साउदी घेदुङका कोषाध्यक्ष पाख्रिन नेपाल फर्किदै

पाख्रिनको पहलमा झन्डै २ दर्जन घरेलु महिला कामदारको उद्धार

नवराज तामाङ सैलुङअनलाइन
दमाम, साउदी अरब

नेपाल तामाङ घेदुङ पूर्वीय क्षेत्रीय समन्वय समिति दमाम साउदी अरबका कोषाध्यक्ष रोशन पाख्रिन आज रातीको हिमालयको उडानबाट नेपाल फर्किदै छ । जुबेलस्थित अल्माराई कम्पनीमा कार्यरत कोषाध्यक्ष पाख्रिन १३ वर्षपछि साउदीलाई बिट मार्दै छन् ।

क्षेत्रीय घेदुङले यसअघि दमामस्थित होलीडेज रेस्टुरेन्टमा एक कार्यक्रम गरेर कोषाध्यक्ष पाख्रिनसँगै सचिव सुवास मोक्तानलाई समेत बिदाइ गरेको थियो । कार्यक्रममा बरिस्ठ सल्लाहकार राम माया तामाङ, कार्यवाहक अध्यक्ष विजय लामा, वरिष्ठ उपाध्यक्ष शम्सेर तामाङ, सचिव खुसी थिङ, सांस्कृतिक विभाग प्रमुख कुमार लामा लगायत सदस्यहरू उपस्थित रहेका थिए ।

दमाम घेदुङले कोषाध्यक्ष पाख्रिन र सचिव मोक्तानलाई मायाको चिनो समेत प्रदान गरेको थियो । सचिव मोक्तानले भने यसअघिनै साउदीलाई बिट मारिसकेका छन् ।

कार्यक्रममा सल्लाहकार राम माया तामाङले मायाको चिनो प्रदान गर्दै शुभकामना मन्तव्य राखेकी थिइन् । उनीहरूलाई नेपाल पुगेर पनि समुदायको हकहितका लागि लडिरहन सल्लाहकार तामाङले आग्रह गरिन् ।

कोषाध्यक्ष पाख्रिन कोरोना महामारीमा पनि घेदुङले बृहत् कार्यक्रम गरेर मात्र बिदाइ गरेकोमा धन्यवाद दिए । उनले घेदुङसँग जोडिएर जातीय पहिचानलाई प्रवर्द्धन गर्न पाएको क्षण जीवनमा कहिले नबिर्सिने बताए । उनले यहाँ जस्तै नेपालमा पनि समुदायका हक अधिकारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न आवाज उठाइरहने प्रतिबद्धता गरे ।

सिन्धुपाल्चोक, लिसंखुपाखर-७, का पाख्रिन जिफन्ट सहयोग समूह साउदीका सचिव समेत हुन् । उनले जिफन्ट सहयोग समूहबाट नेपाली दूतावाससँगको सहकार्यमा सिन्धुपाल्चोककी कबिता तामाङ, कास्कीकी माया विक, ओखलढुंगाकी सरिता तामाङ, खोटाङकी बिमला लिम्बु लगायत अन्य गरि झन्डै २ दर्जनभन्दा धेरै घरेलु महिला कामदारहरूको उद्धार गरेर नेपाल पठाइसकेका छन् ।

त्यस्तै घेदुङ र जिफन्टले नेपाली दूतावासको सहयोगमा २ जना घरेलु महिला कामदारहरूको उद्धार गरेर नेपाल फर्काए । पाख्रिनका अनुसार कुवेत हुँदै साउदी ल्याएकी घरेलु महिला कामदार चितवनकी प्रिया दाहालको पनि दूतावाससँगको सहकार्यमा उद्धार हुने क्रममा छन् । यस्तै साउदीका विभिन्न कम्पनीमा कार्यरत महिलाहरुविभिन्न प्रलोभनमा परि फसेका पैसा समेत आफुले उठाइदिएको कोषाध्यक्ष पाख्रिनको भनाइ छ । उनले गएको नोभेम्बरमा मात्र साउदीमा कार्यरत सर्लाहीकी एकजना महिलाको ८ हजार रियाल फिर्ता गराउन ठुलो भुमिका खेले ।

घरेलु काममा साउदी जान नेपाल सरकारले बन्देज लगाएको छ । पाख्रिनको विशेष पहलमा उद्धार भएको घरेलु महिला कामदारहरू भने कुवेत हुँदै साउदी भित्र्याएको बताउँछन् । उनीहरूका अनुसार कुवेतीहरु आफन्त भेट्न आउँदा साउदी ल्याएका हुन् ।

त्यसैगरी बिदाइ भएका सचिवको आग्रहमा ओखलढुंगा, फेदिगुठ-४,स्थित श्री नवजीवन उच्चा माविका ई -लाइब्रेरी निर्माण अभियानलाई घेदुङले १५ हजार २८८रुपैयाँ सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार हालसम्म विभिन्न रोगका बिरामीहरू र साउदीमा विभिन्न कारण पीडित भएका तामाङ तथा गैर तामाङहरू लगायतलाई दमाम घेदुङले सहयोग गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया