सङ्घले लुम्बिनीलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण, ४८७ आयोजना अलपत्र

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
बुटवल

बजेट बिनाका खानेपानी आयोजनाले लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको ‘सबैका घरमा खानेपानी’ पुर्‍याउने लक्ष्य पूरा हुन कठिन हुने देखिएको छ ।

सङ्घीय सरकारले चार वर्षअघि लुम्बिनी प्रदेशलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण गरेको थियो । खानेपानी आयोजना प्रदेशलाई हस्तान्तरण गरे पनि त्यस अनुरूप बजेट भने उपलब्ध भएन । ‘आयोजना हस्तान्तरण गर्ने र त्यस अनुरूप बजेट नदिँदा आयोजना पूरा गर्न समस्या देखिएको छ,’ पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका खानेपानी महाशाखा प्रमुख इन्जिनियर ध्रुव धितालले भने । अलपत्र आयोजनालाई गतिमा ल्याउन र सरसफाइमा प्रगति देखाउन काम भइरहेको बताए ।

सङ्घीय सरकारले हस्तान्तरण गरेका ६८९ आयोजना मध्ये ४८७ आयोजना अलपत्र छन् । हस्तान्तरण भएका आयोजना सम्पन्न गर्न मात्रै अब करिब ११ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर, सङ्घले यसवर्ष ८९ करोड ९७ लाख रुपैयाँ मात्र पठाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ सम्म सबैका घरमा खानेपानी पुर्‍याउने योजना बनाएको छ ।

निर्माण सुरु भएका खानेपानी आयोजनालाई समयमै पूरा गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् । सरकारले सुरु गरेका आयोजना समयमा नसक्दा सबैको पहुँचमा खानेपानी पुर्‍याउन नसकिएको सरोकारवालाको भनाइ छ ।

दिगो विकास लक्ष्यले सन् २०३० सम्म सबैको पहुँचमा सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । प्रदेश सरकारले एक घर एक धाराको सङ्कल्प सहितको कार्यक्रम पनि पारित गरेको छ । तर त्यस अनुसार काम हुन सकेको छैन ।

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले रकम अभावले धेरै योजना अलपत्र परेकाले त्यसलाई पूरा गर्न सङ्घले बजेट व्यवस्था गर्नुपर्ने बताए । ‘माग र आवश्यकता भन्दा नेताको पहुँचका आधारमा आयोजना बन्दा पनि समस्या भएको छ,’ उनले भने ।

उनले खानेपानीको उपलब्धता र स्वच्छता बारे तत्काल सही तथ्य सङ्कलनको काम अगाडि बढाउने र योजना कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्तसमेत गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका