बालसाहित्यको भाषा मानकीकरणबारे विमर्श

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं
तस्बिर : नरेश श्रेष्ठ

नेपाल प्रज्ञा-प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा भदौ २५ गते बुधबार प्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचारगोष्ठी सम्पन्न भयो ।

‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक उक्त गोष्ठीमा बोल्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसअघि प्रज्ञा-प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान पुग्न नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गर्ने निर्णय गरेको सुनाउँदै बालसाहित्यको विकासका लागि ‘बालप्रज्ञा’को भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘अबका दिनमा बालसाहित्यलाई प्राथमिकतामा राखेरै योजनाहरू बनाइने छ ।’

प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले बालसाहित्य लेखनमा भाषा मानकीकरणको आवश्यकताको महसुस गरी आयोजना गरिएको गोष्ठी सार्थक भएको विचार व्यक्त गरे । उनले प्रज्ञा-प्रतिष्ठान स्थापना भएको ६२ वर्षपछि पहिलो पटक बालसाहित्यमा भाषा मानकीकरणका लागि बहस सुरु गरेकोमा प्रसन्नता व्यक्त गर्दै बालबालिका मुलुकका कर्णधार भएकाले बालसाहित्य लेखक संवेदनील हुनुपर्ने धारणा राखे ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी उपलब्धिमूलक भएको बताउँदै अबका दिनमा यसक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले अझै प्रभावकारी काम गर्ने बताए ।

कार्यक्रम संयोजक एवम् बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले आफ्नो विभागले बालसाहित्यका क्षेत्रमा नयाँ र ऐतिहासिक महत्वका योजना बनाएर कार्यान्वयन प्रारम्भ गरेको सुनाउँदै दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकवार्ताहरूको सङ्कलन गरी प्रकाशन गरिने योजना रहेको पनि जानकारी गरे ।

कार्यक्रममा प्रा.डा. ऋषिराम शर्माले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयमा विचारपत्र प्रस्तुत गरे भने कार्यक्रममा डा. रामप्रसाद ज्ञवालीले ‘बालप्रज्ञा’ र बालकथाका सम्पादक रामदेव पाण्डेले पुस्तकमाथि परिचर्चा गरेका थिए । बालकथामा १ सय १ बालकथाकारका कथा समाविष्ट गरिएका छन् ।

कार्यक्रममा अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया