गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको अध्यक्षमा तेजबहादुर थापा चयन भएको छ । शुक्रबार दमामस्थित अल खायाम रेस्टुरेन्टमा सम्पन्न सातौं महाधिवेशनले थापाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेका हुन् ।
समितिको बरिष्ठ उपाध्यक्ष ध्रुव रिजाल, उपाध्यक्षत्रय विशालकुमार श्रेष्ठ, रोशन श्रेष्ठ र भोला पौडेल, महासचिव उमेश भट्टराई, कोषाध्यक्ष संतोष लुइँटेल, सहकोषाध्यक्ष योगेन्द्रबहादुर श्रेष्ठ रहेका छन् । महिला संयोजक रविना अर्याल, युवा संयोजक राजकुमार श्रेष्ठ र प्रवक्तामा विष्णु न्यौपानेलाई मनोनित गरेका छन् ।
त्यसैगरी सदस्यहरु बालकृष्ण पंगेनी, नरेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पोखरेल, चन्द्रमणि भण्डारी, सत्यनारायण केसी, रामबहादुर क्षेत्री रहेका छन् ।
एक उपाध्यक्ष र सचिव भने पछि मनोनित गर्ने अध्यक्ष थापाले जानकारी दिए ।
निर्वाचन समितिका संयोजक जोन (राजेन्द्र) अर्यालले आइसीसी सदस्यहरु बाहेक सबै पदहरू सहमतिमै टुंग्याएको जानकारी दिए । संयोजक अर्यालका अनुसार सेप्टेम्बर १३ तारिख शुक्रबार आइसीसीका लागि निवर्तमान अध्यक्ष नारायण पासवान र उपाध्यक्ष उषा केसी बीच रियादस्थित दूतावासमा निर्वाचन हुनेछ । उनले भने, ‘यता निर्वाचन गर्न असुरक्षित रहेकोले दूतवासमा गर्नुपरेको हो ।’
संघकी मध्यपूर्वकी महिला उपसंयोजक यस्मिन बेगमको संयोजकत्वमा बनेको समितिले दोस्रोपटक परिषद्को विधान संशोधन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत डा.प्रा.महेन्द्रसिंह राजपुतले शुभकामना दिँदै कामदारको तलब सुविधाबारे संघले गरेको कार्यले दुतवासलाई उर्जा थपेको बताए । राजदूत राजपुतले भने– ‘दूतावासको प्राङ्गणमा जन्मिएको संघलाई दूतावासको सधैं सहयोग रहनेछ ।’
कार्यक्रममा नियोग उपप्रमुख दिलीपकुमार पौडेल, श्रम सहचारी अम्बिका अधिकारी, दूतावास कर्मचारी हरि घिमिरे लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।
कार्यक्रमका विशेष अतिथि संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले नवनिर्वाचित टोलीलाई शुभकामना दिए । उपाध्यक्ष पन्तले साउदीमा रहेका नेपालीहरुलाई भेट्ने इच्छालाई संघका साउदी समितिले अवसर जुराई दिएको बताए । संघको २०१९-२०२१ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको र यहाँहरुले आफ्ना अमुल्य भोट दिएर विजय गराउन सहयोग गर्नेछ आशा लिएको छु, उपाध्यक्ष पन्तले भने,´।
समारोहमा प्रवासी एकता मञ्चका संयोजक शिवराज जैसी, जनसम्पर्क समितिका बरिष्ठ उपसभापति अर्जुन थापा, मध्यपूर्वकी महिला उपसंयोजक यस्मिन बेगम, निर्वाचन समिति सदस्य रमेश भण्डारी संघका संरक्षक बिमल गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्तले सपथ ग्रहण गराइएका थिए ।
कार्यक्रममा स्थानीय बालकलाकारहरू दिक्षा थापा, दिव्या थापा, तपस्या अधिकारीले नृत्य प्रस्तुत र विष्णु न्यौपाने लगायत साहित्यकारहरूले कविता बचन गरेका थिए ।