गोसाइँकुण्ड नेपालको महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो । यो कुण्ड रसुवा जिल्लामा पर्दछ । हिन्दू, बौद्ध तथा बोन धर्म अनुयायीहरूको अत्यन्तै महत्वपूर्ण धार्मिक, सास्कृतिक र एतिहासिक केन्द्र हो । यो ४,३८० मिटरको उचाईमा रहेको छ । गोसाइँकुण्डमा जेठ पूर्णिमा, श्रावण पूर्णिमा तथा दशाहारामा विशेष पर्व लाग्दछ ।
गोसाइँकुण्डलाई हिन्दू, बौद्ध तथा बोनले आ–आफ्नै तरिकाले आस्थाको प्रतीक मानेर पुज्ने साझा केन्द्रको रूपमा मान्दछन् । चट्टानको पहराको कापबाट मुख्यतः तीन ठाउँबाट कञ्चन जल निस्किएको र पहराबाट विलय हुँदै कुण्ड बनेको देखिन्छ।
६२५.५५ मीटर लम्बाई र ३०२ मिटर चौडाइको १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डमा १४,७२,००० घन मिटर पानी रहेको अनुमान गरिएको रहेछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस कुण्ड ६ असोज, २०६४ मा रामसार सूचीमा सूचिकृत भएको रहेछ।