सेन्ट लरेन्सले मनायो रजतजयन्ती

सैलुङअनलाइन संवाददाता
काठमाडौं

सेन्ट लरेन्स कलेजले बिहीबार रजत जयन्ती मनाएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो समारोहमा कलेजमा प्रवेश गरेका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २५ वर्षको अवधिमा प्राप्त सफलता, असफलता तथा चुनौतीको समीक्षा गर्दै अघि बढ्न कलेज परिवारलाई सल्लाह दिए ।

कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले आगामी दिनमा अझ स्तरीय कार्यक्रम सहित कलेजले आफे गुणस्तरमा थप ध्यान दिने बताए । कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले राम्रो टिम वर्कका कारण नै कलेजले महत्त्वपूर्ण सफलता हासिल गरिरहेको जानकारी दिए ।

कलेजका अध्यक्ष केशवप्रसाद दंगालले विद्यार्थी, अभिभावक सहित समस्त शिक्षा प्रेमीहरूको सहयोगले नै कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाएको धारणा राखिएको थियो ।

कार्यक्रममा अन्य वक्ताहरूले कलेजको प्रगतिको कामना गरेका थिए भने विद्यार्थीहरूले आ–आफ्नै अनुभव सुनाएका थिए ।

कार्यक्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थी तथा शिक्षकशिक्षिकाहरू सहित प्रतिभाशाली पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सेन्ट लरेन्स कलेजले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारै सङ्काय सञ्चालन गरिरहेको छ ।

यी चार सङ्कायमा मात्रै १५ सय ५० विद्यार्थी अध्ययनरत छन्। स्नातकतर्फ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीएस, बीएसडब्लु, बीएसस्सी. एसआइटी र बीसीएका कक्षाहरू सञ्चालित छन् भने त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा एमबीएसको कक्षा पनि सञ्चालन भइरहेको छ ।

प्लस टु सहित स्नातक र स्नातकोत्तर तहमा गरी २ हजार भन्दा बढी विद्यार्थीले यस कलेजबाट गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् । सैद्धान्तिक सहित जीवनोपयोगी व्यवहारिक शिक्षालाई पनि उच्च प्राथमिकता दिँदै आएको कलेजले प्लस टु तथा स्नातक तहमा लगातार उत्कृष्ट नतिजा हसिल गर्दै आएको छ । अतिरिक्त क्रियाकलाप सञ्चालनमा पनि यस कलेज अग्रणी स्थानमा रहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया