ग्लोबल रिस्क रिपोर्ट २०२२: नेपालका लागि यी हुन् सबैभन्दा ठुला पाँच खतरा

सैलुङअनलाइन संवाददाता
काठमाडौं

विश्वमा पर्यावरणसँग जोडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताको नोक्सानी सबैभन्दा ठुला खतरा औँल्याइएका छ । नेपालमा पनि पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएको छ ।

हालको अवस्थामा त कोभिड-१९ सबैभन्दा ठुलो चुनौती बनेर खडा भएको छ । तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’ अनुसार नेपालमा सबैभन्दा ठुलो खतरा रोजगारी र जीविकोपार्जनमा सङ्कट रहेको छ ।

डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेरोजगारीको समस्या बढ्दै गएको छ । त्यसपछि दोस्रो ठुलो खतराको रूपमा मानवका कारण पर्यावरणमा क्षति रहेको छ । प्राकृतिक स्रोतको बढ्दो दोहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएको हो ।

तेस्रो ठुलो खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएको छ भने चौथोमा सङ्क्रामक रोगको सङ्क्रमण खतरा रहेको छ । नेपालमा कोभिड-१९ मात्र होइन विभिन्न खाले सङ्क्रामक रोगको प्रकोप बेलाबेला फैलने गरेको छ ।

पाँचाै नम्बरमा डिजिटल असमानता र लामो समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएको छ । प्रविधिको क्रान्तिसँगै डिजिटल प्रयोग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् । जस कारण डिजिटल सेवाका कारण धनी र गरिबबिचको खाडल झन् बढ्ने आङ्कलन गरिएको हो । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ । कुल जनसङ्ख्याको झन्डै आधा जनशक्ति श्रम शक्ति रहे पनि विकासले फडकाे मार्न नसक्दा समस्या बढेको हो ।

वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु सबैभन्दा ठुला खतरा पहिचान गरिएको हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक सङ्कट, जियो-पाेलिटिक्स र अन्य विषय समावेश गरिएको हुन्छ ।

यो वर्ष’ग्लोबल रिस्क रिपोर्ट २०२२’, मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएको छ। त्यसबाहेक सर्वे पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया