भ्रमण वर्ष २०२० मा पर्यटक बढाउने र बसाइँ लम्ब्याउने गरी गृहकार्य शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले सरोकारवालाको सहभागितामा विभिन्न कार्यक्रमसहित भ्रमण वर्षलाई प्रभावकारी बनाउन तयारी थालेको हो ।
समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सरोकारवालाको सहभागितामा ७१ सदस्यीय समिति गठन गरिएको छ । सोही समितिबाट तीन उपसमिति गठन गरिएको छ ।
चितवन उद्योग संघले नेतृत्व गर्ने गरी आर्थिक उपसमिति, उद्योग वाणिज्य संघ चितवनले नेतृत्व गर्ने गरी बुकलेट तथा भ्रमण वर्ष क्यालेन्डर प्रकाशन उपसमिति, जिल्ला पर्यटन विकास समितिले नेतृत्व गर्ने गरी प्रचारप्रसार उपसमिति गठन गरिएको डल्लाकोटीले जानकारी दिए । ती उपसमितिमा सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधि सहभागी रहेका छन् ।
जिल्लामा रहेका पुराना र नयाँ गन्तव्य समावेश गरी बुकलेट र क्यालेन्डर प्रकाशन गरिने र त्यही बुकलेटका आधारमा यहाँ आउने पर्यटक ती गन्तव्यसम्म पुग्न सक्ने डल्लाकोटीले बताए । उनले भने, ‘हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई सहज बनाउन विमानस्थल र बसपार्कमा सहायता कक्ष शुरु गर्न लागिएको छ ।’
राजधानीमा हुन लागेको गैरआवासीय नेपाली महासंघ (एनआरएन) को सम्मेलनमा यहाँका बुकलेट, क्यालेन्डर जस्ता सामग्री वितरण गरी सम्बन्धित देशसम्म पुर्याउने लक्ष्य राखिएको डल्लाकोटीको भनाइ छ । जिल्लामा परिवार रहेका विदेशमा बस्नेलाई समेत भ्रमण वर्षमा आफू र आफूले चिनेका त्यहाँका बासिन्दालाई भित्र्याउने गरी प्रचारप्रसार गर्न लागिएको उनले बताए ।
नेपालकै अन्य जिल्लामा पनि यहाँका पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्न लागिएको उनले बताए । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने पर्यटकको संख्या कम रहेको भन्दै उनले संख्या बढाउन र बसाइँ लम्ब्याउन भ्रमण वर्षका कार्यक्रम केन्द्रित हुने जानकारी दिए ।
निकुञ्जमा विद्युतीय सूचना केन्द्र
देशभरका चार राष्ट्रिय निकुञ्ज र एउटा संरक्षण केन्द्रमा विद्युतीय पर्यटकीय सुचना केन्द्र निर्माण गरिने भएको छ । निकुञ्ज र केन्द्रका बढी पर्यटक आवागमन हुने ठाउँमा सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार चितवन, शिवपुरी नागार्जुन, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।
यसैगरी कञ्चनजङ्गा संरक्षण केन्द्रमा पनि सूचना केन्द्र निर्माण गरिँदै छ । पर्सा र शुक्लाफाँटाका लागि रु ७५÷७५ लाख र अन्यका लागि एक÷एक करोड रकम विनियोजन गरिएको श्रेष्ठले जानकारी दिए । चितवनको सौराहा र अन्यको मुख्य कार्यालय रहेका क्षेत्रमा सूचना केन्द्र निर्माण गरिनेछ ।
शुरुमा भवन निर्माण गरी सोही भवनभित्र बढीमा आठ वटासम्म ‘मनिटर’ रहने व्यवस्था मिलाइँदै छ । श्रेष्ठका अनुसार ती मनिटरबाट निकुञ्ज र संरक्षण केन्द्रका ठाउँको अवस्थादेखि त्यहाँ रहेका हरेक वन्यजन्तुको बारेमा जानकारी लिन सकिने छ । पर्यटकले घुम्न जानु अघि केन्द्रमा बसेर त्यहाँको बारेमा विस्तृत अध्ययन गर्नसक्ने छन् । छोटो भ्रमणमा आउनेहरुले आफू जान नसकेका ठाउँहरुको बारेमा पनि जानकारी लिन सक्नेछन् ।
श्रेष्ठका अनुसार त्यहाँ रहने मनिटरमध्ये एउटा मनिटरमा आफै पुगेको आभास मिल्ने गरी वन, वन्यजन्तु, वनस्पती र स्थान हेर्न र सुन्न मिल्ने व्यवस्थासमेत मिलाउन लागिएको छ । केन्द्रमा स्कुल र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि उपयोग हुने गरी सामग्रीसमेत रहने छन् । डिजिटल बाहेकका निकुञ्ज र संरक्षण केन्द्रका सूचनाहरुका लागि प्रकाशित पुस्तक, ब्रोसर लगायतका सामग्रीसमेत केन्द्रमा रहने छन् ।