पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका-४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ ।
वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो ।
नगरपालिकाले दिएको १५ लाख रुपैयाँको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ ।
झण्डै ८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको मूर्तिसहितको पार्कका लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताए । एक वर्षभित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको छ, उनले भने ।
पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटक, भक्तजनहरु आउने उनले बताए । यस स्थानबाट पूर्वको पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम लगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ । रासस