दोरम्बा शैलुङ सांस्कृतिक महोत्सवको तयारी तीव्र

सैलुङअनलाइन संवाददाता
काठमाडौं

सानो सैलुङश्वरी महादेव दर्शन तथा पौष पूर्णिमाको अवसरमा ‘दोरम्बा शैलुङ महोत्सव’ हुने भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजद्वारा माघ २ र ३ गते दोरम्बा पोङ्दी गुम्बामा आयोजना हुने महोत्सवको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ ।

दोरम्बा सैलुङ गाउँपालिकाद्वारा प्रायोजन गरिएको महोत्सवको उद्घाटन सत्र बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने आयोजक संस्थाका अध्यक्ष मिलन लामा मोक्तानले जानकारी दिए ।

स्थानीय भाषा‚ संस्कृति र ओझेलमा रहेका सानो सैलुङको प्रचारप्रसार गर्न महोत्सवले थप टेवा पुग्ने उनको भनाई थियो । महोत्सवको प्रारम्भमा लामा‚ झाँक्री‚ ताम्बा लगायतको प्रदर्शनले त्यहाँका संस्कृति झल्काउनेछ‚ अध्यक्ष मोक्तानले भने ।

अध्यक्ष मोक्तानका अनुसार कोभिडको त्रास रहे पनि सदियौँदेखि लाग्ने शैलुङश्वरी मेला स्थगित हुँदैन । सोही अवसरमा आयोजित महोत्सवलाई खासै असर नपर्ने बताए । जिल्ला प्रशासन कार्यालयबाट सूचना आजसम्म भएको छैन‚ यदि सूचना जारी भएमा कर गर्न नमिल्ने उनले बताए ।

कार्यक्रममा रामेछाप लगायत देशभरका राष्ट्रिय कलाकारहरूद्वारा बेजोड साङ्गीतिक प्रस्तुति रहने प्रचारप्रसार विभागका संयोजक सन्ध्या सुस्केरा मोक्तानले जानकारी दिइन् ।

‘दुई दिने कार्यक्रममा साङ्गीतिक माहोलले जाडो हटाउनेछ’‚ उनले भनिन‚ ‘फापारे गीत‚ सेलो गीत लगायत अन्य गीतहरूले महोत्सवको बढवा दिनेछ ।’

महोत्सवमा सुन्तला‚ किवी‚ ढिँडो लगायत स्थानीय परिकारको स्वाद लिन पाउने आयोजकले जनाएको छ ।

बर्सेनि पौष पूर्णिमाको दिन शैलुङश्वरी महादेवमा मेला लाग्दछ । सोही दिन टाढा टाढाबाट दर्शनार्थी‚ झाँक्री लगायत अन्य धार्मिक पर्यटकहरू दर्शनका लागि पुग्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया