मच्छिन्द्रसँग फ्रेन्ड्स पराजित

सैलुङअनलाइन संवाददाता
काठमाडौं

फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई १-० ले हराएको हो । ६७औं मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मच्छिन्द्रले अग्रता लिएको थियो । आठ खेल खेलेको मच्छिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ । मनाङ मस्र्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा छ । मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गरिरहेको छ ।

पहिलो हाफको खेल सकिँदा मनाङले २-० को अग्रता बनाएको छ । यस खेलमा मनाङले जितेमा मच्छिन्द्रसँगको दुरी एक अंकमा झर्नेछ । संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ । मच्छिन्द्रसँगको हारले फ्रेन्ड्समाथि रेलिगेशनको दबाब थपिएको छ । आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३आँै स्थानको च्यासलको पाँच अंक छ । यसअघि दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

यसअघि नौ मिनेटमा सुनील बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरिदा मच्छिन्द्रले अग्रता लिने अवसर गुमायो । १८औं मिनेटमा फ्रेन्ड्सका गोलरक्षकले क्लियर गर्न नसक्दा प्राप्त बलमा मच्छिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो । २७औँ मिनेटमा मच्छिन्द्रका सुनीलले गरेको क्रसमा मच्छिन्द्रका कुनै पनि खेलाडी बलसम्म पुग्न सकेनन् । ५३औं मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले गरेको सट मच्छिन्द्रका गोलकिपर विशल श्रेष्ठले बिफल पारेका थिए । शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एआरटी) को सामना गर्दैछ ।

तपाईको प्रतिक्रिया