कवि नेत्र एटमको ‘प्रिय मौनता’ उपासना कविताहरूको सङ्ग्रह हो । यसमा सख्खरको मिठास, प्रखरता र सदाबहार रहने व्यापक प्रेमको शालीन आवाज प्रतिध्वनित छ । कविको आफ्नोपन भन्नु नै हृदय र दिमागले प्रकृतिलाई गर्ने विराट प्रेम भएकाले यसका कविता अनेक विम्ब, प्रतीक, मिथकको प्रयोगले चमकदार बनेका छन् । मूल रूपमा प्रेमको भाव भए पनि प्रेमभित्रै जीवनदर्शन, प्रकृति, पर्यावरण, समाज, राजनीति, अस्तित्व, इतिहास जस्ता विविध पक्षसमेत यसमा समेटिएर आएका छन् ।
‘मौनता हृदयको संवाद हो’ भन्ने कविको स्वीकारोक्तिसँगै कविता पढ्दै जाँदा र कविले पात्रसँग एकालापमा मौन संवाद गरिरहँदा पाठकले आफू पनि त्यही एकाकार भएको आभास पाउँछ । कविता बाहिरबाट हेर्दा शान्त देखिए पनि तिनमा बग्दै जाँदा भावको गहिराइ, गतिशीलता र विद्रोही प्रकृतिको विपुलता प्राप्त हुन्छ ।
प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोधन, स्मृतिको क्याराभान र उपासनाको आलोक गरी यसमा रहेका कविताको सूचीलाई पाँच भागमा छुट्याइएको छ । यस प्रकारको विभाजनले कृतिलाई विषय र चिन्तनका दृष्टिबाट भिन्न लयमा उनेर राखेको छ । पठनलाई यसले सहज बनाई विषयमा केन्द्रीकृत गर्न मद्दत पुर्याउँछ ।
‘प्रणयको प्यासन’ खण्डमा आत्मीयता, विश्वास र समर्पणका भावका जालहरू यसरी फैलिएका छन् कि तिनमा बेरिएपछि निस्कन र फुक्का हुनै मन मान्दैन । यसमा नारीलाई जिन्दगीको उत्साह र ऊर्जाको सर्वोच्च स्रोत मानेर सम्बोधन गरिएको छ, जीवनको पर्दा उघ्रन्छ कवितामा यसरी :
‘बोलाएको हुँ
मैले नै तिमीलाई
सुसेली हालेर बतासको
जसरी बोलाउँछ धर्तीले
मनसुनलाई
आफू सुक्न लागेको थाहा पाएपछि’
प्रकृतिले जस्तै कविको जीवनलाई पनि नारी पात्र (तिमी) बाह्रमासे बहार ल्याइदिएको हुनाले उनको जर्जर जीवन उर्वर बनेको देखिन्छ ।
‘प्रमुदित प्रकृति’ खण्डका कवितामा प्रकृति, पर्यावरण र मानिसको सम्बन्धलाई केलाइएको छ । जीवन बाँच्नका लागि गाँस, बास, कपास सबै उपलब्ध गराएको प्रकृतिको गुणलाई बिर्सेर कृत्रिम आडम्बर र विलासितामा भुल्दा मान्छेले उसको अत्यधिक दोहन गरेको छ । समयको व्यायाम हुन्छ शब्द–शब्दमा
‘कुहिरिलो अँध्यारोको उदासीले छोपेर
ढिलो गरी आइपुगेको छ मरन्च्याँसे घाम’
यतिसम्म कि प्राकृतिक प्रचण्ड घाम पनि कवितामा मानव निर्मित संरचनाले छेलिएर आफ्नो बास गुमाउने अवस्थामा पुगेको छ । तर, कत्ति पनि उसले स्वार्थी नबनी आफूले ताप, प्रकाश छरेर जीवन ऊर्जा प्रदान गरिरहेको छ । फेरि ‘मान्छे’ कवितामा कवि प्रकृतिलाई बोल्न लगाउँछन्
‘प्रकृति हुँ, म प्रकृति
तिम्रै प्रकृतिको भक्षण
आमेन’
मान्छे कवितामार्फत मान्छेको स्वार्थीपन अति चरममा पुगेपछि प्रकृति सहनशील बन्न नसकेर गतिलो झापड हिर्काएर यथार्थ पढाउन आउने कुरा सङ्केत गरिएको छ । ‘उन्यु’ बहुत प्रभावशाली कविता हो, कविताको हिमाल यसरी खुल्छ :
‘पातमै बिउ उमार्ने तिम्रो कला
जराबाटै पुष्पित हुने तिम्रो सामर्थ्य
धरतीतिर निहुरिएको तिम्रो समर्पण
