आपसमा निर्भर भइ अन्नतः अन्तरसम्बन्धमा रहेको हुन्छ’ भन्ने प्रतित्यसमुत्पादको सिद्धान्तलाई यस चिकित्सा पद्धतिमा विशेष दर्शनको रुपमा लिने गरिन्छ ।

चार तन्त्रको भ्रुण विज्ञान अनुसार एक पूर्ण मानव शरीर संरचनामा पञ्च तत्व जति महत्व छ त्यति नै बुबाको स्वस्थ्य वीर्य, आमाको स्वस्थ्य डिम्बका साथै कर्म, चेतना र क्लेशको मिश्रण हुन जरुरी हुन्छ । बौद्ध दर्शनलगायत सोवा रिग्पामा कर्म हेतु फललाई आधारभूत शिक्षाको रुपमा लिइन्छ । ‘जस्तो कर्म गर्छौ त्यस्तै फल पाउछौं’ भने झैँ यसमा कर्मफल भनेको हेतुफलका नीतिबाट विचार गर्नु पर्ने हुन्छ । सारांशमा तीनद्वार (काय, वाक र चित्त) तथा विशेष आशय मार्फत् कुशल अकुशल कर्म संचयपछि फलरुपी सुख र दुःखको प्राप्ति विधि नै कर्मफल भन्ने बुझिन्छ । त्यसैले हामीले पाउने मानव शरीरमा समेत कर्मको हेतुफल जोडिएको हुन्छ । हरेक क्रियामा कर्मफल गाँसिएको हुन्छ । यतिसम्म कि बिरामी र चिकित्सकको कर्म पनि एकआपसमा सम्बन्ध रहेको हुन्छ भन्दछन् । जस्तै, एक चिकित्सक कहाँ कोही बिरामी उपचारका निम्ति आउँदा एउटै भेट अथवा एकै उपचारमा निको हुने हुन्छ भने कोही लामो उपचार पछि पनि निको हुँदैन । यो चिकित्सक र बिरामी बिचको कर्महेतुको कारण हुन् । त्यसैले उपचारको क्रममा पनि रोग, बिरामी, औषधी र चिकित्सकसँगको सम्बन्ध र साझेदारी मिलेको हुनु पर्छ ।

त्यसैगरी सत्वप्राणीमा कर्मको दोषले मात्र नभई क्लेशको बलले समेत दुःखको भवसागरमा डो¥याई रहेको हुन्छ । मनको दोष वा मल नै क्लेश भन्ने बुझिन्छ । त्यसैले मन या चित्तको दोष र सत्यतालाई बुझनु अत्यावश्यक छ । चित्तले शारीरिक स्वास्थ्य सन्तुलनमा ठूलो भूमिका खेलेको हुन्छ । जब हाम्रो मानसिक स्वास्थ्यमा असन्तुलन बढ्ने गर्छ तब शरीरमा विभिन्न रोगले समस्या निम्त्याउने गर्छ । त्यसैले यस चिकित्सा प्रणालीमा शारीरिक साथै मानसिक स्वास्थ्यलाई एकदम सुक्ष्म तरिकाले निरिक्षण र विश्लेषण गरिन्छ ।

मानिसको चित्तको सत्यतालाई बुझने शिक्षा केवल बौद्ध दर्शनमा हामी पाउने गर्छौं। शारीरिक रोगको उपचार विधिमा विशेष गरी खानपिन, जीवनशैली, औषधी, बाह्य उपचार पद्धति प्रयोग गरिन्छ । विशेषगरी हामीले खानपिन र जीवनशैलीमा मात्र ध्यान दिने हो भने पनि धेरै रोगको रोकथाम, उपचार र प्रवर्धन गर्न सकिन्छ । सफा, ताजा, पोषणयुक्त खानपिन र कुशल कर्मले युक्त जीवनशैलीलाई अपनायैँ भने हामी निरोगी र स्वस्थ रहन सक्छौं । जसरी शरीर स्वस्थ्य हुन्छ मानसिक स्वस्थ्य पनि राम्रो हुँदै जान्छ । भगवान बुद्धले भने झैँ ‘शरीरलाई स्वस्थ्य राख्नु सबैको कर्तव्य हो, अन्यथा आफनो चित्तलाई शुद्ध र स्पष्ट पार्न सक्तैनौँ’ ।

उपचार पद्धति

आफनो चित्तको प्रकृतिलाई बुझेर बोधिसत्व मार्गलाई सदैब सिरोपर राखी सोवा रिग्पा चिकित्सकहरु अघि बढेका हुन्छन् । चार तन्त्रमा उल्लेख गरे अनुसार सोवा रिक्पा चिकित्सकहरु आफ्नो पूर्वागत अभ्यासमा बोधिचित्त उत्पाद् करुणा र मैत्रीको अभ्यास गर्दछन् । त्यसैगरी त्रिरत्न (बुद्ध, धर्म र संघ) प्रति शरणगमन गरी पूर्ण श्रद्धा र निष्ठाभावले सम्पूर्ण सत्वप्राणीमा बोधिचित उत्पाद् (समभाव, मैत्री, करुणा तथा अध्याशय) को अभ्यास हुन्छ । अकुशल कर्मलाई त्यागी सधै कुशल कर्मको मार्ग माध्यमिकमार्ग दर्शनलाई अपनाएर आफ्नो कर्तव्यमा लाग्ने गर्दछन् । सोवा रिग्पा आफँैमा एक पूर्ण शिक्षा हो जसको अथाह फाइदा रहेको छ । यो पूर्ण निष्ठाभावले अभ्यास र बोधिचित भावना राखी सत्वप्राणीको हिर्ताथ लागि पर्दछन् । उसले यही जुनीमा सुख, शान्ति, खुसी, ख्याति र समृद्धि मात्र नभई बुद्धत्व प्राप्ति गर्ने विश्वास स्वयं बैषज्य बुद्धले उल्लेख गर्नु भएको छ । सोवा रिग्पा चिकित्साको पाठ्य पुस्तकदेखि, अभ्यासमार्ग, दर्शन, सिद्धान्त र उपचार सबै बौद्ध शिक्षासँग सम्बन्धित रहेका हुन्छन् । यति मात्र नभई यस पद्धतिमा रोगको निदान र उपचार विधिमा विभिन्न प्राकृतिक जडीबुटीहरुको उपयोग, थेरापीलगायत विभिन्न मन्त्रको प्रयोग, अध्यात्मिक अभ्यास, पुजा अनुष्ठान गर्ने गरिन्छ । यो सबै बौद्ध संस्कारमा गर्ने हुनाले पनि यस पद्धतिको मौलिक आधार बौद्ध दर्शन र शिक्षामा रहेको छ ।

निष्कर्ष

सोवा रिग्पा चिकित्सा प्रद्धति धेरै प्राचीन चिकित्सा विज्ञानहरुको एक संग्रहित विज्ञान हो । विशेष गरी बौद्ध विज्ञान र दर्शनमा आधारित यो अद्वितीय विज्ञानले सदैब सत्वप्राणीको सुःखको हितार्थ लागिपरेको छ । यसको विकास बौद्ध दर्शनको धरातलमा भएपनि यसको निष्पक्ष दर्शन र सिद्धान्तले समग्र सत्वप्राणीको हितलाई समेटिएको छ । आधुनिक चिकित्सा विज्ञानले दिनप्रति दिन स्वस्थ्य क्षेत्रमा ठूलो फड्को मारिरहेको छ । यो सँगै स्वास्थसँग सम्बन्धित चुनौतिहरु मत्र थपिँदै गएको छैन, स्वास्थ्य उपचार निक्कै महंगो हुँदै गएको सत्य हो । तर, बौद्ध दर्शनमा आधारित सोवा रिग्पा परम्परागत प्राकृतिक उपचार पद्धति जुन वैज्ञानिक मात्र नभई सस्तो र शुलभसँगै प्राचीनकालदेखि नै हामी माझ रही आएको छ यसतर्फ कमैको मात्र ध्यान गएको देखिन्छ । अझै पनि यो उपचार पद्धति चीनको तिब्बतलगायत नेपालको हिमाली भेगतिर अभ्यासमा रहेको पाइन्छ । यसलाई व्यापकता दिन सकिए वैकल्पिक होइन मुख्य उपचार पद्धति नै बनाउन सकिन्छ । त्यसको लागि आधारभूत पक्षहरुको निर्माण र विकास गर्न भने जरुरी छ ।

तपाईको प्रतिक्रिया