मंगोलियन हर्टसँगै नाचे कोरियावासी नेपाली (फोटो/भिडियोसहित)

अमिर योञ्जन
अमिर योञ्जन संवाददाता
0 Shares
दक्षिण कोरिया

कोरियन चाड छुसक पर्वको अवसरमा मंगोलियन हार्ट ब्याण्डले कोरियामा बस्ने नेपालीहरुलाई आफ्ना सांगीतिक प्रस्तुतीका साथ नचाएका थिए ।

बिहीबार सउलको हरिमगागस्थित ए डब्लु कन्भेन्शन हलमा दुर्गम भेगका शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ दोलखाली समाज, सिन्धुपालचोक समाज र रामेछाप सम्पर्क समितिले संयुक्त रुपमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सांगीतिक कार्यक्रम आयोजना गरी उनीहरुलाई नचाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले छुसकको अवसरमा कोरियामा कार्यरत सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै संगीतले दुःख र पीडालाई साथ दिने बताए ।

त्यसैगरी कार्यक्रममा एनआरएनए एसिया प्यासीफीकका संयोजक विनोद कुँवर, एनसीसी अध्यक्ष अन्जु केसी, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोम तामाङ, प्रदेश ३ एकता समाज दक्षिण कोरयाका अध्यक्ष किशोर ब्लोन ‘नियोग’लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मंगोलियन हार्टका गायक राजु लामाका साथमा रक गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल पहिलो सिजनका फस्ट रनरअप प्रताप दास र मोडल अन्जली अधिकारीले सांगीतिक प्रस्तुती पस्किएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।

गायक राजुले मंगोलियन हटको २५ औं सांगीतिक यात्राको उत्सव पनि मनाएको हो । व्याण्डको प्रस्तुतिसँगै यहाँको नेपाली दर्शक पनि नाचेका थिए ।

गायक राजु लामा नेपाली झण्डासहित ‘मेरो देश’ गीत गाउँदै स्टेजमा चढेपछि दर्शकहरु जोसिएका थिए । उनले ‘तिम्रो यादमा…’, ‘यो तिम्रो सहरमा…’, ‘ल्याइदेउन आपा…’, ‘यो जुनीमा…’, ‘तिमीलाई देखेर…’, ‘हे देउता…’, ‘पर्खाइमा…’, ‘नाचौँ गाउँ…’, ‘हल्ला चलेछ…’, ‘तिम्रो बाटोमा…’ गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।

ब्याण्डका रिदम गिटारिष्ट बाबी लामा, डम्रमा सन्तोष थापा, लिडगिटारिष्ट किरण नगरकोटी, बेस गिटारमा पवन कपालीलगायतले राजुलाई साथ दिएका थिए । कार्यक्रममा ब्याण्डको तर्फबाट सिन्धुपाल्चोकको दुर्गमका भेगका विद्यार्थीहरुका लागि एक लाख रुपैयाँ सहयोग घोषणा गरे ।

सांगीतिक कार्यक्रममा लोकदोहोरी गायक प्रकाश कटुवालले ‘ढाँडे विरालो…, ‘यो रक्सीको गन्ध…’ लगायत आधा दर्जन गीत गाए भने रक गायीका तथा अहिले नेपालमा चलिरहेको रियालिटी शो द भ्वाइस अफ नेपालका जर्ज आस्था राउतले ‘म त नेपाली…’, ‘बोतलको पानी….’ जस्ता गीत पस्किएर दर्शकदिर्घ तताएका थिए ।

आयोजक संस्थाहरुका अध्यक्ष सरोज केसी, सन्जीव भण्डारी र रविप्रताप घिसिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

https://www.facebook.com/sailungonline/videos/505400740274204/

तपाईको प्रतिक्रिया

पत्रपत्रिका