इराकी शहर कार्बालामा मगलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको इराकी अधिकारीले जनाएका छन् । उक्त घटनामा भागदौडका क्रममा कम्तीमा १०० जना घाइते भएका पनि बताइएको छ ।
इराकी प्रहरीलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैयफ अल–बादरले दिएको जानकारी अनुसार सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बग्दादबाट करिब १ सय किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको मृत्यु भएको हो । कम्तीमा १ सय जना घाइते भएका प्रारम्भिक जानकारी आएको छ ।
घटनास्थलबाट केही धर्माबलम्वीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको जनाउँदै घटनामा मृत्यु हुनेको सङ्ख्या केही बढ्नसक्ने उनले बताए ।
कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक बर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् । कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृत्युको सम्झनामा गरिने प्रार्थनासभा हो ।