फिदिममा परिवार मुआक पद्धतिको पाइलट कार्यक्रमबारे अभिमुखीकरण

लक्षिमा तामाङ संवाददाता
पाँचथर

पाँचथरको फिदिम नगरपालिकामा नेपाल प्राविधिक सहयोग समूह (NTAG–Nepal technical Assistance group) ले परिवार मुआक पद्धतिको पाइलट कार्यक्रमबारे अभिमुखीकरण गरेको छ ।

पोषण अभावका कारण मानिसमा हुने पुड्कोपना र ख्याउटेपना व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्ने संस्थाले परिवार मुआक पद्धतिको अवधारणा, उद्देश्य, फाइदा र कार्यान्वयनमा गरिने क्रियाकलापको बारेमा अभिमुखीकरण गरेको हो ।

यस पद्धतिले बालबालिकाहरूको शीघ्र कुपोषणको लेखाजोखा गर्ने र आमा वा रेखदेख गर्ने हेरालु तथा अन्य सदस्यहरूमा मुआक टेपको प्रयोग गरी नियमित रूपमा आफ्ना बालबालिकाहरूको शीघ्र कुपोषणको लेखाजोखा गर्न सक्ने सिपको विकास गराउने बताइएको छ ।

त्यस्तै आमा तथा हेरालु मार्फत समुदायमा रहेका ६ देखि ५८ महिनाका बालबालिकामा हुने शीघ्र कुपोषण पत्ता लगाइ समयमै स्वास्थ्य संस्थाबाट उपचार गराइ निकट भविष्यमा ६ देखि ५८ महिनाका बालबालिकामा शीघ्र कुपोषण रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको फिदिम नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक प्रवेश श्रेष्ठले बताए ।

अहिलेसम्म स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुले मात्र बालबालिकाहरूमा ख्याउटेपना र पुड्कोपना भएको नभएको पत्ता लगाउने गरेकोमा अब मुआक जाँचबाट आमा वा स्याहारकर्ताले नै आफ्ना बालबालिकामा ख्याउटेपन र पुड्कोपन भए नभएको पत्ता लगाउन सक्ने भएको NTAG का जिल्ला संयोजक सजना श्रेष्ठले बताए ।

विश्वव्यापी परिवार मुआकको समीक्षामा हालसम्म २६ वटा देशमा १२ वटा संस्था मार्फत १३ लाख आमाहरूलाई तालिम दिइसकेको र ती आमाहरूले सही तरिकाले बालबालिकामा मुआकको प्रयोगबाट शीघ्र कुपोषण पत्ता लगाउने गरेको पाइएको छ । शीघ्र कुपोषणको व्यवस्थापनका लागि परिवार मुआक पद्धति कार्यक्रम हाल देशभरका चार वटा जिल्लाहरू पाँचथर, सप्तरी, काभ्रे र जुम्लामा लागु भइरहेको छ ।

अभिमुखीकरण कार्यक्रममा फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ, उपप्रमुख उर्मिला प्रधान श्रेष्ठ, बहुक्षेत्रीय पोषण कार्यक्रमका कर्मचारी, फोकल पर्सन, नगरपालिकाका कृषि, स्वास्थ्य, शिक्षा र महिला तथा बालबालिका शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम नगरप्रमुख ओनाहाङ नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया