कर्णालीकी सुनमाया अल्ट्रा ट्रेल रनिङ जितेपछि चर्चामा

सैलुङअनलाइन संवाददाता
जुम्ला

भनिन्छ नि, गरेपछि के सम्भव हुँदैन । जसको एक उदाहरण हुन् जुम्लाकी सुनमाया । उनको नाम यतिबेला विश्वभरी परिचित भएको छ । कर्णालीको दुर्गम जिल्ला जुम्लाको विकट ठाउँ पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा उमेरले अहिले २३ वर्षकी भइन् ।

केही समयअघि थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड बाई युटीएमबी `अल्ट्रा ट्रेल´ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएकी हुन् । सुनमायाले पुरुष-महिला तर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेकी समेत गरेकी छन् । धावक सुनमायाको यो जितसँगै उनको राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा चर्चा भइरहेको छ । थाइल्याण्डको च्याङ्ग माइमा भएको खेलमा एसियामा सबैभन्दा ठूलो `ट्रेल रेस´को रुपमा सञ्चालित छ । त्यहीको आयोजनामा गरिएको उक्त खेलमा सुनमाया महिला विधातर्फ ११० किलोमिटर लामो `ट्रेल रेस´ मा प्रथम भएकी थिइन् ।

सुनमायाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनट एक सेकण्डमा पूरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् । सुनमायाले राईभन्दा निर्धारित दूरी दुई घण्टा अगावै पूरा गरेकी थिइन् । महिलातर्फ नेपालकी मिरा राई दोस्रो भइन् भने थाईल्याण्डकी फिचामोन राक्साकुल तेस्रो भएकी थिइन् । सुनमायाको एउटा सामान्य किसान परिवारमा जन्म भएको हो ।

सुनमायाले कक्षा ७ मा अध्ययन गर्दागर्दै उनको ध्यान खेल र खेलाडी तिर तानियो । त्यसपछि सुनमायाले विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्डबाट खेलको यात्रा सुरुवात भएको बताइन् । सुनमायालाई झनझन् खेलप्रति रूची बढ्दै गयो । तर, सुनमायाको घरमा बुबा आमाको चाहना भनेको छोरीले सरकारी जागिरे हुनुपर्छ भन्ने थियो । जब सुनमायाले कक्षा १० को परीक्षा दिइन् । गाउँमा राम्रो शिक्षा सिकाई नहुने भएकाले सुनमायाले जिल्ला बाहिर गएर कुनै नयाँ विषय अध्ययन गर्ने प्रस्ताव घरमा राखिन् । तर, परिवारमा आर्थिक स्थिति कमजोर भएका कारण कुरा अन्तै मोडियो ।

सुनमाया भन्छिन्, `बाबा आमाले बाहिर पठाएर पढाउन सक्ने अवस्था थिएन । आर्थिक अवस्था कमजोर थियो । पढाउनुभन्दा बरु बिहे गर, उतै पढ्नु भन्नुभयो । मैले बिहे गर्दिनँ भनेर घरबाट कसैलाई नसोधेरै सदरमुकाम खलङ्गा गएको अहिले सम्झिन्छु ।´

सुनमायाको खेल यात्रा

अध्ययन गर्ने सपना बोकेर जुम्ला सदरमुकाम सिँजा पुगेकी सुनमाया कलेजभन्दा पनि खेलतिर बढी केन्द्रित भइन् । उनी भन्छिन्, ` कलेज म एक दुई हप्ता मात्र गएँ । बाँकी समय पुरै रनिङ गर्न थाले । सुरुसुरुमा सबैले मलाई गेम नखेल पैसा आउँदैन भन्नुहुन्थ्यो । तर, महिले खेलप्रतिको चाहनालाई त्याग गर्नै सकिन । निरन्तर आफ्नो यात्रा तय गरिरहँ ।´