र ओसमा फैलिएको स्वाभिमान’
यो कवितामार्फत समाजमा बनाइएका कथित मानक आदर्शका आधारमा जन्म, नाप–नक्सालाई लिएर परेका/पारिएका ओझेलिएका किनाराकृत समुदायलाई यसले जागरूक बनाउन खोजेको छ । भिरछेउमा उम्रिनु, टाँकुरामा टेक्नु, छहारीमा फुल्नु कहाँ अप्ठ्यारो मात्र हो र …? त्यसको छुट्टै प्रफुल्ल, सुरक्षित र उत्साहपूर्ण अस्तित्व पनि पहिचान हुन्छ । म दबिएँ भन्ने भाव छोडेर आत्म गौरवमा बाँच भनी क्षमता निखारेर, तिखारेर आउन आह्वान गरिएको छ ।
आफूभित्रको ‘म’ लाई जगाएर ज्ञान, आत्मविश्वास बढाइ स्वतन्त्र शानदार जीवन बाँच्न सकिने कुराको सङ्केत गरिएको छ । सुरुमा कविता पढ्दा लाग्छ, जीवनमा मिठो प्रेम छ, जीवन हराभरा छ तर कविताको वक्ता प्रेमी यति बहकिएको छ । कविता पढिसक्दा फेरि लाग्छ, आफ्नो तन र मनको सुख र दुःखमा रौसिँदै जाँदा ऊ हराएर प्रेमिकासँग संवाद गर्न नै बिर्सन्छ ।
‘अभीप्साको उद्बोधन’ खण्डका कवितामा सत्ता र शक्तिको उन्मादका कारण मानवले मानवलाई गर्ने अमानवीय व्यवहारको चिरफार गरिएको छ । थुप्रै राजनीतिक आन्दोलन, विभिन्न वर्ग, जाति, लिङ्गको उत्थानका नाममा भएका तर सत्ताको शक्ति मात्र फेरिएको, वास्तविक जनताको पहिचान र अमनचयन आउन नसकेको तितो यथार्थ यसमा भेटिन्छ । ‘मिथ्या मान्छेहरू’ खोक्रो भएर पनि देखाउनको लागि दम्भ र घमन्ड अति देखाउने प्रवृतिप्रति व्यङ्ग्य छ अनि ‘विस्मृतिको पिँजडा’ कवितामार्फत अन्धकारमा भयग्रस्त भएर पिल्सिएको जीवन बाँच्न विवश स्थितिको चित्रण प्रखर छ ।
जात र लिङ्गको आधारमा इतिहासदेखि वर्तमानसम्म नै जकडिएको कुसंस्कारको परिवेशमा ‘नङ्गेली ब्लुजले’ कठोर समस्यासँगै प्रतिकारमा उत्रन पनि आह्वान समेत गरेको छ । ‘स्मृतिको क्याराभान’ खण्डका भने कवितामा कवि आफूले हिँडेर आएको यादको बाटोलाई सम्झेर पुलकित र दुखित भएको मिश्रित भाव व्यक्त गरेका छन् । हिँडेर आएको पाटो र बाटो, सँगसँगै खेलेका साथीहरू समयको हुरीले जहाँ उडाएर लगे पनि अन्तै आफ्नो पहिचान बनाउन खोजे पनि आफ्नोपनको निशानी अमिट रहेको निष्कर्ष यसका कवितामा पाइन्छ ।
विशेष पात्रसित नजिक नभएको तर टाढा पनि हुन नसकेको, बरु परिकल्पनामा सधैँ उसलाई देखिरहेको रोमाञ्चक भाव यहाँ व्यक्त गरिएको छ ।
‘उपासनको आलोक’ शीर्षक कवितामा पक्का हेर्दा नदेखिने तर महसुस, चिन्तन गर्न सक्दा जिन्दगीमा केही त छ, जुन आफैमा ज्यादै विशाल र व्यापक रहेको छ । त्यो आफूभित्रको बुद्धत्व पत्ता लगाउन आफैँभित्र चिन्तन, संवाद, यात्रा जरुरी रहेको, ज्ञानको खोजीमा दशतिर भौतारिरहन आवश्यक नरहेको तर आफैँभित्र दीपको खोजी गर्नुपर्ने कुरा व्यक्त गरिएको छ । ‘प्रवर्तन’ कविताले भन्छ :
‘यो यात्रा
कतै पुग्नलाई हिँडेको थिइनँ
तर ‘कतै’ आइपुगेको छु’
तिमीसम्मन्
केही पाउनलाई आएको होइनँ
र त केही पाइसहेको छु’
