जनजाति महासंघ प्रदेश नं. ३ को अधिवेशन तयारी तिब्र

सबै स्थानीय तहमा समन्वय परिषद गठन

सैलुङअनलाइन संम्वाददाता
सिन्धुलीमाडी

सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा नेपाल आदिवासी जनजाति महासंघको समन्वय परिषद् गठन भएको छ । आउँदो असोज ४ र ५ गते सिन्धुलीमाडीमा हुने प्रदेश नं. ३ को प्रथम अधिवेशनलाई लक्षित गरी परिषद् गठनको अभियान सञ्चालन गरिएको महासंघ सिन्धुलीले जनाएका छन् ।

महासंघले बुधबार, सिन्धुलीमाडीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघ गठनको औचित्यता प्रष्ट्याएका थिए । पत्रकार सम्मेलनमा सरकारले संघीयता र संविधानको मर्म विपरित समानुपातिक, समावेशी, सामाजिक न्याय र धर्मनिपेक्षाको मन्यता विपरित कार्य सञ्चालन गरेको भन्दै आदिवासी अधिकार अभिन्तहरुले आक्रोश व्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं. ३ का संयोजक काजीमान थिङले सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराभित्र खुशी नेपाली हुन आवश्यक रहेको बताए । ‘सबै समुदाय खुशी भए मात्रै सुखी नेपाली र सम्वृद्ध नेपाल सम्भव हुन्छ । त्यो उत्पीडित र उपेक्षित समुदायको हकअधिकार खोसेर होइन, अधिकार प्रत्यायोति गरेर सम्भव हुन्छ ।’ थिङले भने ।

अभियान अन्तर्गत १६ गते घ्याङलेख गाउँपालिका, १७ मरिण गाउँपालिका र १८ गते हरिहरपुरगढी गाउँपालिका अधिवेशन सम्पन्न भएको जानकारी दिए । अधिवेशनले क्रमशः अबिनाश वाईवा, शम्भु माझी र निरेश मोक्तानको अध्यक्षतामा समन्वय परिषद गठन गरिएको छ ।

त्यसैगरी भदौ १९ गते दुधौली नगर अधिवेशन, २० गते तिनपाटन, २२ गते गोलन्जोर र २३ गते फिक्कल गाउँपालिकाको अधिवेशन सम्पन्न गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । अधिवेशनले क्रमशः गान्धी मगर, चुलबहादुर पुलामी (सरोज), सिताराम थापा मगर र बिष्णु सुनुवारको अध्यक्षतामा समन्वय परिषद् गठन गरिएका छन् ।

महासंघले ‘समाजिक मुद्दासहित राजनीतिक जागरण, पहिचान सहितको सम्वृद्धिका लागि प्रदेश नं. ३ लाई नेवाः ताम्सालिङ नामकरण’ भन्ने मूल नारा तय गरेको छ ।

अधिवेशनमा १३ जिल्लाका, स्थानीय तह समन्वय परिषद् र ३५ भन्दा बढी सदस्य संगठनका दुई सय पचास भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने जनाइएको छ ।

अधिवेशनको उद्घाटन महासंघका संघीय अध्यक्ष जगत बरामले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने उद्घाटन समारोहलाई संघीय परिषद्का पदाधिकारीहरु, पूर्वपदाधिकरी, सरकारका प्रतिनिधि, सांसद तथा राजनीतिक पार्टीका शिर्ष नेताहरुले सम्वोधन गर्नेछन् ।

अधिवेशनको आगामि नेतृत्व चयन गर्नुका साथै नीति कार्यक्रमहरु पारित गरिने विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीका उपाध्यक्ष महेन्द्र सुनुवार, सचिव इन्द्र भुजेल, कोषाध्यक्ष तुलबहादुर गुरूङ, पुर्व अध्यक्ष चित्र लुङ्गेली मगर लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया