लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा

सैलुङअनलाइन संवाददाता
चौतारा,सिन्धुपाल्चोक
PHOTO:

खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको साँगाचोकमा सञ्चालित लिफ्ट खानेपानी आयोजनाको काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ तीव्रगतिमा काम भइरहेको छ । जिल्लाकै ठुलो मानिएको उक्त लिफ्ट खानेपानी आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७५ असारमा ठेक्का सम्झौता भएको आयोजनाबाट आगामी पुसदेखि पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले जानकारी दिए ।

चौतारा साँगाचोकगढी न.पा. १०, ११ र १२ तीनवटै वडाका दुई हजार २२३ घरधुरीलाई स्वच्छ पिउने पानी वितरण गर्ने सगरमाथा कन्स्ट्रक्सन कम्पनीसँग १५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म १४ वटा रिजरभ्वाएर ट्याङ्की र ७६ किलोमीटर पोलिथीन पाइप मध्ये मुख्य लाइन र वितरण लाइनको ५० किमी पाइपको काम सम्पन्न भइसकेको छ । मुहानदेखि पाँचौँ स्थानको लिफ्ट गरिने टयाङ्कीसम्म पुग्ने गरी बिजुलीको पोल गाडेर तार तान्ने कामसमेत सम्पन्न भएको छ । आवश्यक पर्ने चार वटा मध्ये ५० को एक तथा १०० केभिएका दुइसहित तीन वटा ट्रान्सफरमरसमेत जडान भइसकेको छ । त्यसैगरी १२ किमी जिआइ पाइप मध्ये आठ किमीको काम भइसकेको छ । एक कार्यालय भवनसमेत सम्पन्न भएको छ । अन्य काम तीव्रगतिमा भइरहेको अध्यक्ष परजुली बताए ।

त्यसैगरी टेको दिने जिआइ पाइपको ३०० स्थानमा काम भइरहेको र एक किमी पहुँच मार्गको कामसमेत सम्पन्न भइसकेको छ । भूकम्पले साविकको मुहान सुकेपछि खानेपानीको चरम अभाव झेलिरहेका स्थानीयवासीले गाउँभन्दा तल पर्ने प्रतिसेकेण्ड १० लिटर पानीको स्रोत रहेको जाडेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरु गरिएको छ । मुहानको पानी ल्याउने योजना शुरु गरिएको हो । मुहानको पानीलाई एकै पटक माथि तान्न सम्भव नहुने भएपछि बीचबीचमा इन्टेक बनाई चार तहबाट पानी तानिने र त्यहाँदेखि एक किलोमीटरको उचाइमा रहेको हर्रे डाँडास्थित रिजरभ्वाएर ट्या्ङकीमा विद्युत् शक्तिबाट पानी सङ्कलन गरिने छ । त्यसरी सङ्कलित पानीलाई शुद्धीकरणका लागि प्रशोधन केन्द्रमार्फत ५० देखि एक लाख लिटर क्षमताका १४ वटा ट्याङ्कीद्वारा वितरण गरिने छ ।

उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा जडान गरिने र सुविधा प्राप्त गर्ने प्रत्येक घर परिवारले अनिवार्यरूपमा १० प्रतिशत जनश्रम व्यहोर्नुपर्ने प्रावधान राखिएको छ । उक्त आयोजनाको २०७५ भदौ तेस्रो सातामा सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले संयुक्तरूपमा शिलान्यास गरेको थियो ।

तपाईको प्रतिक्रिया