केवलकार संचालनसँगै कालिञ्चोकमा पर्यटनको वृद्धि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

पूर्वाधार विकाससँगै दोलखाको कालिञ्चोक भगवती मन्दिर पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । कालिञ्चोकमा गत वर्ष कार्तिक महिनाबाट केवलकार संचालनमा आएको हो ।

केवलकार सञ्चालनमा आएपछि भगवती मन्दिर पुग्न झनै सहज भएको र कालिञ्चोक भगवतीको दर्शण गर्न आउनेहरुको संख्यामा वृद्धि भएको कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक अशोक शिवाकोटी बताउँछन् । उनी थप्छन्– ‘पहिला कुरीबाट भगवती मन्दिरसम्म पुग्न एक किलोमिटर जतिको उकालो हिँड्नु पथ्र्यो । उकालो चढ्न नसकेकै कारण कति पर्यटकहरु बीच बाटोबाटै फर्किन बाध्य हुन्थे । अहिले केबलकारको. स्टेसनबाट पाँच मिनेट हिँडेपछि मन्दिर पुगिन्छ । यसले गर्दा वृद्धवृद्धाहरुका लागि पनि कालिञ्चोक भगवतीको दर्शन सहज बनेको छ ।’

समुद्री सतहबाट ३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको कालिञ्चोक धार्मिक एवं पौराणिक दृष्टिले महत्वपूर्ण स्थल हो । कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि आउने पर्यटकहरुले केवलकार पनि चढ्न पाएका छन् । केवलकार संचालक बालकृष्ण शिवाकोटी भन्छन्, ‘केवलकार बनेपछि यहाँको मुहार नै फेरेको छ । धार्मिक पर्यटक मात्र नभई अन्य पर्यटकहरु पनि बढेका छन् ।’

केवलकारमा ४ वटा गोन्डुला (केवलकारका बक्स) छन् । ८ जनाको क्षमता रहेको केवलकारमा थोरै गोन्डुला भएपनि संचालन विधि भने अत्याधुनिक रहेको शिवाकोटी बताउँछन् ।

कालिञ्चोक प्राकृतिक र जैविक विविधताले पनि भरिएको छ । विगतमा धार्मिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको कालिञ्चोकमा अहिले हिमालका मनोरम दृश्य नियाल्न र हिउँ खेल्न पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ ।
कालिञ्चोक भगवती मन्दिरमा पुगेपछि पर्यटकले आफू हिमाल छेउ उभिएको महसुस् गर्छन् । यो अनुभूतिले उनीहरुको यात्रालाई सार्थक तुल्याउने गर्दछ ।

करिब ५० करोडको लागतमा निर्माण भएको केवलकार नेपालमा तेस्रो हो । एक दिनमा २ हजार जनासम्मको भार वहन गरेको संचालक शिवकोटीले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म सबैभन्दा वृद्ध १०२ वर्षका बृद्वलाई केवलकार चढाएका छौं ।’ केवलकारमा वृद्धवृद्धालाई निशुल्क, विद्यार्थी र पत्रकारलाई २५ प्रतिशत छुट र कालिञ्चोक गाउँका स्थानीयलाई पनि छुट दिएको शिवकोटी बताउँछन् ।

केवलकार चढ्नका लागि नेपालीका लागि प्रति व्यक्ति ५ सय रुपैयाँ र विदेशीलाई १० डलर तोकिएको छ ।

संचालक शिवाकोटीका अनुसार वर्षको विशेष पर्वहरु दशैं, तिहार, चैते दशैं, जनैपुर्णिमा लगायत पर्वहरुमा कालिञ्चोकमा भक्तजनको भिड लाग्ने गर्दछ ।

केवलकार बनेपछि कुरीमा होटल र रिसोर्टहरु पनि बढेका छन् । हरेक हप्ताको शुक्रबार होटलहरु भरिभराउ हुने होटल संचालकहरु बताउँछन् ।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजारसम्म कच्ची मोटरबाटो बनेको छ । तर, हिउँदमा मात्र सार्वजनिक सवारीसाधन बस संचालनमा आउँछन्, वर्षातको समयमा बस चल्दैनन् । हलुका सवारी साधन जीप र मोटरसाइकल भने नियमित नै संचालन हुन्छन् ।

कालिञ्चोक पुग्ने सडकको अवस्था नाजुक रहेकाले सडक स्तरोन्नतिमा भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाले चासो दिनुपर्ने शिवाकोटीको भनाई छ । ‘बाटोको अवस्थाले गर्दा यहाँ आउने पर्यटकहरुले समस्या खेपिरहेको छ,’ शिवकोटीले भने ।

कुरीमा अव्यवस्थित बजार र सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था नहुनु समस्या रहेको शिवाकोटीले बताए । उनले सुरक्षाका लागि जिल्लामा प्रहरी चौकीको माग समेत गरेको तर जिल्लाबाट कुनै सुनुवाई नभएको गुनासो गरे ।

४० वटा घडेरीले मात्र स्वीकृति पाएपनि अहिले कम्तिमा पनि एक सय जति होटलहरु संचालनमा रहेको शिवाकोटीको भनाई छ । अव्यवस्थित घरहरुको निर्माणले गर्दा यहाँका सौन्दर्य कुरुप बन्दै गएकोमा उनी चिन्तित देखिए ।

कालिञ्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका