खुला राष्ट्रिय कराँते प्रतियोगिता सुरु

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाल गोजु काई कराँते डो संघको आयोजनामा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषको १०/१० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । २० जिल्ला तथा डोजोहरूबाट २ सय ९ खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६० केजीमाथि खुल्ला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । कातातर्फ पुरुष र महिला टिम प्रतिस्पर्धा हुनेछ । यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ । शारीरिक रूपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरूका लागि यो विधा थपिएको प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।

चाबहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगितामा सोमबार पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजों)ले स्वर्ण जिते । उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो)लाई पराजित गरेका हुन् । ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो)लाई हराएर अनायन मानन्धर (ठैब डोजो)ले स्वर्ण जिते । ४० केजीमुनिमा रोजन तामाङ (शंखडोल एकेडेमी)ले स्वर्ण जित्दा अन्मेष थेबे (मित्रपार्क डोजो) रजतमा सीमित भए । ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो)ले स्वर्ण जिते । उनले फाइनलमा सुनिल ठगुन्ना (साउथ भ्याली स्कुल)लाई हराए । ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी-हा कराँते)ले रजतमा चित्त बुझाए ।

महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा बिलासा पहारी (नागार्जुन डोजो) रजतमा सीमित भइन् । ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो)ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले कांस्य जितिन् । यसअघि प्रतियोगिताको उद्घाटन महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले उद्घाटन गरेका थिए । वर्ल्ड युनाइटेड मार्सल आर्ट (वुमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो । उनले राष्ट्रिय स्तरमा व्यवस्थित प्रतियोगिता आयोजना गरेकोमा संघलाई धन्यवादसमेत दिएका थिए ।

विसं २०५८ मा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको यो संघले हरेक वर्ष दुईदेखि तीन वटासम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रायोजन गरेको छ । `कराँतेको एउटा विधा गोजु काईका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पनि उच्चस्तरको सफलता हासिल गरिसकेका छन् । सन् २०१३ मा आयोजित विश्व च्याम्पियनसिपमा नेपालका निश्चल गुरुङले स्वर्ण जितेका थिए । एसियन प्यासेफिक च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जितिसकेको छ । नेपालले जापानमा हुने आसन्न विश्व च्याम्पियनसिप र ताइवानमा हुने एसियन प्यासेफिक च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदै छ ।

तपाईको प्रतिक्रिया