यस प्रकार कुनै अपेक्षा, सर्त र गन्तव्यको रेखा नकोरी जिन्दगीको पाटो र बाटोमा हिँड्दै जाँदा प्रफुल्ल धुन भेटेर मन जीवनसंगीतले लयदार बनेको छ । जीवनमा यदि महत्त्वाकाङ्क्षा राखिएको भए त्यसैको भारी भएर हिँड्न गाह्रो हुने अनि सोचेको कुराको प्राप्ति नहुँदा मन भत्केर विक्षिप्त भई गहिरो चोट सहन बाध्य हुनुपर्दथ्यो होला । अरूमाथि कुनै आशा र भरोसा नगरेकैले यात्रामा मजबुत भएर आफैँ स्वीकार, समायोजनको भावले पाइला चाल्दा अनुपम उपहारस्वरूप प्रेमिल मन प्राप्त भई तृप्तिको खुसी र आनन्द मिलेको भाव अभिव्यक्त भएको पाइन्छ ।
समग्रमा ‘प्रिय मौनता’ जीवन र जगत्को उपासना गरिएका कविताहरूको सङ्कलन हो । यसले पाठकलाई स्पर्श गर्छ, कतै आनन्दित पार्छ अनि कति आन्दोलित पनि गर्छ । यसको प्रमुख पक्ष प्रेम आएर प्रेमिल रूपमा विविध पक्षलाई सुललित र मिठासपूर्ण तरिकाले अभिव्यक्त गर्नु यस कृतिको बलशाली पक्ष हो ।
यसमा वर्तमानका विविध समस्या, विकृति, विसङ्गतिलाई देखाउँदै तिनका विरुद्ध प्रतिकार गर्न पनि शालीन ढङ्गले आव्हान गरिएको छ । स्थानीय तहदेखि अन्तर्राष्ट्रिय साहित्यसँग पनि शब्दको पुलले जोडेर वृहत् ज्ञान दिन र नयाँ तरिकाले संवाद र पुनसिर्जना गरेर अग्रजको सम्मान भाव प्रकट गर्ने कला यसमा प्रस्तुत गरिएको छ । आफूभित्रको ‘म’ लाई जगाएर ज्ञान, आत्मविश्वास बढाइ स्वतन्त्र शानदार जीवन बाँच्न सकिने कुराको सङ्केत गरिएको छ । सुरुमा कविता पढ्दा लाग्छ, जीवनमा मिठो प्रेम छ, जीवन हराभरा छ तर कविताको वक्ता प्रेमी यति बहकिएको छ । कविता पढिसक्दा फेरि लाग्छ, आफ्नो तन र मनको सुख र दुःखमा रौसिँदै जाँदा ऊ हराएर प्रेमिकासँग संवाद गर्न नै बिर्सन्छ । कस्तो अचम्म कतै यसमा प्रेमिकालाई निर्जीव वस्तुजस्तो व्यवहार पनि गरिएको छ । वक्ताकी प्रेमिका प्रेमीलाई सुख र मनोरञ्जन दिनमा मात्र सीमित भएको हो कि भन्ने शङ्का उब्जन्छ यी आत्मीय ‘तिमी’ सम्बोधनहरूमा । आफ्नो अस्तित्वपूर्ण भावनाको चेत वक्ताकी प्रिय पात्र मौनतामा किन पाइन्न, यसको जिज्ञासा उठिरहन्छ, पाठकको मनले कारणहरूको निरन्तर विमर्श गरिरहन्छ । यसले गर्दा कति ठाउँमा त सम्बोधित पात्रमा नारीको सजीव रूप आउँदैन, मूर्तिवत् रूप मात्र आउँछ । बरु चरासँग साङ्केतिक भाषामा बोल्छ वक्ता कवि । यस्तो देख्दा चाहिँ ‘प्रिय मौनता’ त ओहो’ अन्त्यहीन रुग्णता जस्तो पनि लाग्छ । प्रेममा प्रकृति र नारी दुवै प्रेमीबाट सताइएका छन् । उनीहरूको प्रेममा प्रफुल्लता र सक्रिय सहभागिता कि देखाइएन होला ? सामान्यतः पाठकले शिरीषको फूल, पारिजात, शङ्कर लामिछानेलाई सजिलै याद गरे पनि लगत्तै विदेशी साहित्यकारको प्रसङ्ग आउँदा भने त्यसबाट उसले अतिरिक्त बौद्धिक कसरतको भारी बोक्नुपर्ने हुन्छ । स्वैरकल्पनाको प्रयोगमार्फत चिहानबाट सिल्भियालाई उठाउन सक्ने कविले इतिहासमा हारेकी नङ्गेलीलाई कविताको रङ्गमञ्चमा जिताएको भए पनि त हुन्थ्यो होला भन्ने मनमा लाग्न सक्छ । आफू विपश्यनाको मौन ध्यानमा बसेर यसरी पाठकको मनलाई चाहिँ असङ्ख्य रोमाञ्च, जिज्ञासा, असन्तुष्टि र प्राप्तिहरूको कोलाजमय विमर्शमा पुर्याउन सक्नु कवि नेत्र एटमको ‘प्रिय मौनता’ को शक्ति हो ।