नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका वर्षहरूमा झैँ यस वर्ष पनि ल्होछार मनाउने भएको छ । २८५८ सोनाम ल्होछार (ताक ल्हो/बाघ वर्ग) को अवसरमा फेब्रुअरी ४ तारिखमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउने तयारी गरिरहेको छ । ल्होछार सम्बन्धी रहेर समाजका अध्यक्ष सुवास तामाङसँग सैलुङअनलाइनले गरिएको संक्षिप्त कुराकानी :
ल्होछार मनाउने तयारीमा जुटिरहनुभएको छ र तयारी कस्तो भइरहेको छ ?
फेब्रुअरी ०४ तारिखमा हुन गइरहेको २८५८ (ताक/च्यान ल्हो) सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको तयारी एकदम तीव्र भइरहेको छ । कार्यक्रमको लागि संस्थाका सबै पदाधिकारी लगायत कार्यसमिति सदस्यहरूलाई विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै कार्यक्रम अन्तिम चरणमा तयारी भएको छ ।
कोरोनाको महामारीका बिचमा पनि ल्होछार मनाउने तयारी जुटिरहेको छ‚यसको लागि सचेत कसरी अपनाइरहेको छ ? र कतार सरकारले अनुमति दिनुभएको छ ?
नेपाल प्रवासी तामाङ समाज कतारले प्रत्येक वर्ष गर्दै आएको ल्होछार कार्यक्रम गत वर्ष कोरोना महामारीको कारण स्थगित भएको थियो।यसवर्ष भने विश्व स्वास्थ्य सङ्गठन (WHO) ले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने र कतार सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको नियमलाई पालना गर्दै कार्यक्रम आयोजना गर्दैछौं ।
कार्यक्रम गर्न कतार सरकारको अनुमतिसँगै स्थानको अनुमति लिनुपर्ने हुन्छ । त्यही अनुरूप हामीले कार्यक्रम गर्न लागिरहेको छौँ र हामीले अल दोसरीजू व्यवस्थापनसँग अनुमति लिएर नै कार्यक्रम गर्न लागेको हो ।
स्थानीय कलाकारहरूको प्रस्तुति कस्तो हुनेछ ?
कार्यक्रममा कोरोना यो विषम परिवेश रहेकाले नेपालबाट आउने कलाकार छैन । नेपाल प्रवासी तामाङ समाज कतारको कलाकार, म्हेन्दोमाया समाजको कलाकार र नेपाल तामाङ कलाकार सङ्घ कतारका कलाकारहरूको आफ्नो तामाङ कला‚ संस्कृति र पहिचान झल्किने प्रस्तुतिहरू हुनेछ ।
अनि साङ्गीतिक कार्यक्रमसहित ज्ञानका विषयमा पनि बहस छलफल गर्दा कस्तो होला ? यसबारे तपाईँको कार्यकालमा केही सोच्नुभएको छ ?
धेरै धेरै धन्यवाद प्रश्नको लागि । एकदम राम्रो विषयको उठान गर्नुभएको छ । अवश्य पनि हामीले आफ्नो समुदायलाई ज्ञानवर्धक विषयहरूको छलफल र बहस गर्नु नै पर्छ । नेपाल प्रवासी तामाङ समाज कतारले तामाङ लिपि, भाषा, धर्म, कला‚ संस्कार संस्कृति र रीतिरिवाज सम्बन्धी स्थापनाकालदेखि नै विभिन्न अन्तरक्रिया तथा बहस कार्यक्रमहरू गर्दै आएको अवगत गराउन चाहन्छु ।
त्यसै गरी मेरो कार्यकालमा पनि निरन्तरता दिँदै सचेतनामूलक कार्यक्रमहरू गर्ने तयारीमा छु। साथै ‘तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण’ भन्ने मूल नारालाई आत्मसात् गर्दै शैक्षिक तथा आर्थिक क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्ने सोच बनाएको छु । कतारमा कार्यरत सम्पूर्ण तामाङ दाजुभाइदिदीबहिनीहरुलाई व्यक्तित्व विकास सम्बन्धी प्रेरणा दिने कार्यक्रम गर्ने सोचमा छु।
अन्तमा‚
सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको बारेमा संस्थागत तथा मेरो व्यक्तिगत भनाइहरू सैलुङअनलाइन डट कममा राख्ने मौका दिनुभएकोमा धन्यवाद । साथै हामीले कार्यक्रम स्थलसम्म निस्शुल्क यातायातको व्यवस्था गरिएको छ । आफूलाई पायक पर्ने स्थानमा हाम्रा व्यवस्थापन पक्षका पदाधिकारीसँग सम्पर्क गरी उपस्थितिका लागि अनुरोध छ । ल्होछारला ज्याबाम्हान्बा ।