पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर(प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन् । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघको मंगलबार भएको पाँचौँ वार्षिक साधारणसभामा व्यवसायीहरुले यस्तै अवस्था रहे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघका केन्द्रीय अध्यक्ष लीला जिसीले साना व्यवसायीलाई करको चाङ थोपरिएको आरोप लगाए । व्यवसायीलाई सेवा र सुविधा नदिने तर तीन तहको तेब्बर कर तिर्नुपर्ने बाध्यात्मक अवस्थाले व्यवसाय नै धराशायी बनेको बताउँदै उनले पार्टी प्यालेसहरुमा कार्यरत १ लाख ५० हजार मजदुरको रोजगारीसमेत धरापमा परेको बताए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योग–व्यवसायलाई सरकारले सेवा सुविधा थपेर प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्ने काम हुन नहुने बताए ।
कार्यक्रममा संघका अध्यक्ष सचिन श्रेष्ठले भक्तपुरमा निर्माण भइरहेको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग रकम भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । साथै, उनले महासंघको अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।