मनहरीमा ल्होछार सांस्कृतिक कार्यक्रम हुने

सैलुङअनलाइन संवाददाता
मकवानपुर

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । रत्नलिङ गुम्बाद्वारा आयोजित कार्यक्रम तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसर पारेर माघ २१ गते शुक्रवार हुनेछ ।

कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन समेत गरिएको आयोजक जनाएको छ ।

कलाकार संयोजनको जिम्मेवारी चन्द्रबहादुर स्याङतान र हर्कमान वाइबालाई दिइएको छ भने आर्थिक संयोजकमा अर्जुन घलान, सदस्यहरूमा करण डिम्डुङ र जगत स्याङतान रहेका छन् ।

त्यसै गरी मञ्ज व्यवस्थापनमा अमर स्याङतान सञ्जीव कुमार थिङ, इन्द्र स्याङतान र ज्ञानबहादुर दोङ लगायतलाई जिम्मेवारी दिइएको रत्नलिङ गुम्बाका सचिव अर्जुन घलानले जानकारी दिए ।

‘ ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ ‘नयाँ’ भन्ने हुने भएकाले ल्होसार पर्व लाई नयाँ वर्षको रूपमा तामाङ समुदायले महत्त्वका साथ मनाउँदै आएका छन् । सोनाम ल्होसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौँ महिनाको पहिलो दिनबाट सुरु हुन्छ ।

नेपालका तामाङ, शेर्पा र गुरुङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गरेका छन् ।

नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड, भुटान र तिब्बतमा मनाइने लोसार अर्थात् नयाँ सालको गणना मञ्जुश्री र कालचक्र ज्योतिष शास्त्रमा आधारित रहेको छ ।

प्रत्येक वर्षको ल्होछारको गणना र नामकरण १२ वटा जनावरहरूको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुने बताइन्छ ।

तपाईको प्रतिक्रिया