सुनमायाले विद्यालय स्तरमा हुने खेलमा समेत पुरस्कारहरू जितेकी छन् । यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराथन, व्रेथलेस रनिङ, एसएसआईजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएको र पदक जितेको सुनमायाले सुनाइन् । सुनमाया आफ्नो यहाँसम्मको यात्राको मुख्य श्रेय हरि रोकाया गुरुलाई दिन्छिन् । सुनमायाले गुरु जस्तै बन्नको लागि निरन्तर खेलतिरै लगाब राखिन् । उनी भन्छिन्, ‘गुरुले जति गेमहरू जित्नुभयो । म पनि गुरु जस्तै गेमहरू जित्नसक्छु नि भन्ने आँट गर्थे । त्यसैले महिले सन् २०१६ देखि रनिङ गर्न थालेकी थिएँ ।’

त्यसपछि पहिलो पटक ‘ट्रेल रेस’ मा सहभागी हुन काठमाडौंको गोदावरीमा गएको बताउँछिन् । त्यहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ समेत सुनमायाले जितेकी हुन् । उनलाई त्यतिबेला ‘ट्रेल रेस’को बारेमा खासै जानकारी थिएन् । तर, जुम्लाबाट सुनमायाका गुरु हरिले गेम खेल्न भनेर गोदावरी पठाए । सुनमायाले त्यो खेल जितेपछित्यहीबाट नै आफ्नो ‘अल्ट्रा ट्रेल’ रेस रनिङको यात्रा तय भएको बताइन् ।

पढ्न पठाएको छोरी हाल यसरी खेलाडी बनेर आउँदा सुनमायामा बुबाआमा खुसी भएका छन् ।
`बुबआमा गाउँमै हुनुहुन्छ, खुसी हुँदै अझै राम्रो गर्नुपर्छ भनेर हौसला दिनुहुन्छ ।, हुन त यसअघि पनि मैले धेरै देशहरूमा खेल खेलिसकेको थिएँ’, भावुक हुँदै सुनमायाले भनिन्, ‘महिले देश बाहिर गएर धेरै खेलहरू पनि जितेकी छु । तर, कसैलाई थाहा हुँदैनथ्यो । एक्लै नेपालबाट बारिह जाँदा निकै पीडा हुन्थ्यो । मेरो घर त जुम्ला । अन्य खेलाडीहरूलाई बिदाइ गर्दा एरपोर्टमा फूलमाया लगाएर गरिन्थ्यो । मेरो त काठमाडौंँमा कोही हुनुहुन्थ्यो । कहिले काहीँ त एक्लो महसुस पनि हुन्थ्यो । एक्लै जाने आउने गर्थेँ ।’

दौडमा भाग लिएका देशहरू

सुनमायाले थाइल्याण्ड, स्विटजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रिेलिया लगायतका देशहरूमा आयोजित दौड प्रतियोगितामा सहभागिता जनाइसकेकी थिइन् । करिब ६ वर्षअघि `अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

सुनमायाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर नै एसियाकै प्रसिद्ध `द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । योसँगै सुनमायाले निःशुल्क प्रशिक्षण, पोषणयुक्त खाना, दौडसम्बन्धी सामग्री मात्र होइन, तलबसमेत पाउँछिन् ।

एसिया प्यासिफिक एडभेन्चर कम्पनीद्वारा सन् २००६ मा हङकङमा स्थापित साहसिक `कर्णाली स्पोर्ट्स क्लव´मार्फत सुनमायाले क्षेत्रीय दौड प्रतियोगिताहरूमा खेलेको अनुभव सुनाइन् । सन् २०१६ मा भएको १५२ किलोमिटरको मनास्लु माउन्टेन `ट्रेल रेस´मा प्रथम भएपछि भने उनीप्रति धेरैको ध्यान केन्द्रित भएको थियो ।

कर्णाली सरकारद्वारा सुनमायालाई सम्मान

गत सोमबार बिहान सुर्खेत विमानस्थलमा र त्यसपछि प्रदेश सरकारले स्वागत तथा सम्मानसमेत गरेको छ । सुनमायालाई सोमबार बिहान सुर्खेत विमास्थलदेखि मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो ।

उनको स्वागत गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको बताए । साथै मुख्यमन्त्री शाहीले प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । सुनमायालाई प्रदेश सरकारले दुई लाख रुपैंया पुरस्कार दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया