अन्तर विद्यालय स्तरीय ‘नृत्य तथा राष्ट्रियता’ विषयक कविता वाचन प्रतियोगितामा होली एञ्जेल पब्लिक स्कुलका विद्यार्थी इच्छा गुरुङ र नृत्यमा टाइमलाइन स्कूलका विद्यार्थी प्रशुन बडाल प्रथम भएका छन् ।
बिहीबार काठमाडौं, नयाँबस्तीस्थित टाइमलाइन स्कुलको सभाहलमा नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र नं. ३ द्वारा आयोजित प्रतियोगितामा ८ विद्यालयका १६ जना विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि हास्य कवि शैलेन्द्र सिंखडाले नयाँ पिंढीले नयाँ सोचका साथ अगाडि बढेकोमा बधाई दिँदै मानव सृष्टिसँगै नृत्य सुरु भएको बताए । उनले थपे, ‘नृत्यको भाषा विश्वले बुझ्न सक्छ ।’
कविता र नृत्यले नयाँ नयाँ सृजनात्मक सिर्जना गरेको संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले बताए ।
भोला धरातलले कविता वाचन गर्दै यस्तो कार्यक्रमले नयाँ पिंढीलाई इट्टा थप्ने काम गरेको बताए ।
यसैगरी रामप्रसाद बराल, भोला रिजालले साहित्य क्षेत्रको भविष्य फराकिलो रहेको बताएका छन् ।
कवितातर्फ बालगीतान्जली स्कुलका प्रशान्त बुढाथोकी द्वितीय र गणेश हिमाल स्कुलका विद्यार्थी सदिक्षा खड्का तृतीय भएका छन् ।
यसैगरी नृत्यमा बाल गीतान्जलीकै विद्यार्थी गोकुल महत द्वितीय र गोकर्णेश्वर लाइटका कृष्ण दुलाल तृतीय भएका छन् ।
प्रतियोगिताको नृत्यतर्फ बाल बाटिका स्कुल, विश्व शिक्षा सदन, ग्रिनतारा स्कूल, होली एञ्जेल स्कुल, ब्राइट जोन एकेडेमी, गणेश हिमाल स्कुल, गोकर्णेश्वर लाइट एकेडेमी, बाल गीताञ्जली र टाइम लाइन स्कुलले भाग लिएका थिए ।
यसैगरी कविता वाचनतर्फ गोकर्णेश्वर लाइट एकेडेमी, टाइमलाइन, ग्रिनतारा चाइल्ड हेभन, बालबाटिका इंग्लीस स्कुल, गणेश हिमाल, बाल गीताञ्जली र होली एञ्जेल्स स्कुलले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा बाजुराम पौडेल, गणेश खतिवडा र लक्ष्मी रुम्बा रहेका थिए ।
‘नृत्य हाम्रो अभिमान, कला र संस्कृतिका पहिचान’ भन्ने मुल नाराका साथ स्थापना गरेको संघको नयाँ कार्यसमिति चयन भएपछिको यो पहिलो कार्यक्रम भएको अध्यक्ष बुद्ध लामाले बताए ।