साउदीको अल कासिमस्थित अल रवाफ कम्पनीका अग्निपीडित नेपाली श्रमिकहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएन) साउदीका क्षेत्रीय समिति अल कासिमले सेप्टेम्बर ९ तारिखमा खाद्यान्न सामग्री सहयोग गरेको छ ।
समितिले अल रवाफ कम्पनीका कम्पाउन्ड (कन्टेनर) मा भएको आगलागीबाट एक कन्टेनर पूर्ण रुपमा जलेर नष्ट हुँदा पीडित भएका २० जना नेपालीलाई राहत स्वरुप खाद्यान्न सामग्री प्रदान गरेको संघका उपाध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।
कम्पनीमा पाकिस्तानी, इन्डियन, फिलिपिनी र नेपाली कामदारहरू छन् ।
तीनवटा कम्पाउण्ड(कन्टेनर) रहेका उक्त ठाउँमा प्रत्येक कन्टेनरमा करिब १२० जना बस्ने गरेको अग्निपीडितहरुले बताए । दिउँसोको समयमा भएको उक्त आगलागिमा मानवीय क्षति नभए पनि लाखौंको सम्पत्ति आगोले जलेका छन् ।
पाकिस्तानी र नेपाली श्रमिकहरू बसोबास गर्ने उक्त कन्टेनर जल्दा करिब ९० पाकिस्तानी र २० नेपालीको लत्ताकपडा तथा खाद्यान्न समाग्री लगायत अन्य समानहरू जलेर नस्ट भएको छ । करिब तीन घन्टामा एक दर्जनभन्दा धेरै बरुण यन्त्र तथा आगो नियन्त्रण ग्याँस यन्त्रले तीन घन्टामा नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरुले बताए ।